क्रान्ति भन्ने बित्तिकै नेपालीहरुले छिट्टै बुझ्ने भनेको, विचार नमिलेका मान्छेका टाउका काट्ने, टायर बाल्ने, आगो लगाउने, नीजि तथा सार्वजनिक सम्पत्ति तोडफोड गर्ने, कसैका घाँटी रेट्ने, सडकका पेटीमा बिछाइएका टायल र पर्खालका इंटा उक्काएर प्रहरीलाई हान्ने, प्रहरीलाई भाटा हान्ने मार्ने, बम पड्काउने, चन्दा आतंक मचाएर गरिखाने वर्ग, रोजगारदाताहरुलाई र राष्ट्रिय पूजिपतिवर्गलाई त्रसित बनाउने, विदेशीहरुका लागि नेपाली बजार खोलिदिने, चन्दा लिएर सबैथोक चोख्याउने, विचारलाई निषेध गर्ने, विदेशीसँग साँठगाँठ गरेर राज्यविरुद्धका काम गर्ने, आफ्नोे मौलिकता मासेर विदेशीका धर्मसँस्कृति भाषा सभ्यतालाई नेपालको विकासको लागि भन्दै वकालत गर्ने आदि इत्यादि भन्ने मात्रै बुझेको पाइन्छ । यो सब गर्ने वा गर्न लगाउने राजनीतिक विचार, पार्टी, व्यक्तिलाई महान क्रान्तिकारी भन्ने न्यारेटिभ नै तयार गरिएको छ । बिगतको ७० बर्षमा र अझ खासगरि बिगत ५० बर्षमा नेपाली क्रान्तिको परिभाषा यो भन्दा भिन्न भएको छैन । वास्तवमा क्रान्तिको यो बुझाइ भनेको नेपालीहरुको वैचारिक दिवालियापन मात्रै हो ।

कतिपयले हरेक कुरालाई क्रान्तिसँग जोड्ने गरेको पनि पाइन्छ । भैरहेको संरचना र कामलाई मास्नुलाई पनि क्रान्ति भन्ने गरेको पाइन्छ । कतिले त क्रान्ति भन्दा निकै प्रगतिशील भइने भनेर पनि क्रान्ति क्रान्ति भन्ने गरेका पनि छन् । कतिले राजनीति गर्ने कुनै मौलिक एजेण्डा नै नभएका कारण यस्तै कुरालाई क्रान्ति भन्ने गरेका छन् । नेपाल र नेपालीको लागि वास्तवमा यी कुनैपनि कुराले क्रान्तिको वास्तविक अर्थ राख्न सक्दैन भन्नेकुरा अब पनि बुझ्न बिलम्ब गर्नुहुँदैन ।

क्रान्ति भन्ने शब्दको शाब्दिक अथर्, कुनैपनि कुरामा अचानक आउने आमूल परिवर्तन हो । संगठित रुपमा वा धेरै संख्यामा तीव्र तरिकाले अचानक कुनै परिवर्तन आउँछ भने त्यसलाई क्रान्ति भएको भन्ने शाब्दिक अर्थ रहेको छ । अस्फोर्ड अँग्रेजी शब्दकोषका अनुसार ‘जनताको अधिक संख्याले हिंसाद्धारा राज्य परिवर्तन गर्नुलाइर्‘ क्रान्ति भनेको छ । अक्सफोर्ट भनेको यूरोपियनहरुको व्याख्या हो । नेपालीमा क्रान्ति भन्ने शब्द, परापूर्वकाल देखि नै वैदिक परम्परा र हजारौं हजार बर्ष पहिलाबाटै ज्योतिष शास्त्र, खगोल विज्ञानको क्षेत्रमा समेत प्रयोग गरिएको पाइन्छ । पश्चिमा जगतमा भने क्रान्ति भन्ने शब्दको पहिलोपटक सन १६८८ मा राजनीतिक रुपमा प्रयोग भएको हो । यस हिसाबले क्रान्ति हाम्रो स्थानमा सबैभन्दा पहिला प्रयोग भएको शब्द हो भन्ने आधार रहेको छ । यसलाई पश्चिमाहरु वा अक्सफोर्ट आदिको सहयोगले बुझ्न र व्याख्या गर्न कुनै जरुरी छैन ।

क्रान्ति भन्ने शब्द आफैमा अति महत्वपूर्ण र बहुआयामी भएता पनि यसको प्रयोेग वर्तमान नेपालमा राजनीतिक रुपमा मात्रै भएको छ । राजनीतिक पार्टीहरुले क्रान्ति भन्ने शब्दलाई नितान्त पेवाको रुपमा प्रयोग गर्ने अझ बिशेष गरेर वामपन्थीहरुले यसलाई आफ्नो ब्रान्डको रुपमा प्रयोग गर्ने गरेका छन् ।

