धुम्रपानजन्य वस्तु र मदिरा बेचबिखनमा प्रतिबन्ध लगाउन माग

नेपाल परिवार दलले विश्वव्यापी रुपमा फैलिएको कोरोना कोभिड–१९ भाइरस नेपालमा पनि देखिएपछि संक्रमण नफैलियोस् भनेर मंगलवारबाट सिङ्गो देशमा लागु हुने गरी नेपाल सरकारले गरेको लकडाउनको स्वागत गर्दै कोभिड–१९ को नियन्त्रण तथा रोकथाम गरेर नागरिकको ज्यूज्यानको रक्षाका लागि नेपाल सरकारले गरेको भगिरथ प्रयासको उच्च प्रशंसा गरेकोछ ।

लकडाउनको समयमा नागरिकलाई अत्यावश्यक दैनिक उपभोग्य सामाग्रीहरु सहज तरिकाले उपलब्ध गराउन थप प्रयत्न गर्न हामि सरकारको ध्यानाकर्षण गर्दछौ । साथै कोभिड–१९ को प्रकोप रहेका सम्भावित व्यक्तिहरुलाई सर्वशुलभ तरिकाले परीक्षण गर्न आवश्यक “परीक्षण किट” तुरुन्त मगाएर उपलब्ध गराउन पनि सरकारसंग आग्रह गरेकोछ ।

नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालले विज्ञप्ति मार्फत् भन्नु भएकोछ– कोभिड–१९ को महामारीसंग जुधी सफलता तर्फ उन्मुख रहेका मित्र राष्ट्रहरु गणतन्त्र कोरिया र जनवादी गणतन्त्र चीनको अनुभव नेपालको लागि अनुकरणीय छ । हामी यी मित्र राष्ट्रहरुसंग आवश्यक संयोजन गरी कोभिड–१९ विरुद्ध युद्ध स्तरमा लड्न पनि सरकारलाई अनुरोध गर्दछौं ।

यसैगरि राष्ट्रिय महामारीको समयमा धुम्रपानजन्य वस्तु तथा मदिराको बेचबिखनमा प्रतिबन्ध लगाउन, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई उचित सेवा सुविधा उपलब्ध गराउन, सञ्चारकर्मीलाई समाचार संकलनमा सहजता मिलाउन, काला बजारी नियन्त्रण गर्न, मास्क सर्वसुलभ तरिकाले सबै नागरिकलाई उपलब्ध गराउन, सामाजिक सञ्जाल तथा सञ्चार माध्यमद्वारा जनचेतना फैलाउन, अति विपन्न तथा श्रमजीवि नागरिकहरुको गाँसको व्यवस्था मिलाउन सरकारसंग हाम्रो पार्टी जोडदार माग गर्दछ ।

दलले कोरोना राहत कोषमा संकलन भएको रकमको प्रभावकारी ढंगबाट जनताको सेवामा तुरुन्त खर्च गर्ने संयन्त्र निर्माण गर्न पनि सरकारलाई आग्रह गर्दै सरकारको निर्णयको पालना गर्दै राष्ट्रिय स्वास्थ्य संकटको घडीमा सम्पूर्ण नागरिक एकजुट हुन पनि हामी अपिल गर्दछौं भन्दै विज्ञप्तिको अन्त्यमा भनिएको छ– केन्द्र, प्रदेश तथा स्थानीय सरकारसंगको समन्वयमा आवश्यक सहयोग गर्न परिवार दल आफ्ना सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकसंग आग्रह गर्दछ भनेकोछ । साथै यस्तो महामारीको अवस्थामा सरकारद्वारा घोषित लकडाउन उल्लंघन नगरी आफु बाँच्न र अरुलाई पनि बचाउन सबैले आआफ्नो तहबाट सहयोग गर्न समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया