जानकीमा आगलागी, पालिकाको राहत

बाँकेको जानकी गाउँपालिका वडा नम्वर ५ बकसपुरमा सोमवार आगलागी हुँदा चमारन टोलका चार वटा घरमा पूर्णरुपमा क्षतिग्रस्त भएको छ । चार घरमा पूर्णरुपमा क्षति हुँदा ८ घरपरिवार विस्थापित भएका छन् ।


थप दुई घरमा सामान्य क्षति भएको घटनामा दुई वटा बाख्रा र केही कुखुरा आगोले जलेर मरेको स्थानीयले जनाएका छन् ।
आगलागी नियन्त्रणका लागि नेपालगन्ज उपमहानगरपालिकाबाट २ र कोहलपुर नगरपालिकाबाट एउटा दमकल पुगेका थिए ।

आगोको खरानी बाहिर फाल्न जाँदा त्यसैबाट आगो लागेको वडा नम्वर ५ का वडा अध्यक्ष टिकानाथ यादवले बताए । उनका अनुसार, विहान ११ बजे सुरु भएको आगलागी ४ बजेतिर नियन्त्रणमा आएको थियो ।


आगो नियन्त्रणमा आउनासाथ गाउँपालिकाले पीडितलाई राहत प्रदान गरेको जानएको छ । विस्थापित घरपरिवारलाई २५ केजी चामल, अरहरको दाल ५ केजी, २ प्याकेट नुन, तेल ५ लिटर, आलु १० केजी, बेसार, खुर्सानी एक–एक प्याकेट, त्रिपाल एकएक थान, भुजा १ प्याकेट र चिनी १ केजी १५ दिनलाई पुग्ने गरी राहत वितरण गरिएको पालिका प्रवक्तासमेत रहेका यादवले बताए ।


गाउँपालिका अध्यक्ष छब्बन खाँ राहत प्रदान गर्न पुगेका थिए । उनीसँगै घटनास्थलमा उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, विपद व्यवस्थापन समितिका संयोजक राजेन्द्र सिंह, पालिकाका परामर्शदाता शोहराव दर्जी लगायत कर्मचारीहरु समेत पुगेको पालिकाका प्रेस सल्लाहकार रविन्द्र घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया