भेरी अस्पताल नेपालगन्ज परिसरका सटरहरुबाट निजी स्वास्थ्य संस्थाहरु पूर्ण रुपमा हटाइने भएको छ । त्यसका लागि अस्पताल प्रशासनले एक महिना अघि नै सम्झौता गरी फागुन मसान्तसम्मको म्याद दिएको हो ।
अस्पताल मुल गेटसँग जोडिएका सटरमा रहेका स्वास्थ्य संस्थालाई शुक्रबार पुनः पत्राचार गर्दै अस्पताल प्रशासनले चेतावनी दिएको छ । ‘फागुन मसान्तसम्म पनि नहटाइएको देखिएकाले कानुन बमोजिम कारवाही प्रक्रिया अगाडि बढाउने चेतावनी’ दिइएको हो ।
गत माघ २८ गते अस्पतालमा सटरमा रहेका मेडिकल सेवा सञ्चालकहरुले सम्झौता गरी फागुन मसान्तभित्र हटिसक्ने सहमति भएको थियो । ‘म्याद भित्र एउटा मात्रै स्वास्थ्य संस्थाले सटर खाली गरेको जानकारी दिएको छ’, अस्पताल प्रशासनका अनुसार, अटेरी गर्नेहरु विरुद्ध आवश्यक कानुनी कारवाहीका लागि आइतबार जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिने भएको छ ।
शुक्रबार मात्रै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बहादुर थापाले भेरी अस्पतालका सटरहरुमा मेडिकल सेवा सञ्चालन गरिरहेका सबै सञ्चालकलाई लिखित पत्राचार गर्दै सम्झौताको ध्यानाकर्षण गराएका हुन् । ‘अटेरी गर्नेहरुबारे प्रशासन गुहार्छौ’, डा. थापाले दैनिक नेपालगन्जसँग भने ।
अस्पताल स्रोतका अनुसार, बर्षौदेखि अस्पताल प्रशासनसँगको मिलेमतोमा निजी स्वास्थ्य संस्थाहरु सटरमा सञ्चालन हुँदै आएका छन् । मासिक झण्डै ६ लाख आम्दानी गर्दै आएको अस्पतालमा २० वटा सटर मध्ये ९ वटामा निजी स्वास्थ्य संस्था सञ्चालित छन् । बाँकी ११ वटामा सञ्चालित अन्य सेवाबारे अस्पताल प्रशासनले निर्णय लिएको छैन । ‘अस्पताल नै कुरुप हुने गरी राखिएका सटरहरु सबै क्रमशः हटाउँदै जानुपर्ने दबाब छ’, अस्पताल प्रशासनले भन्यो ।
सटर खाली गर्ने शुक्रबार अन्तिम समयसम्म गिता प्याथोलोजीले मात्रै सम्झौता पालना गरेको छ । अस्पताल स्रोतका अनुसार, त्यहाँ रहेका अन्य मेडिकल र प्याथोलोजीहरुले आफैले गरेको सम्झौता अटेरी गरेपछि प्रहरी प्रशासन गुहार लगाउन लागिएको हो ।
खाली गरिएका सटरहरुमा के गर्ने भन्नेबारे पनि औपचारिक जानकारी दिइएको छैन । अस्पताल नै छोपिने गरी भेरी अस्पताल परिसरमा २० वटा सटर बाहेक नेपाल मेडिकल एशोसिएनका ६ र रेडक्रस सोसाइटीले भाडा उपयोग गर्दै आएका झण्डै ८ वटा सटर छन् । ‘अहिलेको हाम्रो कन्र्सन सम्झौता बमोजिम खाली गर्नुपर्ने ९ वटा सटर हो’, अस्पताल प्रशासन भन्छ, ‘भेरी अस्पतालका सटरमा मेडिकल सेवा सञ्चालन गर्न पूर्णतः रोक लगाइएको छ ।’