राप्ती सोनारी गाउँपालिकाको छैठौं गाउँसभा आइतबारबाट सुरु भएको छ । गाउँ कार्यपालिको कार्यालय अगैयामा गाउँपालिका अध्यक्ष लाहुराम थारुको सभाध्यक्षतामा भएको गाउँसभाको पहिलो दिन ३१ वटा कानुनबारे छलफल सुरु गरिएसको छ । गाउँसभाले विभिन्न नियम, कानुन पारित गर्नुका साथै बजेट संशोधन, नामाकरण लगायत निर्णय गर्ने लक्ष्य राखेको छ ।
गाउँसभामा आधारभुत तथा माध्यामिक शिक्षा ऐन, शिक्षा नियमावली, स्थानीय तह सहकारी ऐन, विपद जोखिम न्युनिकरण तथा ब्यवस्थापन ऐन २०७५, गाउँपालिका कर्मचारी सेवा शर्त सम्बन्धी विनियमावली २०७३, भ्रमण खर्च नियमावली, नक्सा पास कार्यविधि २०७६, उपभोक्ता समिति सञ्चालन निर्देशिका, विज्ञापन कर निर्देशिका, लगायत ३१ वटा कानुनका विषयमा छलफल गरिएको हो ।
सभामा सभाध्यक्ष थारुले गाउँपालिकाको कार्यप्रगति, समिक्षा तथा भावि कार्यदिशा लगायत विषयमा धारणा राखेका थिए । गाउँपालिकाको समग्र विकासका लागि सबैले साथ दिनुपर्ने उनको भनाइ थियो ।
सभामा बोल्दै अध्यक्ष थारुले गाउँपालिकाले विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलाई विशेष प्राथमिकता दिएको बताएका थिए । प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतका अनुसार गाउँ सभाले विशेषगरी कानुन पारित गर्नेछ । ‘सभाले विशेषगरी कानुन पारित गर्छ, आवश्यकता अनुसार बजेटको विषयमा पनि हेरफेर गर्नेछ,’ उनले भने । सभामा विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्य लगायतले बोलेका थिए ।