प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिमको हरितीकरण

नविन किशोर गैह्रे

२१ औं शताव्दीको यो समयमा प्रविधिहरु नीकै छिटो परिवर्तन भइरहेका छन् । प्रविधिमा भएका यी परिवर्तनहरुले समाजिक गतिविधीहरुमा पनि प्रत्यक्ष प्रभाव पारिरहेका छन । उत्पादनका नयाँ साधन र शैलीहरुको आविस्कार भइरहेका छन । यी परिवर्तनहरुले स्वभाविक रुपमा मानिसले गर्ने पेशाहरुको प्रकृति र ती पेशा अन्तर्गत सम्पादन गरिने कामहरुका लागि आवश्यक पर्ने ज्ञान वा सीपहरु पनि परिवर्तन गरिरहेको छ । यी परिवर्तनहरुसंग अध्यावधिक रहुनु अहिले सबैभन्दा ठूलो चुनौती भएको छ ।

नयाँ प्रविधिको विकासले फाइदा मात्र गर्दछ भन्ने छैन । उदाहरणको लागि मोवाइल फोनको प्रयोगले दैनिक जीवन जति सहज भएको छ मानिसलाई त्यतिनै असामाजिक बनाउने मात्र होइन उस्को स्वास्थ्यमै प्रतिकुल असर पर्न सक्ने समेत अनुसन्धानमा देखिएको छ ।

नेपाल, जलवायु परिवर्तनले पार्ने प्रभावको नीकै ठूलो जोखिम भएको मुलुक हो । जलवायु परिवर्तनबाट सन १९९६ देखि २०१५ सम्म सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा नेपाल २४ औं स्थानमा रहेको ‘जर्मनवाच’ भन्ने संस्थाले गरेको एक अध्ययनले देखाएको छ । वायु प्रदुषण नेपालको शहरी क्षेत्रका धेरै समस्याहरु मध्ये प्रमुख एक हो । जनसंख्याको बृद्धिसंगै पिउने पानी र पेट्रोलियम पदार्थजस्ता उर्जाको अभाव बढ्दै जाने निश्चित छ । नेपाल अवस्थित दक्षिण एशिया तथा प्रशान्त क्षेत्र प्राकृतिक विपदको लागि विश्वमै सबैभन्दा बढी जोखिमयुक्त छ ।

यस्तो अवस्थामा परिवर्तनका यी नकारात्मक असरहरुलाई न्यूनीकरण गर्न सक्ने ज्ञान र सीप सहितका दक्ष जनशक्ति उत्पादन गर्नु नेपालकोे अहिलेको आवश्यकता हो । अर्थात नेपालमा हरित अर्थतन्त्र वा समाज निर्माणमा सहयोग पुर्याउन सक्ने प्राविधिक जनशक्ति उत्पादन गर्ने हरित प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीम प्रणालीको विकास गर्नु आजको प्रमुख कार्यभार हो ।

हरित अर्थतन्त्रः

संयुक्त राष्ट्र पर्यावरण कार्यक्रमले पर्यावरणमा हुने जोखिमहरु र पारिस्थितिक कमीहरु लाई न्यून गराउँदै मानिसको भलो र सामाजिक समानता कायम गर्ने अर्थतन्त्रलाई हरित अर्थतन्त्र मानेको छ ।

हरित अर्थतन्त्र, दीगो विकाससंगै जोडिएको अवधारणा हो । हरित अर्थतन्त्रमा सार्वजनिक वा निजी लगानी गर्दा कार्वन उत्सर्जन र प्रदुषण कम गर्ने, उर्जा र श्रोतहरुको प्रभावकारी प्रयोग गर्ने र जैविक विविधता एवं पर्यावरण प्रणालीका सेवाहरुमा हुने हानीलाई रोक्ने कुरालाई विशेष ध्यान दिइन्छ ।

पर्यावरण, अर्थतन्त्र र समाज एकापसमा जोडिएका हुन्छन । स्वच्छ र स्वस्थ पर्यावरणको अभावमा दीगो आर्थिक तथा सामाजिक विकास हुन सक्दैन र बलियो अर्थतन्त्र बिना पर्यावरणको उचित संरक्षण गर्न सकिंदैन भन्ने मान्यता रहेको
छ । हरित अर्थतन्त्रले स्वच्छ र सम्मान जनक कामको माध्यमबाट सामाजिक समानता र समावेशी बृद्धिको परिकल्पना
गर्दछ । र कृषि र औद्योगिक प्रकृयाहरुको कार्यक्षमता बृद्धिको लागि निरन्तर प्रयासहरु गरिएका हुन्छन ।

संक्षेपमा भन्दा हरित अर्थतन्त्रका, आर्थिक बृद्धि गर्ने, बेरोजगारीलाई कम गरेर गरीबि निवारण गर्ने, सामाजिक समानता र समावेशिता कायम गर्ने र पर्यावरण संरक्षण गर्ने चारवटा एकापसमा जोडिएका उद्देष्यहरु हुन्छन ।

