नविन किशोर गैह्रे
२०६२/६३ को जनआन्दोलनको सफलतासंगै नेपालमा राजनैतिक क्रान्तिको एउटा चरण पूरा भएको छ । गणतान्त्रिक व्यवस्थाको उदय र अभ्यास समेत शुरु भइसकेको यो समयमा नेपालमा बहसहरु आर्थिक विकासका मुद्दाहरुमा केन्द्रित हुन थालेका छन । अघिल्लो आर्थिक वर्षमा हासिल भएको ७.५५ को आर्थिक वृद्धिदरले जति उत्साह सञ्चार गरेको छ आउने वर्षहरुमा त्यसलाई कायम गर्न त्यतिनै चुनौतीपूर्ण रहेको अवस्थामा प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमले आर्थिक विकासमा खेल्ने भूमिकाको चर्चा गर्नु सान्दर्भिक देखिन्छ ।
बिजिनेस डिक्सनरी डट कमले आर्थिक विकासलाई ‘नयाँ प्रविधिहरुको ग्रहण, कृषिमा आधारित अर्थव्यवस्थाबाट उद्योगमा आधारित अर्थ व्यवस्थामा संक्रमण र जीवन स्तरमा सामान्य सुधारलाई बुझाउँछ’ भनेर परिभाषित गरेको छ । त्यस्तै प्रशिद्ध अर्थशास्त्री माइकल टोडरोका अनुसार आर्थिक विकास भनेको ‘सामाजिक संरचना, मानिसहरुको मनोवृत्ति, राष्ट्रिय संस्थाहरु, आर्थिक वृद्धिको प्रवेग र असमानताको न्यूनिकरणमा हुने मूख्य परिवर्तनहरु समावेश भएको बहुआयामिक प्रकृया’ हो । यी परिभाषाहरुबाट यो भन्न सकिन्छ कि आर्थिक विकास, मुख्यतः रोजगारीको सिर्जना र नागरिकहरुको समृद्ध जीवनयापनमा केन्द्रित रहने कृयाकलापहरु हुन । आर्थिक बृद्धिदर, कुल ग्राहस्र्थ उत्पादन, रोजगारीको अवस्था, गरीवि दर, मानव विकास सूचकांक, जीवनस्तरमा बढोत्तरी जस्ता सूचकहरुले आर्थिक विकासलाई मापन गर्दछन । नेपालजस्तो अल्पविकसित राष्ट्रको प्रमुख उद्देष्यहरुमध्ये प्राथमिकतामा आर्थिक विकास हुनु पर्दछ भन्ने कुरा निर्विवाद छ ।
राष्ट्रको आर्थिक विकासमा धेरै कारकहरुले भूमिका खेल्दछन । ती मध्येको एउटा प्रमुख हो – प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीम । नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीम नीति २०६९ को पहिलो उद्देश्य नै ‘देशको आर्थिक उन्नतिका लागि योग्य, सक्षम, प्रतिस्पर्धी र उत्पादनशील जनशक्ति तयार गर्न र सबैका लागि रोजगारीका अवसर सिर्जना गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमका अवसरहरूको व्यापक विस्तार गरी सबै इच्छुक नागरिकहरूका लागि समावेशी एवम् समतामूलक पहुँच स्थापित गर्ने’ रहेको छ ।
यूनेस्कोले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमलाई ‘सामान्य शिक्षाको साथमा प्रविधिहरु र सम्बन्धित विज्ञानको अध्ययन र आर्थिक तथा सामाजिक जीवनका विभिन्न क्षेत्रहरुका व्यावसायहरुसंग सम्बन्धित व्यावहारिक सीप, मनोवृत्ति, बुझाई र ज्ञानको प्राप्ति संलग्न शैक्षिक प्रकृयाको पक्षहरुलाई बुझाउने’ विस्तृत वाक्यांशको रुपमा उल्लेख गरेको छ । यस्मा उद्योग, व्यावसायिक उत्पादन र सेवा क्षेत्रहरुमा आवस्यक पर्ने व्यावहारिक शिक्षा र सीपहरु समावेश हुन्छन । प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमले मानिसलाई औद्योगिक क्षेत्रमा रोजगारी वा स्वरोजगारीका लागि पूर्ण र दक्ष बनाई उत्पादनशीलतामा वृद्धि गराउंछ ।
राष्ट्रको भौतिक विकासमा महत्वपूर्ण योगदान रहने यस्ता दक्ष जनशक्ति राष्ट्रका मूल्यवान श्रोत र सम्पती हुन । राष्ट्रको आर्थिक विकासमा यिनीहरु प्रत्यक्ष सहभागी हुन्छन तसर्थ राष्ट्र निर्माणमा उल्लेख्य भूमिका खेल्ने पूर्ण र दक्ष जनशक्ति उत्पादन गर्ने प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको नीकै ठूलो महत्व रहेको छ । राष्ट्रको मानव र प्राकृतिक श्रोतहरुको सही सदुपयोग गरेर तीनिहरुबाट अधिक लाभ लिन प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको विकासबाट मात्र सम्भव हुन्छ । नेपालले सन २०३० सम्ममा हासिल गर्ने गरी तय गरेको दीगो विकास लक्ष्यहरुमा गरीवि उन्मुलन गर्ने, समावेशी र दीगो आर्थिक वृद्धिको प्रवर्धन, पूर्ण र उत्पादनशील रोजगारी र सबैका लागि सभ्य काम लगायत छन । यी लक्ष्यहरु हासिल गर्न पनि प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको भूमिका महत्वपूर्ण हुन्छ ।
प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमले व्यक्तिलाई कुनै व्यावसायको क्षेत्रमा रोजगारीका लागि आवश्यक विशिष्ट सीप र त्यो सीपको सही प्रयोग गर्न चाहिने मनोवृत्तिको विकास गराउंछ । व्यक्तिमा नयाँ प्रविधियुक्त उत्पादनका साधनहरु सम्बन्धी ज्ञान बढाउंछ र उत्पादकत्व बढाउन मद्दत गर्दछ । यस्ले उस्लाई परिवर्तनशील श्रम बजारसंग कसरी अनुकुलन गर्ने भनेर तयार राख्दछ । बेरोजगारीको समस्या स्वतः कम हुन्छ । प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमले परम्परागत ढंगले अभ्यास गरिंदै आएका सीपहरुलाई विस्थापित गर्न र नयाँ प्रविधिलाई अपनाउन सिकाउंछ जस्को कारणले उत्पादनको प्रभावकारीता र कार्यक्षमतामा उल्लेख्य बृद्धि भई राष्ट्रकै आर्थिक विकासमा सेवा पुग्दछ ।
प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमले कुनै ज्ञान र सीप विशेष मात्र सिकाउने नभएर पेशागत मूल्य र मान्यताको पनि उत्तिकै प्रवर्धन गरिरहेको हुन्छ । यस्ले आर्थिक विकासका लागि आवश्यक सभ्य र अनुशासित समाज निर्माण गर्न भूमिका खेलिरहेको हुन्छ । व्यक्तिमा उद्दमशीलताको विकास गराएर र आत्मनिर्भर हुनका लागि आवश्यक सीप सिकाएर उस्लाई स्वरोजगार हुन प्रेरित गरिरहेको हुन्छ । २१ औं शताब्दीको श्रम बजार नीकै परिवर्तनशील छ ।
विज्ञान र प्रविधिमा हुने नयाँ आविस्कार र विकाससंगै परिवर्तन हुने उत्पादनका औजार र यन्त्रहरुको बारेमा अध्यावधिक हुनु जस्तो नीकै चुनौतीपूर्ण काम पनि प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको माध्यम बाट सहज भएको छ । यदि प्राविधिक तथा व्यावसायिक शिक्षालयहरुलाई विभिन्न ठाउंमा विस्तार गर्ने हो भने अहिले देखिएको प्रमुख समस्याहरु मध्ये एक जनशंख्याको असमान वितरण कम हुन गई रोजगारी र स्वरोजगारीका को सम्भावना पनि अलि फराकिलो र भूगोलको हिसाबले राष्ट्रको समान विकासको अवसर खुल्दछ ।
भनिन्छ प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीम विकासको मूल ढोका हो । नेपालजस्तो कम विकसित मुलुकमा यो क्षेत्रमा लगानी केही महंगो हुन्छ तर भविष्यमा यस्ले दिने प्रतिफलको मूल्य धेरै महत्वपूर्ण हुनेछ । तसर्थ नेपालको दीगो आर्थिक विकासको लागि प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीमलाई अझ बढी विकास र विस्तार गरी धेरै जनाको सहज पहुँचमा पुर्याउन आवश्यक छ । (कम्युनिकेसन ईञ्जिनीयर गैह्रे भेरी प्राविधिक शिक्षालय, नेपालगन्जमा कार्यरत छन् ।)