अत्याधिक गर्मी र सरोकारवालाले अवलम्वन गर्नुपर्ने उपाय

तापक्रमको अवस्था :
अहिले बाँके जिल्लामा तापक्रम बढेको छ । पानी नपर्ने हो र यही अवस्था कायम रहने हो भने तापक्रम बढ्दै जाने निश्चित छ । पानी नपरेका कारण यो क्षेत्रमा खडेरी समेत परेको छ । नेपालकै अत्यधिक गर्मी हुने स्थान बाँकेमा पानी नपरी दिनप्रतिदिन तापक्रम बढ्दै गएका कारण नागरिक जनजीवन अस्तव्यस्त भएको छ । श्रमिक, कामदार, वृद्धवृद्धा र बालबालिकाहरु गर्मीमा बढी प्रभावित हुने गरेका छन् ।

तराईको मूख्य पेशा कृषि नै हो । पानी नपरेका कारण कृषिमा निर्भर कृषक, नागरिकहरु र कृषि मजदुरहरु मारमा परेका छन् । कृषि उत्पादन कम हुने भएकोले खाद्यान्न आयात गर्दा खाद्यान्नको मूल्य वृद्धि हुन जाने भई खडेरीका कारण आम उपभोक्ताहरु समेत मारमा पर्ने निश्चित छ ।

अत्यधिक गर्मीको असर :
हाल विद्यमान खडेरी र उच्चतम् गर्मीका कारण आम जनजीवन अस्तव्यस्त भएको छ । उच्च तापक्रमका कारण कोठामा वस्न, आवत जावत गर्न, सुत्न, अध्ययन गर्न, काम गर्न समेत सहजता छैन । बालबालिकालाई विद्यालयमा आउन–जानका लागि सारै नै कठिनाई भइरहेको छ । दैनिक रुपमा ज्याला मजदुरी गरी जीविकोपार्जन गर्ने श्रमिकहरु समेत उच्च गर्मीका कारण काम गर्न नसकेर र काम नपाएर समस्यामा परेका छन् । अत्यधिक गर्मीका कारण पनि जनजीवन कष्टपूर्ण बनी रहेको छ ।

नेपालगन्जका भित्री सडकको निर्माण कार्य सम्पन्न नभएको र समयमा सडक, नाली सरसफाई समेत नहुने कारण वातावरण समेत प्रदूषित भईरहेको छ । दैनिक रुपमा कामकाजको लागि एक ठाउँ बाट अर्को ठाउँमा आउने जाने उपभोक्ताहरु धुलो धुवा र दूर्घन्धको मारमा पर्ने गरेका छन् । सार्वजनिक स्थान तथा बाटोमा र सेवा प्रदायक निकायमा खानेपानी, छहारी आदिको उचित व्यवस्था नभएका कारण समेत आम उपभोक्ताहरु समेत प्रत्यक्ष रुपमा गर्मीको मारमा परेका छन् । उच्च तापक्रमका कारण झाडापखाला लाग्ने, पेट दुख्ने, बेहोस हुने, निन्द्रा र भोक नलाग्ने लगायतका रोगहरुबाट नागरिकहरु ग्रस्त भई अस्पतालमा विरामीहरुको संख्या बढ्दो अवस्थामा छ ।

अवलम्वन गर्नु पर्ने उपाय :
गर्मीको समयमा के खान हुने के खान नहुने ? के गर्न हुने के गर्न नहुने ? आफूलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा सवै नागरिकलाई सामान्य जानकारी हुँदा हुदै पनि लापरवाही एवं बाध्यताका कारण आफ्नै जीवनमाथि नै खेलबाड गर्ने काम भइरहेको हुन्छ । काम विग्रीसकेपछि पछुताउने नेपाली संस्कृति बनी सकेको छ ।

त्यसैले जनस्वास्थ्य कार्यालय, स्वास्थ्य सेवामा संलग्न सम्वन्धित निकाय, रेडक्रस सोसाइटी, सामाजिक तथा मानवीय सेवामा कार्यरत संघसंस्था, स्थानीय प्रशासन, स्थानीय निकायले उच्च तापक्रमका कारण मानव जीवनमा पर्न सक्ने असर र सो बाट बच्ने उपायका विषयमा प्रत्येक गाउँ, टोल र घर–घरमा गई जनचेतना फैलाउने कार्य गर्न आवश्यक देखिन्छ ।

