चुनाव लड्ने मान्छे की पैसा ?

अछरी पोखरेल

सोमबार राती ११ बजे बिस्तारामा मस्त निद्रामा सुति सकेकी थिए । पटक–पटक फोनको घण्टी बज्यो । मस्त निद्राले आँखा नखुले पनि मोवाइल समातेर फोन उठाएर हेलो भने एकजना मुस्लिम महिलाको अवाज आयो ।

मेडम म स्थानीय निकायको चुनावमा मेरो वडाबाट अध्यक्षमा उठ्ने भनेकी छु । चुनाव लड्न ५ लाख रुपैया चाहिन्छ तपाई संग ५ लाख छैन नउठनुस भन्छन् हो र ? भनि प्रश्न गरिन् । म नाजवाफ भए । खै त मलाई त थाहा छैन भन्दै उनको फोन राखी दिए । निद्रामै भए पनि उनको यो भनाइले दिमागमा धेरै कुरा खेल्न थाले ।

एउटी मुस्लिम महिलाको घुम्टो बाहिर आएर स्थानीय निकायको चुनावमा लड्ने आँट रहेछ तर पैसाका कारण उनी पछाडी हट्नु पर्ने बाध्यता के यसो गर्नु उचित हो त ? आफैले आफैलाइ प्रश्न गरे । पैसाले चुनाव लड्ने भए त पैसाको बोरालाइ उठाएर चुनाव लडाए भो नि त मान्छे किन चाहियो ?

चुनाव जितेर काम गर्ने पैसाले कि व्यक्तिले ? जस्ता प्रश्नले म रातभरी निदाउन सकिन र विहान उठेर मनलाइ हलुका पार्नको निम्ति तपाई पाठक समक्ष यो प्रश्न छाडी दिएकी छु तपाइको दिमागमा पनि यो प्रश्नको सहि उत्तरले मन्थर गर्न सकोस । यसको फैसला गर्ने जिम्मा तपाइ पाठकको नै हुने
छ ।

यसो भनिरहदा के चुनाव लड्न पैसा आवश्यक नै पर्दैन त त्यो पनि गलत हो । चुनावी प्रचार प्रसारमा साथीभाइसंग सगै प्रचारमा हिडडुल गर्नुपर्ने हुन्छ । भोक लाग्छ सामान्य नास्ता त खुवाउनु पर्यो । पैसा आवश्यक नै पर्दैन भन्न खोजिएको पनि होइन । तर अनावश्यक फजुल खर्च गरेर पैसाले भोट किनेर विकृति फैलाउनु गलत हो ।

सहिलाई सहि र गलतलाई गलत छुट्याउने जिम्मा तपाई पठक वर्गको हो । तसर्थ भन्न के खोजिएको हो भने काम गर्ने क्षमता नै नभएको क्तिलाई स्थानीय निकायको बैशाख ३१ गते हुने चुनावमा पैसाको भरमा अनावश्यक फजुल खर्च गरी खुवाउने पियाउने गरी जितायौ भने त्यसको फल खाने पनि हामी मतदाता नै हो ।

त्यसकारण हामीले कस्तो रुप रोप्ने र कस्तो फल खाने भन्ने कुरा हामीमा नै भर पर्ने छ । माथि भनिए जस्तो ति मुस्लिम महिला काम गर्न सक्ने छन तर पैसाका कारण अध्यक्ष पदमा उठ्न नपाएको हो भने यसमा पुनर्विचारगरिनु पर्दछ ।

कुरा महिलाको मात्र होइन पुरुषको पनि उहि हो । यसरी तिमीसंग पैसा छैन तिमी चुनाव लड्न सक्दैनौ भन्ने प्रश्न महिलालाई मात्र होइन पुरुषलाई पनि आउछ । काम गर्नसक्ने क्षमता भएका पुरुष पनि पैसाका कारण पछाडि हट्नु परेका थुप्रै उदाहरण हरु छन् ।

२०बर्ष पछि हुन लागेको स्थानीय निकायको चुनावमा धेरै उथलपुथल भइ सकेको छ । चुनावमा उठ्ने रहर धेरैलाइ जागेको छ । तर कस्तो व्यक्तिलाइ भोट खसाल्ने भन्ने त मतदाताको इच्छाको कुरा हो । जो व्यक्ति समाजमा केहि गर्न सक्छ । जनताको सेवागर्न सक्ने, निस्वार्थी भावको,निष्पक्ष रहेर काम गर्न सक्ने, जनताको हितमा काम गर्ने व्यक्ति, विकासको काम गर्ने व्यक्ति जनताले चाहेका छन् ।

तर चुनावमा केहि विकृति पक्का पनि फैलिएको छ व्यक्ति जतिसुकै चरित्रवान, जनसेवाको भावना बोकेको छ भने पनि उ संग पैसा छैन भने उ चुनाव लड्न सक्दैन । कति त आवश्यकता पनि होला । तर आवश्यकता भन्दा बढि फजुल खर्च गरेर चुनाव जितेर पनि उ व्यक्तिले पछि गएर जनभावना बुझेर काम गर्न सकेन भने जनतालाई पछुतो हुन्छ ।

चुनाव लड्न पैसा त पुरुषलाई पनि चाहिन्छ तर महिला आर्थिक रुपले कमजोर भएका कारण पुरुष सरह आर्थिक निकाल्न नसक्लान शारीरिक श्रम त गर्न सक्छन नि ? क्षमता भएका व्यक्ति महिला वा पुरुष जो भए पनि क्षमतावान देख्न सक्नु पर्यो ।

अर्की एकजना महिलाले भन्नु भयो स्थानिय निकायको चुनावमा प्रमुख उप प्रमुख महिलालाइ भनेता पनि एउटा सीट महिलाका लागि ग्यारेन्टी नगरेका कारण प्रमुख वा उपप्रमुखमा महिला आउने चान्स कम छ है । घर चलाउने महिलाले देश चलाउन सक्छन, वडा, गाउपालिका र नगरपालिकामा नेतृत्व गर्न सक्छन भन्ने सोच नै छैन । अझ नढाटेर भन्नु पर्दा महिलाको नेतृत्व सहज स्वीकार्न सक्ने हाम्रो समाज भइसकेको छैन । महिलाले नेतृत्व गरेको पितृसत्तात्मक सोच बोकेका व्यक्तिलाई कदापी मन पर्दैन ।

महिलाले नेतृत्व गर्न नपाउनुको कारण पैसामात्र पनि होइन पितृसत्तात्मक सोच बोकेको समाज पनि दोषी छ । महिलाले काम गर्न सक्दैनन् भनि महिलालाई कमजोर सावित गरिन्छ ।

तर समय परिस्थितिले ठ्याक्कै उल्टो बनाएको छ । महिलाले जिम्मेवारी लिए भने इमान्दारी का साथ काम गरेर देखाउछन है भन्ने पनि सावित भएको छ । राष्ट्रपति महिला, प्रधान न्यायधिश महिला, सभामुख महिला, हाल आएर उद्योग बाणिज्य महासंघको प्रमुख पनि महिला भएका छन् ।

यसले राष्ट्रको प्रमुख भुमिका खेल्ने ठाउँमा न्याय दिने ठाउँमा,देशको शासन चलाउने ठाउँमा र व्यापार व्यवसाय गरी आर्थिक कमाउने ठाउँको नेतृत्व महिलाले समाली सकेका छन् । देशका ४स्थानमा प्रमुख पदमा महिला भएका छन् । प्रमुख पदमा पुग्नु मात्र पनि ठूलो कुरा होइन महिलामैत्री वातावरण र्सजना गरी नीति निर्माण गर्न सक्नु पर्दछ ।
४ जना महिला राष्ट्रका प्रमुख भए अब महिलालाइ के चाहियो र भन्ने गरेका पनि सुन्नमा आउछ । ४जना महिलाले के परिवर्तन ल्याउनछन हेर्न त बाँकी नै छ ।

अझ भन्नु पर्दा हाम्रो बाँके जिल्लाकी चेली भवानी राणा उद्योग वाणिज्य संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भइ चौथो नम्वरमा पर्नुले हामी बाँकेवासी महिलाको शिर ठाडो भएको छ । इतिहासमा पहिलोपटक ४ जना महिलाले प्रमुख पदको जिम्मेवारी लिएका छन् । अब स्थानीय निकायको ७४४वटा तहमा कति महिला प्रमुख र उप प्रमुखमा, वडाका अध्यक्षमा आउछन हेर्न बाकी छ ।

प्रत्येक वडामा २ जना महिला अनिवार्य भनेका कारण १३हजार ८ सय २७जना महिलाले त पक्का पनि नेतृत्व गर्न पाउने छन् यो त कोटा सुनिश्चित छ । तर, प्रमुख र उप प्रमुखमा वा भनेका कारण आउन पनि सक्ने नआउन पनि सक्ने उधारो कुरा भयो भन्ने गुनासो पनि उत्तिकै आएको छ ।

कुरा यति मात्र होइन चुनाव लड्ने व्यक्तिले हो वा पैसाले हो विश्लेषण गर्न जरुरी छ । यदि पैसाले चुनाव लड्ने हो भने एक बोरा पैसाको पोको राखेर चुनाव लडाउनु पर्यो यदि चुनाव लड्ने व्यक्तिले हो भनेको व्यक्ति काम गर्न सक्छ र को व्यक्तिले सक्दैन भन्ने छान्ने जिम्मा मतदातालाइ दिनु पर्दछ । चुनाव जित्ने आधार भनेको पैसा होइन मतदाता हो ।

यदि चुनाव जित्ने आधार पैसालाई मानियो भने ५बर्ष पछुताउनु शिवाय केहि हुने छैन । पैसाको पोकोले चुनाव जित्ने हो भने व्यक्तिको किन आवश्यकता पर्यो र ? अहिले पैसाको बलमा जोपनि व्यक्तिले चुनाव जित्न सक्लान तर पछि गएर ती व्यक्तिले जनआकांक्ष बझ्न सकेन, जनभावना अनुसार काम गर्न सकेन भने के हुन्छ ? भन्ने कुरा अहिले नै मतदाताले बझ्न जरुरी छ ।

आगे चेते, चेते नाइ, पाछे चेते होते नाइ, भने झै (अगाडी नसोच्ने पछि काम विग्रे पछि चेत खाएर चेतना जागेर ह“ुदैन) अहिले सहि व्यक्ति चिनेर भोट हाल्न सकिएन भने ५बर्षसम्म पछुताउनु सिवाय केहि हुदैन ।

बैशाद ३१ गते हुने स्थानीय तहको निर्वाचनमा कस्ता व्यक्तिलाई मतदान गर्ने ? मतदाताको हातको कुरा हो । त्यसकारण प्रत्येक टोलटोलमा पुगेर मतदाता शिक्षा संचालन गर्न जरुरी छ । ३ फिट लामो मतामत्रमा ७ ठाउँमा मतदान गर्नु पर्ने हुन्छ । यदि कोहिले ७ को ठाउँमा ८ गरेपनि त्यो मतपत्र रद्द हुन सक्छ । ७ जनालइ मतदान गर्नु पर्नेमा ५ वा ६ मात्र भयो भने पनि कोहि व्यक्तिको मत घट्न हुन्छ ।

मतपत्रको पहिलो लाइनमा प्रमुख वा अध्यक्ष पदको लागि मतदान गर्ने, दोस्रोमा उपाध्यक्ष वा उपप्रमुखलाइ मतदान गर्ने,तेस्रोमा वडा अध्यक्षको लागि मतदान गर्ने, चौथोमा महिला वडा सदस्यको लागि मतदान गर्ने,पाचौमा दलित अल्पसंख्यक महिलाको निम्ति मतदान गर्ने, छैठौ र सातौमा २जना सदस्यको लागि मतदान गर्नु पर्दछ । यसरी जम्मा ७ स्थानमा स्वस्तीक छाप लगाउनु पर्ने हुन्छ । कुनैपनि आर्थिक प्रलोभनमा नपरी निष्पक्ष भावले जनप्रेमी व्यक्तिलाइ मतदान गर्नु पर्दछ ।

त्यसकारण प्रत्येक मतदाताले मतदान केन्द्रमा जानु पूर्व अपनाउनु पर्ने सावधानी अपनाउन जरुरी छ । मतदान केन्दमा जादा छुटाउनै नहुने सामाग्री भनेको मतदाता परिचय पत्र हो ।

तसर्थ मतदान स्थलमा जादा मतपत्र कस्ता हुन्छन, कति ठाउँमा मत खसाल्नु पर्दछ, मतदान कसरी गर्ने,मत पत्र कसरी पट्याउने, कुन कुन उम्मेदवारलाई भोट कसरी दिने हो जस्ता कुराको जानकारी लिएर गएमा मतदान केन्द्रमा पुगेर मत खसाल्ने बेलमा कसरी मतदान गर्ने होला भनि अलमलमा पर्नु पर्दैन ।

तसर्थ चुनाव लड्ने पैसाले होइन व्यक्तिले हो भन्ने सोच राखी जनप्रेमी, विकासपे्रमी, चरित्रवान, नैतिकवान, निष्ठावान,आर्थिकमा नमुछिएको व्यक्ति, कुनै पनि देशद्रोहको आरोप नलागेको व्यक्ति, स्वाच्छ छवी भएको व्यक्ति, क्रियाशिल व्यक्ति छनौट गरी आगामी बैशाख ३१ गते हुने स्थानीय निकायको चुनावमा मतदान गरौ ।

उम्मेदवारी छनौटको समयदेखि मतदान गर्ने समयसम्म व्यक्तिछनौट गर्दा पैसावाला मात्र नहेरी क्षमतावान व्यक्तिहेरी छनौट गर्ने हो भने ति मुस्लिम महिलाले भोगे जस्तो नियति अरु व्यक्तिले भोग्न नपार्ला कि ?

प्रतिक्रिया

प्रतिक्रिया