पाँच दिनसम्म चल्ने शिविरमा शिविरमा योग, ध्यान, प्राणायाम, अध्यात्मिक ज्ञान, मनोरञ्जनमूलक खेल, सत्सङ आयोजना गरिंदैछन् ।

बाँकेको एउटा बालसुधार गृहमा पाँच दिने योग शिविर सञ्चालन सुरु गरिएको छ । डुडुवा गाउँपालिका–६ स्थित जयेन्दु बाल सुधार गृहमा शुक्रवार योग शिविर सुरु गरिएको हो ।
जयेन्दु बाल सुधार गृहको समन्वयमा द आर्ट अफ लिभिङ नेपालगन्जले पाँच दिने नव चेतना शिविर सञ्चालन गरेको जनाइएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र प्रिजन फाउण्डेसनको सहयोगमा शिविर आयोजना भएको हो ।
१९ जेष्ठ २०७९ मा द आर्ट अफ लिभिङले जयेन्दु बाल सुधार गृहमा ‘डिभाइन सेसन विथ स्वामीजी’ विषयक कार्यक्रम गरेको थियो । त्यसक्रममा भारत बैंग्लोर आश्रमबाट आएका स्वामी पूर्णतेज र द आर्ट अफ लिभिङ नेपालकी कन्ट्री को–अर्डिनेटर मिखा माथेमाले योग शिविर आयोजना गर्ने प्रतिबद्धता जनाए अनुसार नै नव चेतना शिविर सञ्चालन गरिएको आर्ट अफ लिभिङका स्वयंसेवक शंकरप्रसाद खनालले जानकारी दिए । स्वयंसेवकद्वय खनाल र सुधीर गौतमले शिविरमा सहजीकरण गरिरहेका छन् ।
शिविरमा योग, ध्यान, प्राणायाम, अध्यात्मिक ज्ञान, मनोरञ्जनमूलक खेल, सत्सङ, सेवाका कार्यक्रमहरु सञ्चालन हुनेछन् ।
सुधार केन्द्रकी इन्चार्ज विमला काउचाले बाल सुधार गृहमा बसेका बालकलाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्न योग शिविर सञ्चालन गरिएको बताइन् । उनले भनिन्, ‘यो सुधार गृह तपाईहरुको लागि होस्टेल हो ।
यहाँ शिक्षा, खेलकुद, मनोञ्जनका साथै योग, ध्यान र ज्ञानका साथै सीपमूलक तालिम सञ्चालन गरेर तपाईहरुमा रहेको क्षमता उजागर गर्ने र क्षमता अभिवृद्धि गर्र्ने काम हुनेछ ।’ आयोजकका अनुसार, शिविरमा १२–१८ वर्ष उमेर समूहका ६८ जना बालकहरु सहभागी भएका छन् ।