२०४६ को राजनैतिक परिवर्तन पछि नेपालमा सूचना तथा सञ्चार प्रविधीको क्षेत्रमा उल्लेख्य विकास भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले २०७४ आषाढमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालमा १,५४,४९,९९६ (कुल जनसंख्याको ५८.३१५) जनाले कुनै प्रकारको इन्टरनेट सेवा प्रयोग गर्दछन । यकिन तथ्यांक नभेटिएपनि अनुमानित ८० लाख भन्दा बढीले सामाजिक सञ्जाल ‘फेसबुक’ प्रयोग गर्दछन । जसमध्ये ७२ लाख जति १६ देखि ४० बर्ष (यूवा) समूहका व्यक्तिहरु छन । फेसबुक अहिले आम नागरिकको लागि अभिव्यक्तीको सजिलो माध्यम बनेको छ । कुनै सूचना प्राप्त गर्नको लागि पनि यो छिटो र भरपर्दो छ ।
प्रयोगकर्ताको आवश्यकता र इच्छा अनुसार फेसबुकको प्रयोग हुने गर्दछ । सामाजिक सञ्जाल भएकोले यस्लाई धेरै व्यक्तिहरुले सामाजिक उद्देश्यकासाथ प्रयोग गर्दछन । आफ्ना साथीहरुसंग सम्पर्कमा रहने, उस्तै रुची भएकाहरुको समूह बनाएर सामाजिक गतिविधी गर्ने, आफ्नो व्यक्तिगत पहिचान बनाउने, व्यक्तिगत तथा व्यावसायिक सम्बन्धको विकास गर्ने जस्ता कार्यहरुको लागि यस्को प्रयोग बढी हुन्छ । यी बाहेक सूचना आदानरप्रदान गर्ने र मनोरञ्जनात्मक कार्यहरु, जस्तै वरिपरि घटेका घटनाहरुमा अध्यावधिक रहने, विचारहरु अभिव्यक्त गर्ने, विभिन्न खेलहरु खेल्ने र प्रत्यक्ष भिडियो, टीभी वा अन्य माध्यमहरु हेर्नका लागि पनि यस्को प्रयोग गरिन्छ ।
आधारभूत रुपमा सामाजिक गतिविधीहरुमा बढी प्रयोग भएतापनि शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन समेत फेसबुकको प्रयोग गर्न सकिन्छ । यद्दपी शिक्षाविदहरु भने फेसबुकलाई शिक्षा क्षेत्रमा प्रयोग गर्न सकिने बारेमा पक्ष र विपक्षमा विभाजित छन ।
सन २००४ मा अमेरिकाको हार्वार्ड विश्वविद्यालयका विद्यार्थीहरुका लागि शुरु गरिएको फेसबुक २००६ मा सबैलाई खुल्ला गरिएको थियो । अहिले यो सर्वव्यापी भएको छ । केवल पोष्ट, लाइक र कमेन्टमा मात्र सिमित नभै अन्य धेरै फिचरहरु समेत भएकाले यस्को लोकप्रियता बढ्दो छ ।
इन्टरनेटको प्रयोग गर्न सकिने स्मार्ट फोन जस्ता उपकरणहरुको सस्तो मूल्यमा सहज उपलब्धताले नेपालका विद्यार्थीहरुमा पनि फेसबुक नीकै लोकप्रिय छ । सिकाईको क्षणमा कक्षा कोठामै यस्को प्रयोग बढ्दो छ । विद्यार्थीको ध्यानलाई फेसबुकका अन्य गतिविधीहरुबाट हटाएर सिकाईमा लगाउनु ठूलो चुनौती भएको छ । कतिपय शिक्षण संस्थाहरुले त आफ्नो हातामा फेसबुकलाई प्रतिबन्धित पनि गरेका छन । तर विद्यार्थीहरुले कुनै न कुनै विधीबाट यस्को प्रयोग गरिरहेकै हुन्छन । यस्तो अवस्थामा शिक्षाकर्मीहरुले विद्यार्थीलाई फेसबुकको प्रयोग गर्न रोक्ने भन्दा यसैका माध्यमबाट प्रभावकारी सिकाईका तरिकाहरु पत्ता लगाउनु जरुरी जस्तै भइसकेको छ ।
