सामुदायिक रेडियोको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल, नेपालगन्जस्थित रेडियो कृष्णसार एफएम ९४ मेगाहर्ज आज सोमवार १४ औं वर्षमा प्रवेश गरेको छ । चैत्र १४ गते १४औं वर्ष प्रवेश गरेको अबसरमा एफएमले ‘नेपालगन्जका १४ सम्भावना’ विषयमा वृहद ‘लाइभ’ छलफल संचालन गर्न लागेको कार्यकारी प्रमुख तुला अधिकारीले जानकारी दिए ।
‘प्रतिनिधिमुलक सहभागिताका साथ १४ सवालमा छलफल गरी १४ सम्भावना पहिचान गर्ने उद्देश्य हो,’ कार्यकारी प्रमुख अधिकारीले दैनिक नेपालगन्जसँग भने, ‘छलफल पछि यस विषयमा थप परिस्कार गरी सम्बद्ध निकाय समक्ष कार्यान्वयनका लागि पहल गरिने छ ।’
महामारी लगायतका प्रतिकुलताहरू चिर्दै सूचना प्रवाहमा निरन्तर खटिएका प्रशंग सुनाउँदै अधिकारीले आगामी दिनमा पनि सामुदायिक रेडियोको असल र जिम्मेवार प्रयासमा कहिल्यै पनि सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन् । कार्यकारी प्रमुख अधिकारीको सन्देशमा भनिएको छ, ‘कोरोना महामारी सकिए संगै फेरि पहिलेझैं वृहद आमसहभागिता र सहकार्यका प्रयास सुरू गर्नेछौं ।’
२०६५ साल चैत्र १४ गते वेलुका ६ बजेर ५५ मिनेटबाट प्रसारण सुरु गरेको कृष्णसार एफएमले आज चैत्र १४ गते १४ औं वर्ष प्रवेश गर्दैछ ।
नेपालगन्जको मिडिया अभ्यासमा सबै भन्दा बढि स्रोत साधन र जनशक्तिका साथ स्थानीय कन्टेन्टमा काम गर्ने मिडियाका रुपमा कृष्णसार एफएमले पहिचान बनाएको छ । कृष्णसार जत्तिकै तेज स्लोगानका साथ १४ वर्ष अघि समुदायका लागि सञ्चार अभियान नेपालद्वारा स्थापित कृष्णसार एफएमले अरु भन्दा भिन्न र अरु भन्दा अघिको पहिचान बनाएको छ ।
२ हजार वाट क्षमताको अत्याधुनिक डिजिटल ट्रान्समिटरबाट प्रसारण सेवा दिइरहेको यस क्षेत्रकै सबै भन्दा बढि प्रसारण क्षमताको सामुदायिक रेडियो कृष्णसार एफएम यस क्षेत्रकै सर्वाधिक लोकप्रिय रेडियोको रुपमा रहेको सर्वेक्षणले देखाएको छ ।