कुरो ‘स्मार्ट’ प्राविधिज्ञका

श्रद्धेय सुशील कोइराला नेतृत्वको सरकार हुँदाका अर्थमन्त्री रामशरण महतले आर्थिक वर्ष २०७२÷७३ को बजेट प्रस्तुत गर्दा ल्याएको काठमाडौंमा एउटा, लुम्बिनी क्षेत्रमा एउटा र नीजगढलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने अवधारणा अघिल्ला महिनाहरुमा सम्पन्न भएका स्थानीय निकायका चुनाबहरुसम्म आइपुग्दा यति जवर्जस्त रुपमा स्थापित भयो कि आगामी केही वर्षहरु नेपालमा विकास भनेकै यहाँका नगरहरु कति स्मार्ट भए भन्ने प्रश्नको उत्तरको रुपमा बुझिने अवस्थाको सिर्जना भएको छ ।

 
राजनैतिक लाभहानीको हिसाब गरेर घोषणा गरिएका न्यूनतम पूर्वाधार बिनाका नेपाली नगरपालिकाहरु स्मार्ट सिटीको रुपमा विकसित हुन सक्छन भन्नेमा नागरिकहरुमा विश्वास कम र शंका बढी छ । आफ्नो कार्यसम्पादन क्षमताबाट नागरिकमा कुनै उत्साह भर्न नसकेको राजनैतिक नेतृत्वले चुनावमा भोट बटुल्ने प्रयोजनको लागि मात्र यो विषय उठाएको हो भन्ने मत बढी हुनुलाई स्वभाविकनै मान्न सकिन्छ । अझ राजधानी सहरकै भौतिक पूर्वाधारहरुको दुरवस्था, तिन्ले निम्त्याएका दुर्घटना र ती दुर्घटनाको जिम्मेवारी लिन कुनै निकाय र पदाधिकारी अग्रसर समेत नहुनुले स्मार्ट सिटी निर्माणका योजनाहरुलाई नराम्ररी गिज्याएका छन ।

 
नेपालका सन्दर्भमा स्मार्ट सिटी निर्माणका स्पष्ट मापदण्डहरु के के हुन सक्छन अझै अध्ययन र अनुसन्धानको विषय हो तर स्मार्ट सिटीको निर्माण गर्नु कुनै एक पक्ष वा निकायको मात्रै जिम्मेवारी होइन । यो सामुहिक प्रयास हो र यस्मा नगरहरुमा कृयाशील सरकारी र गैरसरकारी संघ, संस्था, संगठन र नागरिकको समेत उत्तिकै महत्वपूर्ण भूमिका रहेको हुन्छ । देशको एउटा प्रमुख अंग हुनुको कारणले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको क्षेत्र पनि यस्बाट टाढा
रहन सक्दैन ।

 
स्मार्ट सिटीमा सूचना प्रविधी जडित स्मार्ट भौतिक पूर्वाधार र स्मार्ट सेवा प्रणालीहरुको विकास आवस्यक हुन्छ । नेपालका नगरहरुमा शुद्ध पिउने पानी, सरसफाई, ढल निकास, फोहरमैला व्यवस्थापन, सडक, यातायात, र उर्जा जस्ता क्षेत्रका पूर्वाधारहरुको नीकै कमी रहेको छ । अति आवश्यक यी पूर्वाधारहरुको निर्माणमा प्रत्यक्ष संलग्न हुने प्राविधिक जनशक्ति, प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालीमले उत्पादन गर्दछ । यो जनशक्ती आफु सम्बन्धित क्षेत्रका व्यावहारिक ज्ञान र सीपका साथमा आफ्नो काममा सूचना प्रविधीलाई कसरी जोड्न सकिन्छ भन्ने बारेमा पनि शिक्षित हुनु जरुरी छ । जनशक्तिको उत्पादन श्रम बजारको मागको आधारमा हुनु पर्दछ र अबको श्रम बजारको माग निसन्देह स्मार्ट सिटी निर्माणका लागि स्मार्ट प्राविधिक जनशक्तीनै हुन ।

 

नेपालको श्रमबजारमा आउने प्राबिधिक जनशक्तिको ठूलो संख्या अनौपचारिक शिक्षाका माध्यमबाट वा परिवार वा पेशामा आफूभन्दा दक्ष व्यक्तिले गरेको काम देखेर सिकेकाहरु छन । यिन्लाई छोडौं । चर्चा गरौं के नेपालमा मौजुदा प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीम प्रणालीबाट बजारमा आवश्यक स्मार्ट प्राविधक जनशक्ति उत्पादन गर्न सकिन्छ ? जति स्वभाविक यो प्रश्न बन्दछ त्यती नै स्वभाविक उत्तर पनि हुन्छ – सकिन्छ ।

