मानव बेचबिखनविरुद्ध बृहत सचेतना निर्माणका लागि वडास्तरमैं अन्तर पुस्ता संवादलाई तिब्रता दिइएको छ । बाँके युनेस्को क्लबले बालबालिका र युवाहरुका सवाल र सरोकारका बिषयमा बिभिन्न पुस्ता बिचको बुझाई तथा अनुभवहरुको एक आपसमा आदानप्रदान गरी साझा बुझाई कायम गर्न यसखालको संवाद थालेको हो ।

संवादपछि समस्या तथा सवालहरुमा जिम्मेवार निकायहरुको ध्यानाकर्षण गर्नका लागी नेपालगन्ज १२ मा शनिवार संवादको आयोजना गरिएको छ । बाँके युनेस्को क्लबले प्लान नेपालको सहयोगमा संचालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्तरगत नेपालगन्जमा अन्तर पुस्ता संबाद कार्यक्रम गरिएको हो ।
क्लबका प्रमुख संरक्षक प्रबेज अली सिद्धिकीका अनुसार, संवाद कार्यक्रमले वडा तहमा मानव बेचबिखन, बालबालिका र युवाहरुका सरोकार तथा समस्याहरु बारे सबैलाई जानकारी गराएको छ ।
कार्यक्रममा वडा तहमा मानव बेचबिखन, बालबालिका र युवाहरुका सरोकार तथा समस्याहरुमा बालबालिका र युवाहरुका भनाई र धारणा बारे सरोकारवालालाई जानकारी गराइएको प्रमुख संरक्षक सिद्दिकीले जानकारी दिए ।
साझा बुझाई बनाएर जिम्मेवार निकायहरुद्धारा मानव बेचबिखन, बालबालिका र युवाका सरोकारहरुलाई समाधान गर्ने प्रतिबद्धता जनाएको बाँके युनेस्को क्लबका प्रोटेक्ट परियोजना अधिकृत महेश नेपालीले प्रष्ट पारेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ का वडा अध्यक्ष बुद्धिसागर सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु तरुण बज्राचार्य, दिनेशराज पन्त, फुलमति लोहार, चन्दा चिडीमार, वडा सचिव केदार प्रसाद अधिकारी, वडा प्रहरी कार्यलयका मधु बस्नेत र विभिन्न संघ, संस्थाहरुबाट प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
बाँके युनेस्को क्लबका फिल्ड सुपरभाइजर शंकरसिंह थारुले सञ्चालन गरेको कार्यक्रममा सहजकर्ताको भुमिका शंकार प्रसाद न्यौपानेले निभाएका थिए । आयोजकका अनुसार, वडास्तरीय बालअधिकार समिति, वडास्तरीय बालक्लबका अध्यक्ष मनिषा ओली र अन्य बालक्लबका पदाधिकारीहरुको समेत कार्यक्रममा उपस्थिति रहेको थियो ।