विगत १ दशक भन्दा बढी समय देखि नेपालगन्ज क्षेत्रमा चीरपरिचित वेस्र्टन बिजनेस ग्रुपको लगानीमा लुम्बिनी प्रदेश मै पहिलो पटक अत्याधुनिक सुविधा सम्पन्न सपिङ्ग मल संचालनमा आउने भएको छ ।
‘हाल तयारी अवस्थामा रहेको यस मलमा बिभिन्न ब्राण्डका सोरुमहरु, मनोरंजनका साधनहरु र बिषेश गरी बच्चाहरुलाई लक्षित गरि इनडोर गेमिङ्ग जोन रहने छ । यसका अलावा अन्तराष्ट्रिय स्तरको सेलुन, सौना तथा स्पा, फुड कोर्ट समेत रहने छ,’ वेस्र्टन बिजनेस गु्रपका अध्यक्ष संजय थापाले भने, ‘नेपालगन्जमै पहिलो पटक साना तथा महिला उद्यमीलाई लक्षित गरी ससाना स्टलका रुपमा कियोस्स स्टोर अन्यन्तै न्यून भाडादरमा उपलब्ध गराउने लक्ष्य यस मलले लिएको छ ।’
‘मल भनेको किनमेल गर्ने स्थानका रुपमा मात्र नभएर मनोरञ्जन र फुर्सदको समय व्यवस्थित गर्ने स्थान समेत भएकोले सो कुरालाई बिषेश ध्यान दिएर यसका भित्री आकर्षण तथा साजसज्जालाई समेत बिषेश ध्यान दिइने छ । जसलाई हाल चलनमा रहेको सैल्फि प्वाईटका रुपमा पनि लिन सकिने छ,’ वेस्र्टन बिजनेस गु्रपका अध्यक्ष संजय थापाले भने, ‘साथै यस मलमा वेस्र्टन बिजनेस गु्रपकै तर्फबाट वेस्र्टन मार्ट (सुपर मार्केट) समेत संचालनमा आउने छ । यस मलमा मल्टिब्राण्ड मोबाइल तथा ग्याजेट सोरुम, रेस्टुरेन्ट, कफी सप, फेसन सोरुम आदी समेत रहने छन् ।’
अत्याधुनिक सुबिधा सम्पन्न यो मल पुर्ण रुपमा एसी जडित, क्याप्सुल लिफ्ट, यथेष्ठ पार्किङ्गको सुबिधा रहने छ । त्यस्तै मलको बाहिरी भागमा नेपालगंजको स्थानिय स्वादका बिभिन्न परिकारका फुड स्टलहरु समेत रहने ग्रुपले जानकारी दिएको छ ।
हालको यस्तो बिषम परिस्थितीमा निजी क्षेत्रको प्रयासबाट यस खाले लगानी गरेर व्यापार व्यवसाय संचालनमा आउनाले यसले समग्र नेपालगंजको व्यापार व्यवसायलाई पुर्नताजगी दिने बिश्वास लिइएको अध्यक्ष थापा बताउँछन् ।