फेसबुकका केही त्यस्ता विशेषताहरु छन जस्ले सिकाइका गतिविधीहरुमा विद्यार्थीहरुलाई सहयोग गर्दछन । एकैछिन तिन्का बारेमा चर्चा गरौं ।
– अन्तरकृयात्मकः फेसबुक अन्तकृयात्मक छ । यस्मा विद्यार्थीहरुले आफ्ना लेख र कार्यहरु पोष्ट गर्न र अरुले गरेका पोष्टहरुमा स्वतन्त्र रुपले टिप्पणीहरु राख्न सक्छन । यसो गर्दा विद्यार्थीहरुमा अन्तरव्यक्ती संचारको सीप अभिबृद्धि हुन्छ । साथै यी कार्यहरु लिखित रुपमा गरिने भएकाले कुनै न कुनै रुपले विद्यार्थीहरुमा भाषाको पनि विकास भैरहेको हुन्छ ।
– सहयोगीः फेसबुकमा साथीहरु बनाउन र विभिन्न समूह वा पृष्ठहरु सिर्जना गर्न सकिन्छ । यस्ले समूहमा काम गर्ने बानीको विकास गराउँछ । यदि कारणवस विद्यालयमा उपस्थित हुन नसकेमा कुनै विद्यार्थी, कक्षाको समूह वा पृष्ठ मार्फत कक्षाकोठासंग जोडिन सक्दछ ।
– विद्यार्थी केन्द्रितः फेसबुकका माध्यमबाट विद्यार्थीहरुले आफ्ना कार्य र जिज्ञाशाहरु राख्ने र त्यसका समाधानहरुका बारेमा छलफल गर्न सक्दछन । फेसबुकले विभिन्न लिंकहरु मार्फत विद्यार्थीहरुलाई ज्ञानको श्रोतहरुसम्म सहज रुपमा पुर्याउँछ । यस्ले अन्तर्मुखी र लजालु स्वभावका विद्यार्थीहरुलाई सिकाईमा सकृय हुन मद्दत गर्दछ ।
– विश्वशनीयताः फेसबुकका आधिकारिक समूह वा पेजहरुबाट पोष्ट गरिएका सामाग्रीहरु विश्वशनीय हुन्छन । साथै आफ्नै साथीहरु र गुरुहरुले गरेका टिप्पणी, पोष्ट वा शेयरहरुलाई पनि विश्वाश गर्न सकिन्छ ।
– तथ्यांक र सूचनाको भण्डारः करोडौं व्यक्तिहरुले फेसबुकमा आ–आफ्नो रुचीका केही न केही पोष्ट वा टिप्पणीहरु गरिरहेका हुन्छन । फेसबुकमा पोष्ट हुने यी कुराहरु कुनै क्षेत्रको अध्ययन र अनुसन्धानका लागि नीकै उपयोगी हुन सक्छन । फेसबुक लगायतका सामाजिक
सञ्जालका तथ्यांक वा सूचना कसरी लिने भनेर नेपालमै पढाई समेत शुरु भैसकेको छ ।
फेसबुकका यी विशेषताहरुका कारण शैक्षिक गतिविधीहरुलाई उपलब्धी मूलक बनाउन सकिन्छ । शिक्षण संस्थाहरुले फेसबुकको प्रयोग गरेर आफ्ना सिकाईका दैनिक कृयाकलापहरुलाई प्रभावकारी बनाउन केही कार्यहरु गर्न आवश्यक छ ।
– नीति बनाउनेः शिक्षण संस्थाहरुमा फेसबुकको प्रयोग हुन्छ । तर त्यस्तो प्रयोगलाई नियमन गर्न नीति बनाइएको हुँदैन । कुनै शिक्षण संस्थाको उद्देष्य पूरा गर्न फेसबुकले कसरी सहयोग गर्न सक्दछ ? अनुसन्धान गरेर आवश्यक स्पष्ट नीति बनाउने र त्यसलाई अद्यावधिक गर्दै लग्नु पर्दछ । फेसबुकलाई अधिकतम रुपमा शैक्षिक गतिविधीलाई सहयोग पुग्ने गरी प्रयोग गर्नु पर्दछ । यस्का