रुपन्देहीमा बढ्यो निषेधाज्ञा, अझै नचल्ने भो गाडी

ऋषि गैरे/बुटवल ब्यूरो


कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएपछि सरकारले लामो दुरीका गाडी र हवाइ उडान सञ्चालन गर्ने दिन अझै पर सारेको छ । मन्त्रिपरिषद बैठकले लामो दूरीका सवारीसाधन तथा आन्तरिक उडान भदौ मसान्तसम्म स्थगित गरेको हो ।
सरकार सम्बद्ध स्रोतका अनुसार, आइतबार साँझ बालुवाटारमा बसेको बैठकले यसअघिको निर्णय परिमार्जन गरी लामो दूरीका सवारीसाधन र आन्तरिक उडान सारेको छ । यसअघिको निर्णयमा भदौ १५ देखि आन्तरिक उडान तथा लामो दूरीका सवारीसाधन सञ्चालन गर्ने भनिएको थियो । अब कम्तिमा दुई साता पर अर्थात् भदौ मसान्तसम्म सारिएको बताइएको छ ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञाको अवधि पुनः थप गरेको छ ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला स्थित कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न गठित जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) रुपन्देहीले जिल्लाभर भदौ २० गते राती १२ बजेसम्म लागि निषेधाज्ञा गर्ने निर्णय गरेकोे हो ।
यसैबीच, रुपन्देहीको तिलोत्तमा नगरपालिकाले खाद्यान्न, फलफूल, तरकारी, माछामासु, दुध तथा डेरीजन्य पसलहरु बिहान १० बजेसम्म सञ्चालन गर्न दिनेगरि बन्दाबन्दीलाई भदौ २० गतेसम्मलाई निरन्तरता दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माले दैनिक नेपालगन्जलाई जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया