कागेश्वर मनोहरा नगरपालिका-१ गागलफेदी बस्ने प्रहरी नायव निरीक्षक प्रभाकर
खड्काको घरबाट पेस्तोल १ थान, म्याग्जिन १ थान र सोको गोली ७ राउण्ड चोरी गरेको
घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुली गोलन्जार गाउँपालिका-४ घर भई काठमाडौं गोकर्णेश्वर
नगरपालिका-५ नारायणटार डेरा गरी बस्ने २४ वर्षीय मेघ बहादुर तामाङ र सिन्धुपाल्चोक
त्रिपुरासुन्दरी गाउँपालिका-४ घर भई काठमाडौं तारकेश्वर नगरपालिका फुटुङ डेरा गरी बस्ने
२४ वर्षीय बासुदेव थामी रहेका छन् ।
प्रहरी नायव निरीक्षक खड्काको घरबाट गत असार ३१ गते राति उक्त हतियार चोरी
भएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट
खटिएको प्रहरीले खोजी तथा अनुसन्धानको क्रममा तामाङको डेरा कोठाबाट उक्त हतियार,
मोबाइल ५ थान र नगद ६० हजार रुपैयाँसहित तामाङलाई पक्राउ गरेको र थप
अनुसन्धानको क्रममा उनकै भान्जा पर्ने थामीले उक्त हतियार राख्न दिएको खुल्न आएपछि
थामीलाई समेत तारकेश्वर फुटुङबाट पक्राउ गरेको हो ।
उनीहरूउपर चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप
अनुमति लिई प्रहरी वृत्त बौद्धबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।