नेपाल– चीन पारस्पारिक सहयोग समाजको आगामी नेतृत्वमा प्रेमसागर पौडेलले निरन्तरता पाएका छन् । शनिवार भएको ३४ औं साधारण सभाले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिमा घमानसिंह बस्नेत उपाध्यक्ष, ध्रुब गिरी महासचिव, तोप बहादुर थापा कोषाध्यक्ष र श्याम सुन्दर अधिकारी सचिव चयन भएका छन् । रमेश मल्ल, इश्वर प्रसाद श्रेष्ठ, सजल थापा, ज्ञान बहादुर न्यौपाने, तारा वली, सरता क्षेत्री र सुन्दर गुरुङ सदस्य चयन गरिएको संस्थाले जनाएको छ ।
२०४४ सालमा नेपालमै पहिलो पटक बाँकेमा स्थापना भएको समाजले नेपाल र चीन बिचको सम्बन्ध विस्तार गर्ने, नेपालको कला, संस्कृति, आर्थिक, कृषि, पर्यटन क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको अध्यक्ष पौडेलले बताए ।
साधारणसभा उद्घाटन कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले नेपाल र नेपाल चीन पारस्पारिक सहयोग समाजलाई क्रियाशील बनाउनुपर्नेमा सुझाव दिइन् । चीनबीच सम्बन्ध विस्तार गरी आर्थिक, सामाजिक, पर्यटन क्षेत्रको विकासमा सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले पर्यटन क्षेत्रको विकासका लागि आर्थिक रुपमा सबल बन्नुपर्नेमा जोड दिए । कार्यक्रममा नृत्य निर्देशक सुन्दर गुरुङको संयोजनमा यस क्षेत्रका मौलिक मारुनी, झ्याउरे, तामाङ सेलो लगायतका लोक नृत्य प्रस्तुत गरिएको थियो ।