जीवन र जनस्वास्थ्य संग जोडिएको विद्युत आपूर्तिका विषयमा नेपालगन्जमा समेत पटक–पटक कठिनाई आउने गरेको छ । नियमित विद्युत सप्लाई गर्न सकिएका खण्डमा केही हदसम्म भएपनि नागरिकहरुलाई राहत पुग्न सक्ने भएकोले अहिले देखिनै विद्युत नियमितताको विषयमा सक्रिय एवं संवेदनशील हुन आवश्यक छ ।

मानवीय सेवामा संलग्न नेपाल रेडक्रस सोसाईटी लगायतका अन्य संघसंस्थाहरु र समाजसेवी, उद्योगी व्यवसायीहरु समेत संग समन्वय गरेर स्थानीय प्रशासन र स्थानीय निकायले चौक–चौकमा, सार्वजनिक स्थानमा, बजारमा, सेवा ग्राहीको बढी उपस्थिति हुने अस्पताल, अदालत, जिल्ला प्रशासन, प्रहरी कार्यालय, मालपोत, नापी, यातायात लगायतका कार्यालय तथा निकायहरुमा उपभोक्ता तथा आम नागरिकका लागि खानेपानी र छहारीको उचित व्यवस्था गर्न अत्यन्तै आवश्यक देखिएको छ ।

सडक बाटोमा र बजार एरियाको सडक बाटोमा समेत दिनमा कम्तीमा दुई÷दुई पटक पानी नियमित रुपमा हाल्ने उचित व्यवस्था गरिनु पर्दछ । यस्का लागि स्थानीय निकाय तथा निर्माण कम्पनी संग समन्वय गरिनु आवश्यक
छ । स्थानीय प्रशासनले चाहेका खण्डमा र इच्छाशक्ति भएमा उच्च तापक्रमको अवस्थामा नागरिकहरुको जनहितका लागि माथि उल्लेखित कार्यहरु गर्न गराउन सम्भव छ । जनउपयोगी कार्यमा सहयोग पुर्याउन सवै पक्ष र निकाय सकारात्मक हुन समेत आवश्यक छ ।

गर्मीयाममा हुन सक्ने जनधनको क्षेतिलाई रोक्न तथा न्यूनीकरणका खातिर सम्वन्धित निकाय, समाजसेवी, उद्योगी व्यापारी, सामाजिक संघसंस्था समेतका वीचमा सम्वाद र अन्तरक्रिया गर्न सकियो भने समाधानका उपाय आउन सक्ने भएकोले सो तर्फ समेत अग्रसर हुन आवश्यक छ । उच्च तापक्रमका कारण हुन सक्ने मानवीय धनजनको क्षतिबाट नागरिकलाई बचाई नागरिकहितमा क्रियाशील रहन सम्वद्ध सबै पक्ष सम्वेदनशील हुन समेत आवश्यक छ ।
उच्च गर्मीबाट बच्नको लागि नागरिक स्वयं पनि सचेत र सजग हुन आवश्यक छ ।

गर्मीयाममा स्वच्छ पानी अधिकतम मात्रामा पिउन आवश्यक छ । खानपिनमा विशेष ख्याल गर्नुपर्ने हुन्छ । सडेगलेको र वासी खानेकुरा खाएका खण्डमा रोगले छिटो संक्रमण गर्ने भएकोले त्यसतर्फ पनि नागरिकको ध्यान जान आवश्यक छ । गर्मीयाममा नै बढी विवाह, भोजभतेर समेत हुने भएकोले स्वस्थ खानाको व्यवस्थापन र खानपिनमा समेत विशेष ध्यान दिनु उपयुक्त हुन्छ । उच्च गर्मीको संक्रमणबाट तत्काल रोकथाम गर्नको लागि आवश्यक पर्ने औषधीहरु प्रत्येक घर–घरमा उपलब्ध गराउन समेत आवश्यक छ ।

गर्मीयाममा आगलागिका दूर्घटनाहरु समेत बढिरहेका छन् । आगलागि हुनै नदिन र अचानक आगलागि भएका खण्डमा तत्काल रोकथामको उपाय अवलम्बन गर्नको लागि समयमा नै दमकल लगायतको आवश्यक तयारी र प्रचार प्रसार गर्न समेत आवश्यक देखिएको छ ।

यसरी सम्वद्ध पक्षले आ–आफ्नो दायित्व समयमा नै निर्वाह गरेमा र आफ्नो स्वास्थ्य प्रति सबै सजग र सचेत रहेका खण्डमा गर्मीयाममा नागरिकहरुले ठूलो धनजनको क्षति व्यहोर्नुपर्ने छैन ।

प्रतिक्रिया

प्रतिक्रिया