बन्दाबन्दीको मौका छोपी भारतबाट अवैध रुपमा आयात भइरहेको कुखुराबाट कोरोना सङ्क्रमणको जोखिम बढेको छ । बाँकेमा लुकिछिपी भारतीय ब्रोइलर कुखुरा ठूलो मात्रामा आयात हुने गरेको छ । यसरी आयातित ब्रोइलर कुखुरा सीमावर्ती परसपुर, थुकैला, जयसपुर, खजुरामा रहेका कुखुरा फार्मबाट बिक्री वितरण हुने गरेको पाइएको छ ।
अहिले प्रत्येक दिन बिहानै मोटरसाइकल र साइकलमा भारतीय कुखुरा आयात हुने गरेको खजुरा गाउँपालिका २ का अगुवा कृषक लालबहादुर खत्रीले बताउनुभयो । सबैभन्दा बढी जानकी गाउँपालिका– १ साइगाउँ र खजुरा गाउँपालिका–१ राधापुर क्षेत्रबाट ठूलो परिमाणमा भारतीय कुखुरा तस्करी हुने गरेको उहाँले जानकारी दिनुभयो । ‘लकडाउनले नेपाली किसानले कुखुरा बेच्न पाएका छैनन् तर भारतीय कुखुरा अवैध रुपमा गाउँगाउँमा पुगेको छ’, उहाँले भन्नुभयो, ‘नेपाली कुखुरापालक किसानले पालेका कुखुरा लकडाउनले दाना खान नपाउने अवस्था छ तर अवैध रुपमा आयातीन भारतीय कुखुरा महँगो दरमा बिक्री भइरहेको छ ।’ उहाँले भारतीय कुखुरा आयतलाई तत्काल रोक लगाई नेपाली कुखुरापालक किसानलाई राहतको कार्यक्रम ल्याउनेतर्फ स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउनुहुन्छ । उहाँका अनुसार नेपालगञ्जसँग जोडिएका गाउँमा तयार गरिएका कुखुरा फार्मबाट भारतीय ब्रोइलर कुखुराको बिक्री हुने गरेको छ । ‘बिहान ल्याएर खोरमा राख्ने र साँझपख नेपाली कुखुरा भनी बिक्री गर्ने कार्य भइरहेको छ ।
लकडाउनले बजारका पसल बन्द भएपछि खोरमै ब्रोइलर कुखुरा खरीद गर्नेको भीड लाग्ने गरेको छ’, उहाँले भन्नुभयो । जानकी गाउँपालिका पशुसेवा शाखाका स्वास्थ्य प्राविधिक दिलबहादुर खड्काले अवैध रुपमा आयात हुने गरेका भारतीय कुखुराले नेपाली कुखरा व्यवसायीसँगै मानवस्वास्थ्यलाई समेत गम्भीर असर गर्ने गरेको बताउनुभयो । उहाँले भारतबाट आयात हुने कुखुरामा धेरै मात्रामा भिटामिनलगायत औषधि प्रयोग हुने गरेकाले मानवस्वास्थ्यमा समस्या देखिन सक्ने उल्लेख गर्नुभयो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले बन्दाबन्दीको बेलामा मात्र नभई जुनसुकै समयमा पनि भारतीय कुखुरा नेपाल भित्रिएको पाइएमा बरामद गर्ने गरिएको बताउनुभयो । उहाँले अहिले कोरोना भाइरस महामारीका कारण नेपाल–भारत आवत–जावतमै रोक लगाइएकाले तस्करीको सम्भावना कम भए पनि सम्भावित नाकामा थप कडाइ गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
दानाको अभावले मर्दै बैजनाथ गाउँपालिका वडा नम्बर २ नौबस्तामा बन्दाबन्दीका कारण नियमित रुपमा दाना पु¥याउन नसक्दा कुखुरा धमाधम मर्न थालेका छन् । डेढ वर्षदेखि सञ्चालित लक्ष्यदीप पशुपालन फार्ममा दानाको अभावमा लेयर्स जातका कुखुरा धमाधम मरिरहेको सञ्चालक दीपक गुरुङले बताउनुभयो । उहाँका अनुसार कुखुराका लागि दैनिक पाँच क्वीन्टल दाना खपत हुन्थ्यो, बन्दाबन्दीले दाना खान नपाएर दैनिक रुपमा कुखुरा मरिररहेका छन् । —