कोहलपुर नगरपालिका अन्तरगत रहेको उपभोक्ता हित संरक्षण समितिको बैठकले बस्तुको साथै सेवाको गुणस्तरको पनि अनुगमन गर्ने निर्णय गरेको छ ।
कोहलपुर नगरपालिकाका उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक संन्जु कुमारी चौधरीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । समिति बैठकले स्वास्थ्य र शिक्षाको गुणस्तर अभिबृद्धि गर्ने उदेश्यले पहिलो चरणमा ति क्षेत्रका प्रतिधिनिसंग अन्तरक्रिया गर्ने र दोश्रो चरणमा सेवा प्रवाहको अवस्था बारेमा अनुगमन गर्ने निर्णय गरेको समिति संयोजक संन्जु कुमारी चौधरीले बताईन ।
समितिले पारित गरेको कार्ययोजनालाई प्रभावकारी कार्यान्वयन गर्ने, उपभोक्ता शिक्षा बढाउन होडिङ्ग बोर्ड, जनचेतना अभिबृद्धि कार्यक्रम संचालन गर्ने, बिद्यार्थी शिक्षाका कार्यक्रम गर्ने निर्णय गरेको समितिका सदस्य सचिव बीर हादुर बिकेले जानकारी दिए ।
समितिको बैठकमा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य अधिवक्ता बसन्त गौतमले गुणस्तरिय बस्तुका साथै गुणस्तरिय सेवा पाउने उपभोक्ताको अधिकार भएकाले शिक्षा र स्वास्थ्यको गुणस्तर अवस्थाको बारेमा अनुगमन गरि उपभोक्ता ठगि गर्ने उपर कारवाही गर्नु पर्नेमा जोड दिएका थिए । शिक्षामा गुणस्तर खस्कदो छ, दक्ष जनशक्ति भएर पनि सरकारी स्कूलमा राम्रो पढाई हुदैन, निजी बिद्यालयले बिभिन्न बहानामा शुल्क उठाउने गरे पनि सो अनुसार सेवा नभएको, आवश्यक भौतिक पुर्वाधार नगरी बिद्यालय संचालन गर्ने गरेको गौतमले बताए । शिक्षा मात्रै होईन स्वास्थ्य क्षेत्रमा पनि बेतिथि रहेको र उपभोक्ता ठग्ने प्रबृत्ति बढेकाले नियमनकारी निकायको भुमिका प्रभावकारी हुनु पर्नेमा गौतमले जोड दिए ।
कोहलपुर नगरपालिकाका उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक सन्जु कुमारी चौधरीको अध्यक्षता र सदस्य सचिव बीर बहादुर बिकेले संचालन गरेको बैठकमा समितिका सदस्यहरु उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य अधिवक्ता बसन्त गौतम, बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगंजका प्रमुख कृष्ण प्रसाद पौड्याल, इलाका प्रशासन कार्यालय कोहलपुरका प्रशासकिय अधिकृत दिपेन्द्र रावल, कोहलपुर उद्योग बाणिज्य संघका प्रतिनिधि सीता कार्कीको सहभागिता रहेको थियो ।