आज मे १२ अर्थात अन्तर्राष्ट्रिय नर्सिङ दिवस । A voice to lead achieving The Sustainable development goal भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय स्तरमै यो दिवस मनाउन लागिएको छ । नेपालमा पनि यो दिवस बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइदै छ । नर्सिङ सेवामा सुप्रसिद्ध फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर यो दिवस मनाइने गरिन्छ ।

दिगो विकासको लक्ष्य हासिल गर्नका लागी नेतृत्वदायी आवाज’ भन्ने नाराका साथ विश्वका सयबढी मुलुकमा आज विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदैछ । नेपालमा सूचीकृत नर्सको सङ्ख्या ७० हजार छ । मुलुकका झण्डै १०७ कलेजमा नर्सिङ्ग पढाइ हुने गरेको छ । त्यहाँबाट अनमी, स्टाफ नर्स र विएस्सी नर्सिङ्ग गरी वार्षिक रुपमा आठ हजार बढीको संख्यामा नर्सहरु उत्पादन हुँदै आएका छन् ।

नेपालमा नसिङ विषयमा स्नातकोत्तर र बिद्यावारिधि तहको समेत पढाइ हुनेगर्छ । उत्पादनको तुलनामा रोजगारीको अवसर स्वदेशमा ज्यादै न्यून भएकाले विदेसिने नर्सको संख्या उल्लेखनीय रहेको छ । लाखौँ रुपैयाँ खर्च गरेर पढाइ पूरा गरेका नर्स स्वयम्सेवीका रुपमा कार्य गर्न बाध्य छन् ।

बिना पारिश्रमिक वा नेपाल सरकारले तोकेको पारिश्रमिक भन्दा निकै कम पारिश्रमिकमा नर्सहरु काम गर्न बाध्य
छन् । नर्सहरु श्रम शोषणमा परेका पर्ने गरेका । निजी क्षेत्रका अस्पतालले न्यूनतम एक वर्षको कार्य अनुभव भएकालाई मात्र रोजगारी दिने गरेकाले पनि अनुभव हासिल गर्नका लागि स्वयम् सेवा गर्नुपर्ने नर्सलाई बाध्यात्मक अवस्था रहेको छ । स्वास्थ्य क्षेत्रमा नर्सिङ क्षेत्रलाई हेर्ने नीति अझै सकारात्मक बन्न सकेको छैन ।

नर्सिङ पेसा स्वास्थ्य सेवाको मेरुदण्ड भए पनि नर्सिङ्ग पेशाको उचित मुल्याङ्कन हुन सकेको छैन । स्वदेशमा मात्र नभएर विश्व बजारमा समेत यो पेसामा रोजगारी पाइने हुँदा पनि यो पेसालाई आकर्षक मानिए पनि पछिल्लो समय उल्लेख्य मात्रामा खुलेका नर्सिङ्ग क्याम्पसमा उत्पादन भएका नर्सहरुले स्वदेश भित्र रोजगारीको उचित ब्यवस्था हुन नसक्दा नर्सिङ्ग पेशा पनि अव सुरक्षित पेशा नहुने अवस्थामा पुगेको छ ।

सुन्दर भविष्यको कल्पना गर्दै घरखेत बेचैरै भए पनि दुःखकष्ठ गरि नर्सिङ्ग पढाएका सबै अभिभावकको सपना पुरा भएको हुदैन । बिश्वमै नर्सिङ्ग पेशाको महत्व बढेर गएको परिप्रेक्ष्यमा नेपालमा भने नर्सिङ्ग शिक्षाको गुणस्तर बढ्नुको सट्टा खस्कदै जान थालेको छ । नीजि स्तरमा ठुलो संख्यामा खोलिएका नर्सिङ्ग कलेजहरु मध्ये कतिपयले गुणात्मक शिक्षालाई भन्दा सख्या र आर्थिक लाभलाई बढी प्राथमिकता दिने गरेको कारण नसिङ्ग शिक्षाको स्तर खस्कने खतरा बढेको छ ।

निश्चित मापदण्ड र पूर्वाधार नभएर पनि बिभिन्न कारणले स्वीकृती लिन सफल भएका नसिङ्ग क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरु के साच्चै नर्सिङ्ग पेशामा दक्ष भई रोजगारी पाउन सक्छन् त ? भन्ने अहम प्रश्न तेर्सिने गरेको छ । नर्सिङ्ग पेशामा मौलाउदै गएको ब्यापारिकरणका कारण आज धेरै नर्सिङ्ग बिद्यार्थीहरुको लगानी र परिश्रम खेर जाने त होईन ? भन्ने अहम प्रश्न उब्जिने गरेको छ । बिद्यार्थीको सिकाईका लागी सबै नर्सिङ्ग कलेजका आफ्ना शिक्षण अस्पताल छैनन । एउटै अस्पतालमा धेरै नर्सिङ्ग कलेजका बिद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यासका लागी लैजाने गरिन्छ । बिरामी भन्दा सिक्ने बिद्यार्थीको संख्या बढी हुने अस्पतालमा सिकारु बिद्यार्थीहरुले राम्ररी सिप हासिल गर्न नपाएको बिद्याथीहरुबाट गुनासो सुनिने गरेको छ ।