वर्तमानमा,नेपाल उसैपनि विदेशीहरुले सधैंभरि चलखेल गरिरहेको देशको रुपमा संसारभर प्रख्यात भएको छ । यहाँका जनताहरुको दिलोदिमागमा राजनीतिक पार्टीहरुले यस्तो न्यारेटिभ स्थापित गरिदिएका छन् कि ‘नेपाल गरिब हो, नेपालले आफै केहिपनि गर्नै सक्दैन् । हाम्रा पूर्खाहरु सबै मूर्ख थिए, असभ्य थिए, ज्ञान भनेको नै खैरेहरुले मात्रै जानेको छ । उनीहरुको सिको गरे मात्रै सभ्य भइन्छ । नेपाली त हातधुन पनि जानेको छैन, खान पनि जानेको छैन,’ आदि इत्यादि । के के हो के के ? यो न्यारेटिभका कारण नेपाली दिमाग नै पश्चिमाहरुको दासताबाट ग्रसित भएको छ ।

जबकि आज पनि ती पश्चिमाहरुले आफ्नो आसन धुन आवश्यक नै ठान्दैनन् । कागजले पुछेर हिँड्ने, प्लास्टिकमा खाने, अर्काले पकाएर पोको पारेर दिएको खाने बाहेक आम रुपमा तिनीहरुले खानपनि जानेका छैनन् जस्तो छ । त्यस्ताले नेपालीको बारेमा भन्नु र यहाँकाले टपक्कै पत्याएर आफ्नो हेलोहोँचो गर्नु भनेको आफैलाई नचिन्नु मात्रै हो ।

हामीले नौ ग्रह, सूर्य चन्द्रको गति र पृथ्वीमा त्यसको प्रभाव र ग्रहण, ताराहरुको चलायमान र यसले पृथ्वीमा पार्ने प्रभाव आदि खगोलिय ज्ञान प्राप्त गर्दा पश्चिमाहरु जङ्गली अवस्थामा थिए । ज्ञानको दिव्य पूस्तक वेदको रचना गर्दा उनीहरु गवार अवस्थामा थिए । हामीले ८४ व्यञ्जनका आनन्द लिँदा उनीहरु काँचो मासुको भरमा बाँच्न बाध्य थिए । हामीले अतिथि देवो भवः भन्दै गर्दा पश्चिमाहरु एकअर्काको लुछेर बाँच्ने प्रयास गर्दै थिए । हामीले राज्य र राजधर्म निर्धारण गरिसक्दा उनीहरु कबिलाई रुपमा झगडा गर्दै थिए । हामीले अर्थशास्त्र तयार गर्दा उनीहरु रुखका पात बेरेर लाज ढोग्दै थिए । हामीले गुरुकुल र विश्वविद्यालय चलाइसक्दा पश्चिमाहरुले धर्का तान्नसम्म जानेका थिएनन् । हामीले आर्युवेदबाट उपचार गर्दा र ओखतीजन्य वनस्पति पत्ता लगाएर त्यसको संरक्षणको ज्ञान पुस्ता हस्तान्तरण गरिसक्दा पश्चिमाहरु हाम्रो ज्ञान चोर्न ढुङ्गाको हतियार बनाउँदै थिए । तर आज हामी अनपढ, गवाँर, हाम्रा ज्ञानहरुलाई चोरेर प्रयोग गरि यहाँसम्म पुग्नेहरु भने गतिला ?यो कसरी हुनसक्छ ?

हामीले आज मात्रै गल्ती गरिरहेका छैनौं । हाम्रा पूर्खाले पनि केहि गल्ती अवश्य गरे । हाम्रो त्यो ज्ञानको भण्डारलाई यथोचित तरिकाले नयाँ पुस्तालाई हस्तान्तरण गरेनन् । त्यो ज्ञानको जीवनमा स्थितिगत्यात्मकताका साथ प्रयोग गरेनन् । ज्ञानको शुत्रवत तरिकाले अभिलेखिकरण गर्दै त्यसको अर्थापन गराएनन् । मेरा सन्ततिले आफै खोजेर बुझोस् ताकि त्यो अमिट बनेर जाओस् भन्ने कामना राख्दै गर्दा सन्ततिले भन्दा पनि केहि पश्चिमा फिरङ्गीहरुले छिनेर लगिदिए ।


यो गल्तीको आजसम्म पनि हामीले दुख भोगिरहेका मात्रै छैनौं हाम्रै कुराको तिरो उनीहरुलाई तिरेर उनीहरु कै गुणगानमा मस्त बनेका छौं । तथापि ज्ञानको प्रसार जसले गर्नसक्यो उसलाई साधुवाद नै दिउँ । विज्ञानको बुद्धिलाई प्रविधिमा ढालेर संसार उज्यालो बनाउने हदसम्मको कुनै सिकायत होइन । तर त्यो विज्ञान र प्रविधीलाई धर्मको विवेकहीनताका साथ प्रयोग गर्दा भएको सहृदयताको सम्बन्धमा आएको खटासलाई नजरअन्दाज भने गर्नै मिल्दैन ।

