व्यवहार परिवर्तनका लागि अभिमूखिकरण

सामाजिक तथा व्यवहार परिवर्तन सञ्चार अभियानबारे समुदायमा आधारित संस्थाहरुको लागि बाँके युनेस्को क्लबले अभिमुखिकरण तालिम सञ्चालन गरेको छ ।
क्लबले विश्व शिक्षाको आर्थिक सहयोग र एण्टिना फाउन्डेसनको प्राविधिक सहयोगमा बाध्यकारी बालश्रम न्युनीकरणका लागि बाँकेका तीन वटा पालिकामा सञ्चालन गरेको सक्रिय परियोजना अन्तर्गत सो अभिमुखिकरण तालिम दिइएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले जानकारी दिए । दुई दिनसम्म चलेको तालिम शुक्रवार समापनमा संरक्षक सिद्दीकीले नेपालगन्ज उपमहानगरपालिका, डुडुवा र जानकी गाउँपालिकामा सञ्चालन गरिएको सो परियोजनामार्फत सामाजिक व्यवहार परिवर्तन सञ्चार विधिको माध्यमबाट बालश्रम अन्त्यका लागि चेतना फैलाउने कार्यहरु भैरहेको बताए ।


तालिममा नेपालगन्ज र डुडुवाका विभिन्न बाल क्लब संजाल, युवा क्लब संजाल, बाल संरक्षण समिति र नागरिक समाज समुहका १५ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सहभागीहरु मध्येबाट बोल्दै नेपालगन्ज वडा नम्बर १० को बाल क्लब सञ्जालका अध्यक्ष आदित्यसिंह थापा र सोही वडाको वडास्तरीय युवा क्लब सञ्जालका सहसचिव ओजस्वी जोशीले बाल अधिकारबाट वंचित विभिन्न क्षेत्रमा कार्यरत बालश्रमिकहरुको न्युनीकरण र उनीहरुको अधिकार सुनिश्चितताका लागि सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाए ।
क्लबका अध्यक्ष राजेन्द्र चौधरीको अध्यक्षतामा गरिएको तालिम समापन कार्यक्रममा प्रमुख प्रशिक्षक एण्टिना फाउन्डेसनका कार्यक्रम संयोजक अरुण राई, क्लबका उपाध्यक्ष पन्चम गुरुंग, कार्यकारी निर्देशक रवि तुलाधर, सह निर्देशक साजिद अली सिद्दिकी, कार्यक्रम संयोजक गुलाम गौस लगायत सहभागी थिए ।

प्रतिक्रिया

प्रतिक्रिया