इतिहासमा लेखिएको एउटा नामः देवी ज्ञवाली

अन्ततः भरतपुर महानगरपालिकाको निर्वाचनको पनि नतीजा आयो । माओवादी केन्द्र र नेपाली काँग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालले मेयर पदमा जितिन । उन्ले जित्नै हुँदैन भन्ने होइन । तर उन्को प्राविधिक जितसंगै न्याय र लोकतन्त्रको हार जोडिएर आयो । उनी र उनी सम्बन्धित गठबन्धनले जित्नकालागि जे जस्ता हतकण्डा अपनाए, त्यसले न्याय र प्रजातन्त्रमा विश्वाश गर्नेहरुलाई गम्भिर आघात पर्न गयो । इतिहासमा त्यति ठूला आन्दोलनहरु र हजारौं सहीदहरुको बलिदानी के यति कमजोर प्रणाली ल्याउनका लागि भएको थियो ? गम्भीर प्रश्न उठेको छ ।

बैशाख ३१ गते भएको निर्वाचनको मतगणना जेठ १४ गते रातीसम्म अन्तिम तिर पुगेको थियो । वडा नं. २० को पूरै मत गन्न बाँकी थियो र १९ को आधाजति गनिसकिएको थियो । त्यतिबेला घोषणा गरिएको मतपरिणाममा एमालेका उम्मेदवार देवी ज्ञवाली ७ सय भन्दा बढी मतले अगाडि थिए । पत्रपत्रिकामा आएका समाचार अनुसार १९ नं. को गणना सकिंदा उन्ले लगभग ६०० मत जतिको अग्रता लिने अवस्था थियो । यस्तोमा त्यो बेला यदि मतपत्र नच्यातिएको भए एमाले उम्मेदवारको जीत सुनिश्चित रहेछ भन्ने अहिलेको परिणामबाट प्रमाणित भएको छ ।

माओवादी केन्द्र र एमाले शिद्धान्ततः जे भनिए पनि व्यावहारले ‘ लेफ्ट टू सेन्टर ’ पार्टीहरु हुन । यिनीहरु खेल्ने राजनैतिक मैदान एउटै हो । यिन्का जनाधार पनि एउटै हो । यस्तोमा यिनीहरु आपसमा मिल्दा उचित हुने हो । तर समसामयिक राजनीतिका केही पेचिला मुद्दाहरुले त्यसो हुन सकिरहेको छैन । बरु एउटै जंगलमा दुईवटा सिंह बस्न सक्दैनन भन्ने भनाई झैं एकले अर्कोलाई प्रतिष्पर्धी ठानेर त्यही अनुसारका विचार र व्यवहार प्रकट गरिरहेका छन । भरतपुरमा हारिने भयले मतपत्र च्यातिनुमा, अरु कारणहरुका साथमा यही प्रतिष्पर्धी भावना पनि एउटा हो । यस्ले यी दुवै दललाई नाफा भन्दा नोक्साननै बढी हुनेमा कुनै द्विविधा छैन ।

नच्यातिनु पर्ने मतपत्र च्यातियो । जनताले आफुमा निहित सार्वभौमसत्ता मतपत्रमार्फत प्रयोग गर्दछन । यसर्थ फगत मतपत्र मात्र हैन त्यो रात जनताको सार्वभौमसत्ता पनि च्यातिएको थियो । लोकतन्त्रको चीरहरण भएको थियो । यस्तोमा लोकतन्त्रलाई लाग्ने लाज बचाउन, आफुलाई लोकतान्त्रिक आन्दोलनको संवाहक, सामाजिक परिवर्तनको प्रेरक र लोकतान्त्रिक समाजवादको अभियन्ता,  भन्ने नेपाली काँग्रेसले महाभारतका कृष्णको भूमिका खेल्छ भन्ने आशा थियो तर दुर्भाग्य तेसो हुन सकेन । कानून र विधीको नाममा टुलुटुलु हेर्ने मात्र होइन यी सव घटनाका साक्षीनै बस्न पुग्यो ।

यही स्थानीय निर्वाचनका लागि जारी गरेको घोषणा पत्रमा नेपाली काँग्रेसले माओवादी केन्द्रलाई स्पष्ट लोकतान्त्रिक बाटो पहिल्याउन नसकेको पार्टीको रुपमा बर्णन गरेको मात्र छैन, यस्को ढुलमुले प्रवृत्तीले नेपालको राजनीतिक अस्थिरता बढाएको समेत उल्लेख गरेको छ । सो घोषणा पत्रमा नेपाली काँग्रसले, माओवादी केन्द्रले द्वन्दकालिन धङधङीबाट मुक्त भएर लोकतान्त्रिक सहकार्यमा आवद्ध हुनुको साटो,  अस्थिर राजनीतिका बखत सत्ताको लाभ खोज्ने प्रवृत्ती प्रकट गर्ने गरेको उल्लेख गरेको छ ।

 

मतपत्र च्यात्ने माओवादी केन्द्रको काम विरुद्ध दह्रिलो खुट्टाले उभिएर आफ्नो सत्ता साझेदार दललाई लोकतान्त्रिक बाटोमा ल्याउन पहल गर्नु व्यवस्थापिका संसदको सबैभन्दा ठूलो र सत्ता गठबन्धनको नेता दल हुनुको नाताले नेपाली काँग्रेसको कर्तव्य पनि हुन आउँथ्यो । तर त्यसो नभएर उल्टै मतपत्र च्यात्नेहरुका पक्षमा नै बहस गर्ने र मत मागिदिने गर्दा गैर काँग्रसी लोकतन्त्रवादीहरु मात्र नभएर काँग्रसभित्रकै धेरै व्यक्तिहरु समेत निराश छन । यसैको प्रतिक्रिया स्वरुप आएका उनीहरुका अभिव्यक्ति सामाजिक संजालमा छरपष्ट छन । तर आशा गरौं नेपाली काँग्रेसजस्तो पुरानो र जिम्मेवार पार्टीवाट पक्कै पार्टी र राष्ट्रलाई हुने लाभ हानीको हिसाव गरेरै यी कदमहरु चालिएका होलान ।

भरतपुरको नतीजामा प्राविधिक रुपमा एमालेका उम्मेदवार देवी ज्ञवालीले हारे पनि नैतिक रुपमा जितेका छन । यो काण्डमा न्याय, विधी र लोकतन्त्रको पक्षमा एक्लो बृहस्पती झैं उभिएका उन्को नाम नेपाली राजनीतिको इतिहासमा सुनौला अक्षरले लेखिएका छन । उन्ले पाएका मत च्यातेर उन्लाई विजयी हुनबाट रोक्न त सकियो तर लोकतन्त्रलाई प्राणवान बनाउने निर्वाचन जस्तो पवित्र कार्य प्रतिको विश्वास माथिनै आघात पर्ने गरी भएको कृयाकलापको विरुद्ध उभिएर ईतिहासमा लेखिएको उन्को नाम कुनै ताकतले केही गरेर मेटाउन सक्तैन ।

यो काण्डले केही शिक्षा पनि दिएर गएको छ । न्याय देवी ज्ञवालीका पक्षमा थियो भन्ने कुरा मतपत्र च्यात्नेले पनि स्वीकारेका थिए । तर कानूनले यो कुरो मानेन । मतपत्र च्यात्नु निर्वाचन आचार संहिताको घोर उल्लंघन हो । आचार संहिताको उल्लंघन गर्दा उम्मेदवारीको खारेजी सम्मको व्यवस्था छ । तर त्यो देखिएन । वा भनौं कानुनको दृष्टि त्यहां सम्म पुगेन । यस्तो कानुन बनाउन देवी ज्ञवालीले प्रतिनिधित्व गर्ने पार्टी एमाले पनि जिम्मेवार छ । आफ्नो भागको जिम्मेवारी लिंदै भोली अरुहरुले देवी ज्ञवालीको नियति भोग्न नपरोस भनेर एमालेले एक पटक गहिरो मन्थन गर्नै पर्दछ ।

इतिहासले अहिले एमालेलाई अभूतपूर्व मौका दिएको छ । संबिधान कार्यान्वयन, सुशासन, आर्थिक विकास, राष्ट्रभक्ति जस्ता मुद्दाहरु एमालेका मात्रै जस्ता भएका छन । प्रमुख प्रतिपक्षी भए पनि एमाले राष्ट्रको संस्थापन पक्ष भएको छ ।

वर्तमान नेतृत्वले यो अवसरलाई कसरी उपयोग गर्दछन, समग्र राष्ट्रको भविष्य त्यस्मै जोडिएको छ ।

ट्वीटरः navin_kiran

प्रतिक्रिया

प्रतिक्रिया