इस्लाम धर्मको पवित्र महिना रमजान करीमको एक महिना बस्ने रोजाको सुरुआत चाँद (चन्द्रमा) हेरेर तरावीहबाट हुन्छ । भने चाँद देखिएपछि तराबीह सकिन्छ र भोलिपल्ट ईदुलफित्र मनाईन्छ । यो एक महिनाको रोजा कहिले २९ दिनको हुन्छ भने कहिले ३० दिनको यसपालि मुस्लिम समुदायले ३० रोजा बसेका छन् ।

आज बिहीबार चाँद रात भएको हुनाले यो दिन ईदुलफित्रका लागि विशेष तयारीहरु गरिन्छ । महिला तथा बालिकाहरुलाई मेहन्दी लगाईन्छ । ईदका दिन लगाईने नंया लुगा आजै रातिमा आइरन गरिन्छ । जुत्ता चप्पल, चुरा इत्तर तेल आदि सब मिलाएर सबैले सहजै भेट्ने ठांउमा राखिन्छ । ईदका दिन प्रयोग हुने भाडा र घरको सरससफाई गरिन्छ । दिनमा महिलाहरुले सेवाईं बनाउन चाहिने काजु बदाम नरिवल छोवाडा आदि धोइ पखालि काटेर सुकाईकन राखिन्छ ।
दहीबडाका लागि दही दिनमा नै जमाईन्छ । छोयलाका लागि केराउ बिहानै भिजाईन्छ । अनि रातिमा दहीबडा बनाईन्छ सेवाईं भुटेर ठिक्क पारेर राखिन्छ ताकि भोलि बिहान उठ्दा हतार न होस् । कोही कोही त सबै परिकार ईदुलफित्र का दिनमा नै पकाउंछन् । पुरुषहरु दाह्री, कपाल काट्छन् जसका लागि अबेर राति सम्म पसलमा पर्खेर बस्नु पर्छ । यसरी यिनै तयारी र चहलपहल बीच चान्दरात बितेको थाहै हुदैंन् कि कति खेर बिहान भइहाल्छ अर्थात ईदुलफित्रको दिन आइहाल्छ । यसपालिको ईदुलफित्र मिति २०७८ साल वैशाख ३१ गते शुक्रबारका दिन परेको छ ।
यसपटक सबैलाई घरमैं ईद मनाउन अपील गरिएको छ ।