एकातिर नीजि अस्पतालहरुमा नर्सहरुको योग्यता र दक्षताको उचित सम्मान हुन सकेको छैन भने सरकारी अस्पतालमा कार्यहरु नर्सहरुले पनि सरकारी स्तरबाट उचित मान सम्मान र पुरुष कर्मचारी सरहको समान ब्यवहार पाउन सकेका छैनन । महिलालाई आरक्षण सिटको ब्यवस्था निजामति ऐन र स्वास्थ्य सेवा ऐनले गरेको भए पनि ब्यवहारमा सो अनुरुप कार्यान्वयन हुन सकेको छैन ।

एक त महिलालाई निजामति सेवामा प्रर्वेश गर्नै गाह्रो छ । त्यस माथी अनेक बाधा अडचन थिचोल्दै स्वास्थ्य सेवामा प्रवेश गरेका महिला कर्मचारीहरु सरकारको बिभेदकारी र अन्यायपुर्ण नीतिका कारण बृृत्ति बिकाश हुनबाट समेत बन्चित हुने गरेका छन् । यसै गरि न त स्वास्थ्य ऐनमा दरबन्दी कायम रहेको पद भन्दा माथीको उच्च शिक्षा हासिल गर्नेहरुको पदोन्नति भएको छ न त आईसियू, सिसियू एसबिए, जस्ता महत्वपूर्ण तालिम लिएका नर्सहरुको तालिमलाई मुल्याङ्कनको आधार बनाउने परिपाटी बिकाश नै गरिएको छ । स्वास्थ्य ऐन पटक पटक सम्शोधन हुँदा पनि बिएन र एमएन गरेका र तालिमबाट पोख्त भई राम्रो काम गर्ने नर्सहरुको उचित मुल्याङ्कन गरि पदोन्नति गर्ने बारेमा कुनै कुरा उल्लेख हुन सकेको छैन ।

नर्सहरु काममा कर्तब्यनिष्ट रहने र दवावमुलक कार्यक्रम गर्न नसकेको कारण हुन सक्छ स्वास्थ्य क्षेत्रमै काम गर्ने पुरुषको तुलनामा महिलाहरु झनै मर्कामा परेका छन् । स्वास्थ्य सेवामा नर्सहरुको लागी एकातिर तालिम र योग्यताको कुरा गरिन्छ भने अर्को तिर तालिम र योग्यतालाई एकातिर थन्क्याएर दुर्गमको कुरालाई अगाडी तेस्र्याइ योग्यता र दक्षता भएका नर्सहरुलाई पछाडी धकेल्ने काम सम्शोधित स्वास्थ्य ऐनले गरेको छ । हामी नर्सिङ्ग स्टाफहरु रातदिन नभनेर जोखिमका काम गरे पनि स्तर उन्नति हुनबाट रोक्ने र छेक्न काम स्वास्थ्य ऐनले गरेको छ ।

सरकारी र गैर सरकारी क्षेत्रबाट समेत नर्सिङ्ग पेशाको उचित आदर र सम्मान हुन नसक्दा नर्सहरु आफ्नो योग्यता र क्षमताको भरपुर उपयोग गर्न पाइरहेका छैनन । उचित अवसरबाट बन्चित हुनु परेका कारण कतिपय दक्ष र काबिल नर्सहरु बिदेश पलायन भएका छन् भने कतिपय पेशा नै छाड्ने स्थितिमा पुगेका छन् । ठुलो लगानी गरि उच्च शिक्षा हासिल गरेका नर्सहरु बेरोजगारी भई बस्न बाध्य भएका छन् । कतिपय कम पारिश्रमिक र स्बयमसेवी रुपमा कार्य गर्न बाध्य छन् ।

अन्तमा नर्सिङ्ग पेशाको लागी सुरक्षित कार्यस्थल, रोजगारीको व्यवस्था, गुणस्तरीय नर्सिङ सेवा, औद्योगिक र गुणस्तरीय नर्सिङ स्कुल आजको आवश्यकता बनेको छ । महिला भएकै कारण नर्सिङ्ग स्टाफहरुले अन्य सेवा समुहका स्टाफहरुको तुलनामा अवसर र नीति निमार्ण तहमा सहज पहुच पुग्न नसकेकाले सहज पहुँचको ब्यवस्था मिलाईनु पर्दछ । नीजि तथा सरकारी अस्पताल र अन्य स्वास्थ्य सस्थाहरुमा बिना पारिश्रमिक स्वयमसेवकको रुपमा काम गराउने परिपाटीको पुर्ण रुपमा अन्त्य गरि निश्चित मापदण्ड अपनाई नियुक्त पत्र दिएर काममा लगाउने परिपाटीको ब्यवस्था मिलाउनु पर्दछ ।

नेपाल सरकारले नर्सिङ्ग शिक्षा, सेवा तालिम र अनुभव र भौगोलिक क्षेत्रमा काम गरेको आधारमा बढुवाको ब्यवस्था मिलाईनु पर्दछ । यसो हुन सकेमा नर्सहरुको आत्मसम्मान बढाउन र नर्सिङ्ग पेशालाई ब्यवशायिक र सेवामुलक बनाउन मद्धत पुग्दछ । यसै गरि सबै जनतामा स्वास्थ्य सेवाको सहज पहुँच बनाउने सरकारको नीति कार्यान्वयन गर्नका लागि नर्सिङ सेवालाई पनि समय सापेक्ष सुधार र परिमार्जन गर्दै लैजानु पर्ने आजको आवश्यकता रहेको छ ।
(ज्ञवाली नेपाल नर्सिङ्ग संघ बाँकेकी पूर्व अध्यक्ष हुन्)

प्रतिक्रिया

प्रतिक्रिया