अपराध, अनुसन्धान प्रकृया र चुनौती

लोक बहादुर शाह

अपराधको अवस्था :
मानिस सामाजिक प्राणी भएका कारण मानिसहरु समाजमा नै वस्न रुचाउछन् । प्राकृतिक दृष्टिकोण बाट र सामाजिक वातावरणका कारण मानिसहरुको स्वभाव एकनासको हुन सक्दैन । अशिक्षा, अभाव, बेरोजगारी, कुलत, कुसंस्कार, रुढीवादी संस्कार र चिन्तन, अहमता, बाध्यता, रहर, प्रतिशोध, महत्वाकांक्षा, रीसराग, द्वेष आदिका कारण समाजमा कर्तव्य ज्यान, जर्वजस्ती करणी, महिला हिंसा, घरेलु हिंसा, ठगी, चन्दा अपहरण, चोरी, लागूऔषध, हातहतियार, मानव बेचविखन, चोरी, साइबर कराइम जस्ता जघन्य अपराधहरु दिन प्रतिदिन भइरहेका छन् । अपराधिक घटनाका कार्य घट्नुको सट्टामा दिन प्रतिदिन नयाँ नयाँ ढंगबाट बढ्ने क्रम जारी छ । प्रहरी र अदालतमा दर्ता भएका उजुरी तथा मुद्दाको संख्याले पनि अपराध बढिरहेको पुष्टि हुन्छ ।
समाजमा विद्यमान विकृति, विसंगति, अपराधिक प्रवृत्ति आदिको नियन्त्रण नभए सम्म सभ्य समाजको निर्माण हुन सक्दैन र देशमा शान्ति सुरक्षा समेत कायम हुन सक्दैन । शान्ति सुव्यवस्थाको अभावमा व्यक्तिले व्यक्तिगत स्वतन्त्रता, लोकतन्त्र र कानूनको शासनको प्रत्याभूति पाउन सक्दैन । अनुसन्धानको माध्ययम बाट वास्तविक अपराधीले सजाय पावस्, पीडितले न्यायको अनुभूति गर्न पाउन्, समाजमा पूनःअपराधको पुनरावृति नहोस् भन्ने कुरा अपराधशास्त्रको मान्यता हो भने जनचाहना पनि त्यही हो ।
यद्यपि सामाजिक असहयोग, राजनीतिक हस्तक्षेप र असहयोग, साधनश्रोतको कमि, ईच्छाशक्ति र दक्षताको अभाव, फितलो र प्रमाणमूखि भन्दा साविति बयानमूखि अनुसन्धान आदिका कारण अपराधिक घटनामा संलग्न सवै व्यक्तिले सजाय नपाएकै कारण अपराधमा पुनरावृत्ति भइरहेको छ । अपराध किन भैरहेको छ ? र यसको रोकथामका उपाय के हुन सक्छन् ? भन्ने विषयमा अपराध अनुसन्धान नभई घटना घटी सकेपछि मात्रै अनुसन्धान हुने भएका कारण पनि नागरिकले ठूलो क्षेति व्यहोर्नुपरिरहेको छ । यि र यस्तै कारणहरुले गर्दा पनि अपराधको पुनरावृति भई दण्डहिनताले प्रश्चय पाउने अवस्थाको सृजना हुने गरेको छ ।
अनुसन्धान प्रकृया
कर्तव्य ज्यान, ठगी, चोरी, मानव वेचविखन, लागू औषध, जर्वजस्तीकरणी लगायतका सरकारवादी फौजदारी मुद्दामा अपराध अनुसन्धान गर्ने जिम्मेवारी नेपाल प्रहरीको हुन्छ । अपराध भएको भन्ने लिखित वा मौखिक सूचना आइसकेपछि प्रहरीले सो विषयमा आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाउछ । सो घटनामा संलग्न हुनसक्ने शंकास्पद व्यक्तिहरुलाई कानून बमोजिम पक्राउ गरिन्छ । पक्राउमा परेका अभियुक्तलाई सरकारी वकीलको रोहबरमा अनुसन्धान अधिकृतले बयान गराउछ । अनुसन्धानबाट आरोपित व्यक्तिहरु कसूरदार देखिएपछि निजहरु उपर अपराधको अवस्था र प्रकृतिहेरी सरकारी वकील कार्यालयले सम्वन्धित अदालतमा सजायको मागदावी लिई अभियोगपत्र दर्ता गर्दछ ।