प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको भूमिकाः

हरित अर्थतन्त्रको विकासको लागि प्रविधीको पूर्ण प्रयोग गर्न र पर्यावरणीय जोखिमलाई कम गर्न सक्ने खालका सीपहरु र त्यस्ता जनसक्ती उत्पादन गर्न सक्ने प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीम प्रणालीको आवश्यकता पर्दछ । नेपालको सन्दर्भमा पनि प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमका रणनीतिहरु हरित अर्थतन्त्रको विकास तर्फ लक्षित गरेर विकास गर्नु आवश्यक छ ।

यूनेस्कोले सन २००४ को अक्टुबरमा जर्मनीमा आयोजना गरेको ‘लर्निङ फर वर्क, सिटिजनसीप एण्ड रेस्पोन्सिविलिटी’ विषयक अन्तराष्ट्रिय विशेषज्ञहरुको बैठकले जारी गरेको बोन घोषणपत्रको एउटा बुँदामा पर्यावरण संरक्षण, साँस्कृतिक सम्पदा क्षेत्रको संरक्षण र नवीकरणीय उर्जा उत्पादन जस्ता प्राकृतिक सन्तुलन कायम गर्न सहयोगी हुने उद्योगहरुमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको बढ्दो संभावनाको पहिचान गरिएको उल्लेख भएपछि हरित प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको अवधारणाले व्यापकता पाएको छ ।

हरित प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीम, उर्जा र कच्चा पदार्थ कम खपत गर्ने, हरितगृह ग्यास कम उत्सर्जन गर्ने र वातावरणीय प्रदुषण कम गर्ने जस्ता वातावरण मैत्री सीपहरुको बारेमा केन्द्रित हुन्छ । केही श्रृंखलाबद्ध कृयाकलापहरुको माध्यमबाट प्रावधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको हरितीकरण गर्न सकिन्छ ।

हरित प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको विकासः

सबैभन्दा पहिले हरित पेशाहरुको पहिचान हुनु पर्दछ । पेशा र सो पेशाका लागि आवश्यक पर्ने गर्ने ज्ञान र सीपहरुको पहिचान भए पश्चात मात्र तालीमको पाठ्यक्रम निर्माण गर्न, तालीम सामाग्रीहरुको विकास गर्न र आवश्यक अन्य पूर्वाधारहरुको निर्माण गर्न सकिन्छ ।

प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको अन्तराष्ट्रिय केन्द्र ‘यूनेस्को – यूनेभोक’का प्रमुख प्रा.श्यामल मजुमदारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको हरितीकरणका पाँचवटा आयामहरुको व्याख्या गरेका छन ।
–हरित क्याम्पसः प्राविधिक शिक्षालय वा तालीम केन्द्रहरुका सम्पूर्ण श्रोतहरुको मितव्ययी प्रयोग गरिनु पर्दछ । प्रशिक्षक र प्रशिक्षार्थीहरु कार्वन कम उत्सर्जन र वातावरण प्रदुषण कम गर्ने अन्य कृयाकलापहरुमा पूर्ण जानकार र सचेत रहनु पर्दछ ।

–हरित प्रविधिः स्वच्छ र हरित पेशाहरुकोलागि आवश्यक पाठ्यक्रमको विकास, कार्यान्वयन र सोही अनुसारका प्रविधिको प्रयोग गरिनु पर्दछ ।
–हरित समुदायः दीगो विकासका कार्यक्रमहरुलाई समुदाय स्तरमा विस्तार गर्न हरित समुदायको निर्माण गर्न पहल गर्नु
पर्दछ । यसो गर्दा प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमका गतिविधिहरु पनि समुदायमा व्यापक रुपमा विस्तारित हुन सहयोग पुग्दछ ।
–हरित अनुसन्धानः प्राविधिक शिक्षालय वा तालीम केन्दहरुमा दीगो विकाससंग सम्बन्धित क्षेत्रहरुमा निरन्तर अनुसन्धानको संस्कृतीको विकास गर्नु पर्दछ ।
–हरित संस्कृतीः प्राविधिक शिक्षालय वा तालीम केन्द्रहरु नैतिक मूल्य र मान्यताहरुमा सधैं प्रतिबद्ध हुनु पर्दछ । पर्यावरणीय श्रोतहरुको सदुपयोग र भावी पुस्ताको आवश्यकतालाई मध्यनजर गर्दै सोही अनुसारका गतिविधीहरु संचालन गरिनु पर्दछ ।
नेपालमा पनि प्राविधिक शिक्षालय तथा व्यावसायिक तालीम केन्द्रहरुलाई हरित अर्थतन्त्र र समाजको विकासमा सहयोग गर्न सक्ने गरी विकास गर्न आवश्यक छ । अब तर्जूमा गरिने नीति र रणनीतिहरुमा यो कुरालाई समावेश गर्दै सोही अनुसारका गतिविधीहरु सञ्चालन गरिएमा नेपालले दीगो विकासका लक्ष्यहरु हासिल गर्न नीकै सजिलो हुनेछ ।

प्रतिक्रिया

प्रतिक्रिया