बाँकेको खजुरा गाउँपालिकामा खाद्य बैंकको अवधारणा अघि सारिएको छ । लकडाउन लगायतका कुनै पनि विपत्तिमा जनता भोको नरहोस् भन्ने उद्देश्यले खाद्य बैंकको अवधारणा अघि सारिएको हो ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उक्त अवधारणालाई कार्यान्वयनमा ल्याएको जनाएको छ । ‘त्यसका लागि टोलटोलमा स्वयंसेवक परिचालन गरिनेछ’, कोरोना विरुद्धको संघर्षमा भैरहेको लकाउनको मारमा परेका जनतालाई चुल्हो बाल्न कम्तिमा २ सय क्वीन्टल खाद्यान्न संकलनको लक्ष्य राखिएको जानकारी दिंदै नेकपा खजुराका इन्चार्ज भीम ओलीले भने ।
यसैबीच, कोरोनाका कारण हातमुख जोर्न अभाव हुनेहरुलाई सघाउन स्थानीय सरकारसँग नेकपा क्षेत्र नं. ३ ले समन्वयमा काम गर्ने भएको छ । क्षेत्र नं. ३ का संयोजक दीपेन्द्र बहादुर शाह युगान्तले र सचिव किस्मत कुमार कक्षपतिले नेकपा क्षेत्र नं. ३ को बैठकमा लकडाउनलाई प्रभावकारी बनाउन प्रशासनलाई सघाउने, स्वयंसेवक परिचालन गर्ने एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
बैठकले लकडाउनलाई कडाईका साथ लागु गर्न भारतसंग सीमा जोडिएका स्थजानमा निगरानी गर्ने, बाहिरबाट आएका मानिस खोज्ने, लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिन सघाउने निर्णय गरेको हो ।