 
नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीम प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नीति, ऐन र नियमावलीहरु छन । यीनै नीति र ऐन बमोजिम स्थापना भएका सुविधा सम्पन्न शिक्षालय र तालीम केन्द्रहरु पनि छन । ती शिक्षालय वा तालीम केन्द्रहरुमा आवश्यक यन्त्र, औजार र सिकाई सामाग्रीहरु खरीद गर्न लगानी भएकै छ । त्यहाँ पढाइने पाठ्यक्रमहरु छन र यीनलाई सामयिक अद्यावधिक पनि गरिएकै छ । पाठ्यक्रमले सिकाउ भनेका ज्ञान र सीप सिकाउने दक्ष प्रशिक्षकहरु पर्याप्त मात्रामा छन र अझ महत्वपूर्ण कुरो सीप सिकौं र केही गरौं भन्ने अभिलाषा सहित प्राविधिक शिक्षालय वा तालिम केन्द्रहरुसम्म आउने विद्यार्थीहरु पनि छन ।

 
यसो भन्न सकिन्छ कि नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको क्षेत्र एउटा पूर्ण प्रणालीको रुपमा विकास भएको छ । यसमा ईन्पुट र तिनीहरु प्रशोधित हुने संयन्त्र चालु अवस्थामा छन, र केही आउपुट पनि दिएकै छन अर्थात प्राविधिक जनशक्ती श्रम बजारमा निस्किएकै छन । यहाँनिर अर्को प्रश्न उठ्न सक्छ – के अहिले नेपालमा उत्पादन भइरहेका यो प्राविधिक जनशक्ती स्मार्ट सिटीका लागि आवश्यक स्मार्ट पूर्वाधार निर्माणमा योगदान गर्न सक्ने गरी स्मार्ट छन त ? यो प्रश्नको उत्तर दिनुभन्दा पहिले चर्चा गरौं नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीममा देखिएका दुई प्रवृत्तिहरुका ।

 
पहिलो हो – प्राविधिक ज्ञान वा व्यावसायीक सीप सिकेर जीवनमा केही गरौं भनेर प्राविधिक शिक्षालय वा तालीम केन्द्र सम्म आउने तर आवश्यक सीप वा ज्ञान आर्जन नगरेरै प्रमाण पत्र लिन खोज्ने विद्यार्थीहरुको मनोवृत्ति । अपवादलाई छोडेर धेरै विद्यार्थीहरु कक्षा कोठा वा कार्यशालामा हुने गतिविधिमा त्यति रुची राख्दैनन ।

 
परीक्षामा चोरी गर्न पाइएन भनेर शिक्षालय तोडफोड गर्ने मात्र होइन परीक्षा सञ्चालनमा खटिएका कर्मचारीमाथि कुटपिट भएका समाचार समेत अव नौला रहेनन । यस्तो मनोवृत्ति लामो अवधीका प्राविधिक शिक्षा तर्फका विद्यार्थीहरुमा बढी छ । ठ्याक्कै यस्तै त होइन तर सारमा यसैसंग मिल्दोजुल्दो लाग्ने प्रवृत्ति छोटो अवधीको तालिममा आउने विद्यार्थीहरुमा
पनि छ । डोनर एजेन्सीले प्रदान गर्ने भत्ता वा अन्य सुविधाका लागि तालिममा सहभागी हुने तर सीप सिक्नमा खासै रुची नदेखाउने मनोवृत्ति यिन्मा देख्न सकिन्छ । तर अघिल्लोको तुलनामा यो केही कम छ ।

 
अब दोश्रो प्रवृत्तिको कुरा गरौं जुन प्रोशेसिंग यूनिटसंग जोडिएको छ । बाहिरबाट हेर्दा यो यूनिट ठिकठाक चलिरहेको जस्तो लाग्छ । तर यस्को एउटा महत्वपूर्ण पूर्जा प्रशिक्षकहरुमा जति उत्प्रेरणा हुनु पर्ने हो, त्यति देखिदैन । उज्वल र शुरक्षित भविष्यको प्रत्याभूति हुन नसकेको पीडा देखिन्छ ।

 
सिक्ने र सिकाउने कार्यमा जांगर छैन, अध्ययन, अनुसन्धान त झन धेरै परको कुरा । कारण जेसुकै भएपनि शिक्षालयमा भएका श्रोत (मानवीय वाहेक)हरु पूर्णरुपमा प्रयोग हुँदैनन । कतिपय औजार र महत्वपूर्ण यन्त्रहरु प्रयोग गरिंदैनन यदि गरिहालेमा पनि देखाउनका लागि गरिन्छन, सिक्न र अभ्यास गर्नका लागि होइनन । निर्धारित समयमा पाठ्यक्रम पूरा हुँदैनन् ।

 
यो अवस्थामा अहिले नेपालमा उत्पादन भइरहेको प्राविधिक जनशक्ती कति स्मार्ट छ भनेर विभिन्न तर्कका आधारमा पक्ष विपक्षमा बहस गर्न सकिन्छ । तर माथी वर्णन गरिएका नकारात्मक प्रवृत्तिलाई निर्मूलनै नभएपनि कम मात्र गर्न सकियो भने त्यसपछि उत्पादन हुने जनशक्ती स्मार्ट सहर हुँदै स्मार्ट राष्ट्र निर्माणमा योगदान दिनसक्ने गरी स्मार्ट हुने कुरामा कुनै शंका गर्नु पर्दैन । तर, यसो भन्नुको मतलव यी बाहेक अन्यत्र कतै सुधार आवश्यक छैन भन्ने होइन । अरु विषयहरु यिन्का अगाडी गौण हुन ।

प्रतिक्रिया

प्रतिक्रिया