वर्षायाम र धनजनको क्षति :
यस वर्ष श्रावण महिनाको दोश्रो हप्ता देखि मनसुन परिवर्तन भई देशभरी नै वर्षाको शुरुवात भईसकेको छ । भारी वर्षाका कारण मूख्यतः तराई क्षेत्रमा डुवानका कारण र पहाडिक्षेत्रमा बाढी पहिरोका कारण नेपाली नागरिकहरुले प्रायशः सधैजसो ठूलो धनजनको क्षति व्यहोर्नु परिरहेको तितो ईतिहास छ । बाढी, पहिरो र डुवानका कारण कतिपय सडक बाटो समेत अवरुद्ध हुने र कतिपय पुल तथा सडकबाटो नै भत्किने गरेका छन् । बाढी पहिरोकै कारण बाढी र डुवानमा परी कतिपय नागरिकहरुले ज्यान गुमाएका छन्, कतिपय विस्थापित भएका छन्, कतिपय घरबार विहिन भएका छन्, यो क्रम जारी छ ।
अविरल वर्षाका कारण मूख्यतया मध्येपश्चिम क्षेत्रका बाँके, बर्दिया, सुर्खेत, जाजरकोट, सल्यान, दाङ्ग जिल्ला बढी नै प्रभाव हुने गरेको छ । बाँके जिल्लाको फत्तेपुर, होलिया, गंगापुर र मटेहियाका दर्जन भन्दा बढी गाउँहरु र राप्ती नदिको छेउछाउका गाउवस्तीहरु समेत सदैव बाढी र डुवानको चपेटामा पर्ने गरेका छन् । नेपालगन्ज नगरक्षेत्र समेत जलमग्न हुने गरेको छ । नगरक्षेत्रमा प्रयाप्त मात्रामा नाली निकासको व्यवस्था नभएको र नाली तथा सडक निर्माण कार्य सम्पन्न नभएका कारण वर्षाले निरन्तरता पायो भने नगरक्षेत्रका अधिकांश टोल तथा घरहरु यस वर्ष पनि डुवानमा पर्नसक्ने निश्चितप्राय नै छ ।
बाढी र डुबानका कारण ढल तथा सेफ्टी टंकीको दुर्गन्धित पानी पनि वर्षातको पानीमा मिसिन गई समग्र वातावरण नै दुर्गन्धित हुने गरेको छ । स्वच्छ खाद्यान्नको अभाव, दूर्घन्धित पानीको मिसावट, प्रदूषित वातावरण समेतका कारण वर्षायाममा झाडा पखाला लगायतका विभिन्न सरुवा रोग समेत फैलिने गरेको छ । अविरल वर्षाका कारण वर्षायाममा बाढी पहिरो जान सक्ने, धनजनको क्षति हुन सक्छ भन्ने कुरा सरोकारवाला सबैलाई पूर्व जानकारी भएकै विषय हो । धनजनको कम क्षेति पुगोस भन्ने हेतुले नागरिक स्वयंले सजगता अपनाउनु पर्ने र सरोकारवाला निकायले समेत क्षति न्यूनिकरणका लागि यथासमयमा नै उचित व्यवस्थापन गनुपर्नेमा सदैब दूर्घटना भईसकेपछि उद्दार तथा राहतमा मात्रै बढी जोड दिने गरिएको छ । रोकथाम तर्फ संवेदनशीलता र सचेचता नअपनाएका कारण सदैब नेपाल र नेपालीले वर्षायाममा ठूलो दूःख कष्ट व्यहोर्नु परीरहेको छ र वर्षातको समयमा अधिकांश नागरिकहरु त्रास र भयका साथ बाँच्न बाध्य हुने गरेका छन् ।
सम्वन्धीत निकायको उदासिनता :
वर्षायाममा प्राकृतिक रुपमा पानी पर्छ, डुवान र कटान समेत हुनसक्छ भन्ने कुरा नागरिक, स्थानीय निकाय र सरकार समेत सवैलाई थाह जानकारी छ । आगामि दिनहरुमा दैवी प्रकोप बाट हुनसक्ने धनजनको क्षतिलाई कसरी रोक्ने ? कसरी न्यूनीकरण गर्ने ? भन्ने विषयमा सम्वन्धित निकाय कहिल्यै पनि सम्वेदनशील देखिएन । रोग लाग्न नदिनुभन्दा रोग लागेपछि उपचारमा वढी ध्यान दिने, अपराध हुनै नदिनु भन्दा अपराध भईसकेपछि अनुसन्धान गर्ने, प्राकृतिक विपत हुन नदिने प्रयास गर्नु भन्दा प्राकृतिक प्रकोप भईसकेपछि उद्धारमा छलफल गर्ने, क्षतिको विवरण संकलन गर्ने, क्षतिपूर्तिको लागि सिफारिश गर्ने नेपाली प्रवृति नै भइसकेको छ ।
देशका सम्पूर्ण नागरिकहरुको ज्यूधनको सुरक्षा गर्ने कानूनी र नैतिक दायित्व राज्यको नै हो । लोकतान्त्रिक शासन व्यवस्थामा राज्यले आफ्नो दायित्वबाट विमूख हुन कदापी मिल्दैन । वडा समिति, गाउपालिका, नगरपालिका, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, दैवी प्रकोप तथा उद्दार समिति लगायतका स्थानीय निकाय तथा कार्यालयहरुले आफ्नो जिल्ला तथा क्षेत्रमा के कस्ता समस्याहरु छन ? सो को तत्काल र दीर्घकालिन समाधान के हुन सक्छ ? भन्ने विषयमा सम्वेदनशीलता अपनाउने गरेको पाईदैन । स्थानीय तह बाट स्थानीय विकासका क्षेत्रमा विविध कार्यक्रम संचालन गर्ने गरिन्छ तर दैवी प्रकोप बाट पर्न सक्ने खतरालाई रोकथाम तथा न्यूनिकरणका खातिर खासै चासो दिएको देखिदैन । जस्का कारण वर्षातको समयमा नागरिकहरुले वर्षेनी धनजनको अपूरणीय क्षति व्यहोर्नु परी रहेको छ ।
सरोकारवालाको भूमिका :
सर्वप्रथमतः यस पूर्व वर्षातको समयमा धनजनको क्षेति हुनुको कारणको पहिचान गरी सो को समाधानका लागि स्थानीय तह तथा स्थानीय प्रशासनले योजनावद्ध ढंगबाट कार्यक्रम संचालन गर्नु पर्दछ । वर्षातको समयमा बढी क्षति हुनसक्ने क्षेत्रको पहिचान गरी सो क्षेत्रलाई प्राकृतिक प्रकोप जोखिम क्षेत्र घोषणा गरी विशेष कार्यक्रम लागू गरिनु पर्दछ । वर्षातको समयमा बढी जोखिम र असुरक्षित क्षेत्रका नागरिकलाई तत्कालै सुरक्षित स्थानमा सारिनु पर्दछ । पीडितको उद्दार र राहतको लागि कुनै पनि कसर बाँकी राख्नु हुदैन । सामाजिक तथा मानवीय सेवाको क्षेत्रमा लागेका संघसंस्था तथा नागरिकहरुको समेत सहयोग लिई आवश्यक समन्वय समेत गरी स्थानीय प्रशासन र स्थानीय निकायले समेत उद्दार र पूर्नस्थापना कार्यलाई यथासक्य छिटो सम्पन्न गर्नु पर्ने देखिन्छ । पीडित पक्षलाई तत्काल राहतको महसुस हुनेगरी राहत वितरण तथा पूर्नस्थापनाको काम गर्नुपर्दछ ।
बाढी र डुवानका कारण खाद्यान्नको अभाव र कृतिम अभाव समेत सृजना हुने सम्भावना हुन्छ । त्यस प्रकारको अभाव र अवस्थालाई कसरी व्यवस्थित र नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा समेत सम्वद्ध पक्ष सचेत र सजग हुनै पर्दछ । बाढी र डुवानका कारण खानेपानी पनि दूषित बन्न सक्छ, कुवा तथा हेण्डपाईपको पानी पनि दूषित र दूर्गन्धित बन्न जान्छ । बाढीका कारण बाह्य वातावरण समेत दूषित र दुर्गन्धित बन्न जान्छ । यस्तो अवस्थामा आवश्यक सावधानी नअपनाउने हो भने महामारी फैलिन गई थप मानवीय क्षति हुने सम्भावना समेत रहन्छ ।
यसका लागि पहिले देखिनै सचेत रहन आवश्यक छ । डुवानको समयमा के के सुरक्षाका उपायहरु अवलम्वन्न गर्नु पर्दछ भन्ने विषयमा नागरिकलाई सामान्य जानकारी हुँदा हुदै पनि लापरवाही एवं बाध्यताका कारण आफ्नै जीवनमाथि नै खेलबाड गरिरहेका हुन्छन् । त्यसैले जनस्वास्थ्य कार्यालय, स्वास्थ्य सेवामा संलग्न सम्वन्धित निकाय, रेडक्रस सोसाईटी, सामाजिक तथा मानवीय सेवामा कार्यरत संघसंस्थाहरु र स्थानीय प्रशासन तथा निकायले बाढी, पहिरो तथा डुवानका कारण मानव जीवनमा पर्न सक्ने असर र सो बाट बच्ने उपायका विषयमा प्रत्येक गाउँ, टोल र घर–घरमा गई जनचेतना फैलाउने कार्य गर्नु आवश्यक र जनउपयोगी हुन्छ ।
स्वच्छ खानेपानी, प्रयाप्त मात्रामा औषधी र खाद्यान्न समेतको यथोचित व्यवस्था गरिनु पर्दछ । आपत विपतको तत्कालै जानकारी गराउन सकिने र चौविसै घण्टा प्रयोगमा आउन सक्ने हटलाईनको समेत व्यवस्था गरिनु पर्दछ ।
स्थानीय सरकार र स्थानीय निकायले सम्वद्ध सवैको सहयोग लिई नागरिकहरुको जनहितका लागि माथि उल्लेखित कार्यहरु गर्न गराउन सम्भव छ । जनउपयोगी कार्यमा सहयोग पुर्याउन सवै पक्ष र निकाय सकारात्मक हुन समेत आवश्यक छ । घटना घटी सकेपछि पछुताउनु भन्दा घटना घट्न बाट रोक्नु नै बढी श्रेयष्कर र बुद्धिमानी हुने भएकोले सो तर्फ आजै देखि अग्रसर हुन आवश्यक छ ।