खजुरा गाउँपालिकाका घरविहीन विपन्न अहिले दंग छन् । दंग पनि किन नहुन्, खजुरा गाउँपालिकाले दुई चरणमा घर बनाएर घरविहीनलाई चिटिक्क परेको घर दिएको छ । खानेपानी, बिजुली र शौचालय सुविधा सहितका घर जनप्रतिनिधि आएपछि कार्यान्वयनमा आएको हो ।
खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति खजुरामा कोहीपनि आवासविहीन नहोउन् भन्ने ध्येयले घर विहीनका लागि घर बनाउने कार्यक्रम ल्याएको बताउँछन् । उनले उक्त कार्यक्रमले आगामी दिनमा पनि निरन्तरता पाउनु पर्ने धारणा राख्दै संघ र प्रदेशसँगको निरन्तर समन्वय विपन्नको उत्थानमा आवश्यक रहेको बताए ।
गाउँपालिकामा घर विहीनले बस्ने व्यवस्थित घर पाएपछि उनीहरुमा खुशी देख्न सकिन्छ । खजुरा गाउँपालिकाले पहिलो चरणमा २५ वटा घर बनाएर विपन्नलाई वितरण गरेको थियो । ‘स्थानीय सरकार स्थानीय नागरिकको हो भन्ने भावना जगाउन यस्ता कार्य निकै महत्वपूर्ण हुन्छन्’, पालिका अध्यक्ष कक्षपति भन्छन् ।
खजुरा गाउँपालिकाले दोस्रो चरणमा थप १६ घर वितरण गर्यो । आवश्यकता अनुसार घर बनाउँदै जाने पालिकाको योजना छ । थप ५ घर खजुरामा बनेको अवस्था छ ।
‘घरको सपना गाउँपालिकाले पूरा गरेको छ’, घर पाउनेहरु भन्छन्, ‘चिटिक्क परेको व्यवस्थित घर पाएका छौं ।’ ती मध्ये एक हुन्, रुक्सार हलवाई । उनले तीन कोठाको घर पाएको बताउँछिन् । ‘हामीले स्थानीय तहबाट घर पाउँछौं भन्ने सोचेका थिएनौं’, उनी भन्छिन् ।
खजुरा गाउँपालिकामा तराई मधेस समृद्धि कार्यक्रम अन्र्तगत घर विहीन विपन्नका लागि निर्माण गरेको सुविधायुक्त सामूहिक आवास क्षेत्रमा अति विपन्नलाई खोजेर राख्न थालेको हो ।
गरिबलाई वितरण गरेका सबै घरमा खानेपानी, बिजुली र शौचालयको व्यवस्था गरिएको छ । उक्त सामूहिक आवास क्षेत्रसम्म आउजाउ गर्ने फराकिलो सडकसमेत निर्माण गरिएको छ ।
‘जो खजुरामा क्षेत्रमा बस्छ, जसको घर छैन उनीहरुका लागि घरबास दिइएको हो,’ गाउँपालिकाका अध्यक्ष कक्षपतिले भने, ‘यहाँ निःशुल्क बस्न दिने हो । घर नामसारी भने हुँदैन, तर अन्त घर नबनाउँदा सम्म घरमा बस्न पाइन्छ ।’
खजुरा गाउँपालिकाका योजना अधिकृत दिलबहादुर पौडेलले घरका बस्न चाहनको लागि निश्चित मापदण्ड रहेको बताउँछन् । ‘५ वर्षदेखि खजुरामा स्थायी बसोबास गरेको, आफू र परिवारको नाममा घरजग्गा नभएको, ज्याला मजदुरी गरेर खाने व्यक्तिले सामूहिक आवासमा बस्न पाउँछन्’, उनी भन्छन्, ‘सोही मापदण्ड अनुसार घर वितरण गरिएको छ ।’
खुला आकाशमूनि टेन्ट गाडेर बसेका, कतै बारेर मात्रै बसेका, भाडामा एउटा सानो कोठामा गुजारा गरेकाका लागि घर निकै लाभकारी भएका छन् । ‘भाडा तिर्नु पर्दैन, यसले धेरै सहयोग पुग्छ’, घर पाउने व्यक्ति भन्छन्, ‘दैनिक काम गरेर गर्जो त टारिरहेका छौं ।’ उनीहरु घरसम्म पुग्न बाटो, पानी र बत्तीको समेत सुविधाले सहज भएको बताउँछन् ।
खजुरा घर तयार गरेपछि आवश्यक भएका व्यक्तिसँग आवेदन माग गरेको थियो । सोही आवेदन छानबिन गरेर घर उपलब्ध गराएको खजुराले आगामी दिनमा पनि आवास कार्यक्रमले प्राथमिकता पाउने बताउँदै आएको छ ।