आज हामीहरु, क्रान्तिको नाममा हाम्रा सीपहरुलाई मासेर विदेशी समान बजार बन्यौं । हाम्रा अन्न भण्डारहरु बाँझो राखेर उनीहरु कै खेताला बन्न पाउँदा गर्व गरिरहेका छौं । आफ्नो तनमन नङ्याएर सभ्यताका कुरा गरिरहेका छौं । आफ्नो धर्म सँस्कार सँस्कृतिलाई पाखण्ड भनेर गाली गर्दै पश्चिमाहरुका धर्म संस्कार सँस्कृति अँगालेर क्रान्तिकारी र प्रगतिशील बनेको ढोंङ रचिरहेका छौं ।

हाम्रो चुक यहिँ भएको छ । राष्ट्रको परिचय अमुक जात क्षेत्र वा कित्ताबाट दिएर एउटा सरहदभित्र रहेको सिङ्गो भूमिको अपमान गरिरहेका छौं । आफ्नो मातृभाषालाई बिर्सेर अर्काको भाषा सिक्न पैसा तिर्दा खुशी भएका छौं । आफ्नो मौलिकतालाई विकासको बाधक भनेर निकै विकासप्रेमि भएको अभिमान गरेका छौं ।

यी तमाम कुराहरुमा र हाम्रा व्यवहारहरुमा कहिँ कतैपनि राष्ट्र सर्वोपरि छैन । न त राष्ट्रोदयको क्रान्ति नै छ ।देशलाई, आफ्नो मौलिकतालाई, आफ्नो भाषा सँस्कृतिलाई, आफ्नो देशको मूल कुल धर्म सभ्यतालाई सर्वोपरि नराखिकन गरिने जुनसुकै काम अर्थहीन नै हुन्छ । त्यस्तो कामबाट भएको परिवर्तनलाई क्रान्तिको संज्ञा दिनु भनेको क्रान्ति शब्द कै अपमान हो ।

नेपाल र नेपालीको आफ्नो मास्ने कुकर्मकै कारण देश नरहन पनि सक्छ । नेपालीको परिचय कुनै अमूक जात भएर भएको होइन । यहाँ भएको वैविध्यताले ल्याएको साँस्कृतिक पहिचानले गर्दा नै नेपाल सुन्दर भएको हो । संसारको उत्पत्तिकै केन्द्र, मानव जाति कै उत्पत्तिको केन्द्र, तपोभूमि, ऋषिभूमि, ज्ञानको केन्द्र यो हिमवत्खण्डको केन्द्र भएकोले नै नेपालको पहिचान बिशेष भएको हो । हामिमा भएको विश्वगुरु बन्ने साधन श्रोत र ज्ञानको ल्याकत कै कारण अरुको आँखितारो बनेको हो । यहाँको वैविध्यतामा भएको सहृदयतालाई नभत्काएसम्म अरुको अस्तित्व कुनैपनि बेला खतरामा पर्न सक्ने आँकलनका कारण यहाँ हरेक सदिमा बिभिन्न आक्रमणहरु भएका हुन् ।

बिगत पाँच दशक देखि नेपाल माथि आक्रमणको रुप फेरिएको छ । यहाँको समाजमाथि नेपालबिरोधी बौद्धिकताको आक्रमण भएको छ । यहाँको मूलकुल भाषासँस्कृति सभ्यता र मौलिकता माथि राजनीतिक आक्रमण भएको छ । यहाँको सहृदयता माथि जातिय क्षेत्रिय कित्ताकाट र घृणावादको आक्रमण भएको छ । यहाँको शिक्षा माथि आइएनजिओको आक्रमण भएको छ । हाम्रा शास्त्र माथि शस्त्रको आक्रमण भएको छ । केहि नेपालको अस्मिता बेचेर बुद्धिबिलास गर्नेहरु र आफैलाई गाली गरेर अर्काको साख्खै बन्नेहरुले ती कुरालाई क्रान्तिको भ्रान्ति बनाइरहेका छन् ।

क्रान्ति त यहाँको ज्ञानले प्रचलनमा ल्याएको हो । बिनास होइन सहृदयतालाई, स्थितिगत्यात्मकतालाई क्रान्ति भनिएको हो । राष्ट्रको पुर्नजागरण बीनाको कुनैपनि कुरा क्रान्ति हुनसक्दैन । साँच्चिकै क्रान्ति नै गर्नु छ भने नेपालको पुर्नजागरण गरौं । राष्ट्रोदय गरौं । आजको आवश्यकता नै राष्ट्रोदयको क्रान्तिको हो । राष्ट्रोदय क्रान्ति नै अभूतपूर्व क्रान्ति हो ।

प्रतिक्रिया

प्रतिक्रिया