तत्पश्चात अदालतले दुवै पक्षसंग आ–आफ्नो दावी तथा जिकिरको विषयमा साक्षी प्रमाण पेश गर्न आदेश गर्छ । साक्षी प्रमाणको प्रकृया पूरा भएपछि मिसिलमा रहेका सबूद, प्रमाण र कागजातहरुको न्यायिक मूल्यांकन एवं विश्लेषण गरी अभियूक्तलाई सजाय दिने वा सफाई दिने गरी अदालतले फैसला गर्दछ । फैसलामा चित्त नबुझ्ने पक्षले सो फैसला उपर माथिल्लो अदालतमा समेत पुनरावेदन गर्न पाउछ । चित्त नबुझ्ने पक्षले पुनरावेदन नगरेमा वा पुनरावेदन उपरको फैसला अन्तिम भएपछि मुद्दाको प्रकृया अन्तिम भएको मानिन्छ ।
अनुसन्धानका चुनौती
सरकारवादी फौजदारी मुद्दाको आधारशीला भनेकै अपराध अनुसन्धानको क्रममा तयार गरिएका लिखत र दशी प्रमाण नै हुन् । पीडितलाई न्याय र पिडकलाई सजाय गरी दण्डहिनताको अन्त्य गर्न र देशमा कानूनको शासन कायम गर्नका लागि अपराध अनुसन्धान प्रकृयाले नै मूख्य भूमिका निर्वाह गरेको हुन्छ । अनुसन्धानको सानो गल्तीले समग्र सामाजिक न्यायमा नै प्रतिकूल असर पर्न सक्छ । अपराध अनुसन्धानको क्रममा तयार र संकलन गरिएका लिखत, कागजात, प्रमाण र अभियोगदावीमा आधारित रहेर नै अदालतले न्यायसम्पादन गर्ने भएकोले अपराध अनुसन्धान प्रकृया निष्पक्ष, शंकारहित, स्वतन्त्र र प्रमाणमूखी हुन आवश्यक हुन्छ ।
प्रहरी अनुसन्धान हिजो भन्दा आज परिस्कृत हुदै गईरहेके भएतापनि नेपालको अपराध अनुसन्धान पद्दति अझै पनि तथ्यगत, वस्तुपरक र वैज्ञानिक हुन सकिरहेको देखिदैन । किटानी जाहेरी र साविति बयानको कागजी आधारमा अधिकतम सजायको मागदावी लिई अभियोग लगाइने प्रचलन अझैपनि कायम देखिन्छ ।
अपराधका घटनाहरुको अनुसन्धान निष्पक्ष, वस्तुगत र पूर्वाग्रहीरहित हुनु पर्दछ । कुनै घटना बाट पीडित मानिसले न्यायको अनुभूति गर्न नपाएमा र पिडकले सजाय नपाएका खण्डमा न्याय मर्दछ र समाजले शान्ति सुरक्षा तथा लोकतन्त्रको अनुभूति गर्न सक्दैन । कसैको कुनै कारणले चित्त नबुझेका कारण वा परिवन्दमा परेर पनि जाहेरीहरु पर्ने गरेको प्रशस्तै उदाहरण भेटिन्छन् । प्रहरी अनुसन्धानले जाहेरी र पीडितको बारेमा अनुसन्धान नै नगरी झुट्ठा जाहेरीलाई नै पुष्टि हुने गरी प्रमाणको सृजना गर्ने काम गर्दछ । जसका कारण निर्दोष नागरिकले अनाहकमा सजायको भागिदार बन्दछ ।
अपराध अनुसन्धानका लागि दक्ष जनशक्तिको अभाव, प्रयाप्त साधन श्रोतको अभाव आदिका कारणले सोचेजस्तो अपराध अनुसन्धान हुन नसकेको भन्ने तर्क पनि आउछ । नागरिकको शान्ति सुरक्षा कायम गरी देशमा कानूनको शासन कायम गर्न र दण्डहिनताको अन्त्य गर्ने सपथ खाएको सरकार र प्रहरीले आफ्नो दायित्वबाट पन्छिन कदापी मिल्दैन ।
अभियोगपत्रमा प्रतिवादी बनाइएका अभियुक्तको नाम तथा ठेगाना नमिल्नु, वादी पक्षका साक्षी जाहेरवाला तथा घटना विवरणका मानिसहरु बकपत्रको लागि अदालतमा उपस्थित नहुनु र उपस्थित गराउन नसक्नु, वादीका साक्षीहरुले होस्टाइल बकपत्र गर्नु, अपराध लाई प्रमाणित गर्न महत्वपूर्ण आधार बन्न सक्ने बरामदी तर्फ ध्यान नदिनु, सरकारवादी मुद्दा असफल हुनुका कारणहरुको अध्ययन अनुसन्धान र विष्लेषण नै नगरिनु, फैसलाहरुको अभिलेखिकरण नगरिनु, सवै मुद्दामा एकै खालको अनुसन्धान पद्दति अनुसरण गरिनु, अभियोग लगाएपछि आफ्नो पूरै दायित्व पूरा भएको मानिनु आदिका कारण सरकारवादी फौजदारी मुद्दाहरुले पूर्ण सफलता पाउन सकेको छैन । जस्को प्रत्यक्ष प्रभाव समाजमा पर्ने गरेको छ ।
समाज रहेसम्म अपराध भैरहन्छ यो धु्रबसत्य हो तर अपराध हुन्छ भन्दैमा अपराधलाई न्यूनिकरण नै गर्न सकिदैन भन्ने चाही होईन । अपराध न्यूनिकरण तर्फ सम्वेदनशील भएर अनुसन्धान भएको देखिदैन । अधिकांश रुपमा लागू औषधको ओसार पसार पसार भारतको रुपडिहा बाट नेपालमा आउछ भन्ने कुरा सबैलाई थाह छ सो कार्य रोकथाम नगरी भरिया र सेवनकर्तालाइ पक्राउ गरी मुद्दा चलाउने गरिएको छ तर लागू औषधको कारोबार गर्ने व्यक्ति प्रायशः कहिल्यै पक्राउमा पर्दैनन् । युवाहरु कुलतमा लागेका छन वा लाग्दैछन् भन्ने कुरा परिवार,समाज र विद्यालय समेतलाई जानकारी हुन्छ तर कुलतमा फसीसकेपछि प्रहरीले पक्राउ गरी मुद्दा चलाउछ ।
चोरीका घटनाहरु कहाँ कहाँ हुन्छन् ? चोरीमा प्रायशः कस्को संलग्नता हुन्छ भन्ने कुरा प्रहरीलाई राम्ररी थाह हुन्छ सो कार्यको रोकथाम नगरी चोरी भइसकेपछि मात्रै अपराध अनुसन्धान गर्ने प्रवृति बढेको छ । गैरकानूनी रुपमा विदेश जान हुदैन, विदेश गएमा दुःख पाउन सकिन्छ, यौन शोषणमा पर्न सकिन्छ भन्ने कुरा सबैलाई थाहजानकारी छ तर पनि मानव वेचविखनका घटनामा कमी आएको छैन किन ? मानव वेचविखन गर्ने मूख्य व्यक्ति कहिल्यै पक्राउमा परेको देखिदैन किन ? यस्ता प्रश्न पनि अनुत्तरित नै हुने गरेका छन् । महिलाहरु पनि स्वेच्छाले गैरकानूनी रुपमा विदेश जान तयार हुने अनि संस्था र प्रहरीको फन्दामा परेपछि चिनजानको नाताले साथमा गईदिने सहयोगी व्यक्तिलाई फसाउने प्रचलन पनि व्याप्त छ । यसतर्फ पनि अनुसन्धानकर्ताको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया

प्रतिक्रिया