लागि आवश्यक भए केही नियम बनाउन सकिन्छ । यी नियम सत प्रतिसत पालना गर्ने गरी विद्यार्थीहरुलाई उत्प्रेरित गर्न सकिन्छ । – सूरक्षाको व्यवस्थाः फेसबुकका आफ्ना केही सर्त र मापदण्डहरु छन जस्तै १३ वर्ष माथीका व्यक्तिले मात्र यस्मा अकाउन्ट बनाउने, वास्तविक नाम प्रयोग गर्ने, बौद्धिक सम्पतीको सूरक्षा गर्ने, एकापसमा सम्मानजनक व्यवहार गर्ने आदि । यदी विद्यार्थीहरुले यी नियमको पालना गरे भने सिकाइका गतिविधीहरु स्वच्छ हुन्छन । त्यसकारण फेसबुक प्रयोगकर्ताहरु यो कुरामा जानकार हुनु पर्दछ । फेसबुक लगायतका सामाजिक सञ्जालहरुको प्रयोग गर्दा सबैभन्दा प्रमुख चुनौती सूरक्षा तथा गोपनियताको हुन्छ । तसर्थ विद्यार्थीहरुमा फेसबुकले प्रदान गर्ने सूरक्षा र गोपनियताका सुविधाहरुको बारेमा राम्रो ज्ञान हुनु पर्दछ ।
– सभ्य प्रयोगः फेसबुकमा गरिने पोष्ट, टिप्पणी र अन्य गतिविधीहरु सभ्य र नम्र हुन जरुरी छ । विद्यार्थीहरुलाई स्वस्थ र सुरक्षित अन्लाइन समुदाय निर्माणको शिक्षा दिएर फेसबुकको संसारमा असल नागरिकको रुपमा विकास गराउन सकिन्छ ।
– नैतिक तथा कानूनी ज्ञानः शिक्षक र विद्यार्थी दुबैलाई साइवर अपराधको बारेमा ज्ञान भएन भने नकारात्मक प्रभावहरु पर्न सक्दछन । फेसबुकमा पोष्ट गर्दा यस्ले पुर्याउन सक्ने सम्भावित असरहरुको बारेमा पूर्ण सचेत हुन पर्दछ । के कस्ता गतिविधीहरु गर्दा साइवर कानून आकर्षित हुन्छन र आफू साइवर अपराध वा दुव्र्यवहारले पिडित भएमा कसरी कानूनी उपचार गर्न सकिन्छ भन्ने विषयलाई विद्यालय शिक्षाको पाठ्यक्रममै समावेस गर्न सकिन्छ ।
– व्यक्तित्व विकासको माध्यमको रुपमा फेसबुकको अत्यधिक प्रयोगः फेसबुकले विद्यार्थीलाई जुनसुकै बेला सिकाइबाट विकर्षित गर्ने र अन्य गतिविधीमा आकर्षित गर्न सक्ने जोखिम रहिरन्छ । तसर्थ विद्यार्थीहरुलाई यस्को अधिकतम प्रयोग व्यक्तित्व विकासका लागि गर्ने गरि अभिमूखीकरण गरिरहनु पर्दछ । प्रयोगकर्ताहरुमा शैक्षिक पेज र समूहहरुमा बढी सकृय रहने मनोवृत्तिको विकास आवश्यक हुन्छ । साथै गृहकार्य, नोटहरु र अन्य शैक्षिक सामाग्रीहरुको वितरण फेसबुककै मञ्चबाट गर्न सकिन्छ ।
प्रविधिमा हुने विकासलाई स्वीकार गरेर यस्का सकारात्मक पक्षहरुलाई दैनिक जीवनमा प्रयोग गर्दै लग्नुको विकल्प अरु छैन । विद्यालय र क्याम्पसका विद्यार्थीहरुमाझ नीकै लोकप्रिय सामाजिक सञ्जाल फेसबुकको हकमा पनि त्यही लागू हुन्छ । यस्लाई शिक्षा प्रणालीको अभिन्न अंगको रुपमा ग्रहण गरेर सोही अनुसारका पाठ्यक्रमको विकास र सिकाई गतिविधीहरु अवलम्बन गर्दा शिक्षालाई प्रभावकारी बनाउन सकिन्छ ।(गैह्रे कम्युनिकेशन ईञ्जिनीयर हुन ।)