पाँच बर्षमा साढे ३ सय किलो चरेश, अफिम, गाँजा बरामद

नेपालभित्र र भारत निकासीका लागि नेपालकै विभिन्न जिल्लामा लागुऔषध उत्पादन हुने गरेको छ । चरेश, अफिम, गाँजा जस्ता लागुऔषध नेपालमै तयार भएर नेपालका विभिन्न सहर र भारतमा तस्करी हुने गरेको हो । नेपालबाट भारत तस्करी गरेर लगिएको चरेश, अफिम सहित पटकपटक नेपाली नागरिक नेपाल–भारत सीमाको रुपैडिहामा भारतीय प्रहरीको फन्दामा पर्ने गरेका छन् । बाँकेमा पनि पहाडी जिल्लाबाट ल्याइएको लागुऔषध प्रहरीले नियन्त्रणमा लिंदै आएको छ । नेपालबाट गाँजा, चरेश, अफिम र भारतबाट ब्राउनसुगर, नाइट्रोजेपाम, कोरेक्स तस्करी हुने गरेको छ ।


लागुऔषध विरुद्ध दुवै देशमा कडा कानुन भएपनि लागुऔषधको कारोबारमा कमी आउन सकेको छैन । विगत पाँच बर्षमा बाँकेमा प्रहरीले नेपालमै उत्पादन गरिएको झण्डै साढे ३ सय किलो चरेश, अफिम र गाँजा नियन्त्रणमा लिएको तथ्यांक रहेको छ ।


बाँकेमा पछिल्लो पाँच बर्षमा १ सय ३५ किलो चरेश बरामद भएको छ । बाँके प्रहरीका अनुसार, आ.व. ०७१/०७२ मा १० केजी ७ सय ५० ग्राम, ०७२/०७३ मा ३० केजी, ०७४÷०७५ मा ८६ केजी २ सय ५० ग्राम, ०७५/०७६ मा ४७ किलो ८ सय २४ ग्राम, आ.व. ०७६/०७७ को माघ १५ गतेसम्म ९ सय ९० ग्राम र कोहलपुरमा बिहीबार १२ किलो चरेश बरामद भएको हो ।
त्यस्तै, पाँच बर्षमा ३४ केजी अफिम प्रहरीले बरामद गरेको तथ्यांक रहेको छ । ०७२/०७३ मा ५ केजी, ०७३/०७४ मा ५३ ग्राम, ०७४/०७५ मा ७ किलो ३ सय ग्राम, आ.व. ०७५/०७६ मा १८ किलो ५ सय ग्राम, आ.व. ०७६/०७७ को माघसम्म ४ किलो अफिम प्रहरीले बरामद गरेको छ ।


बाँके प्रहरीले पाँच बर्षको अवधीमा ५० किलोभन्दा बढी गाँजा नियन्त्रणमा लिन सफल भएको छ । प्रहरीका अनुसार, आ.व. ०७१÷०७२ मा ७ केजी ६ सय ग्राम, ०७२÷०७३ मा २५ ग्राम, ०७३÷०७४ मा ३७ केजी १ ग्राम, ०७४÷०७५ मा १ सय ग्राम, आ.व. ०७५÷०७६ मा २ किलो ७ सय २० ग्राम, ०७६÷०७७ को माघ १५ गतेसम्म ४ किलो ७ सय ५ ग्राम गाँजा बरामद भएको हो ।


तेस्रो मुलुकमा आवत जावत गर्ने प्रमुख नाका समेत रहेका यस बाँके जिल्लामा नेपालगन्ज हुदै लागु औषध (अफिम, गाँजा, चरेश भारत तर्फ लैजाने तथा ब्राउनसुगर, एभिल, कोरेक्स, नाईट्राजेपाम भारतबाट ल्याउने नाकाको रुपमा रहेको छ । बाँकेको दक्षिणी भाग छिमेकी देश भारत संग खुल्ला सिमाना रहेको, औद्योगिक नगर, शैक्षिक क्षेत्र, भारत संग आवत जावत गर्ने मुख्य नाका, छिमेकी देश भारत संगको यस क्षेत्रका वासिन्दाको वैयक्तिक सम्बन्ध आदी लगायतका कारण बाँके जिल्लामा लागु औषधको कारोवार डरलाग्दो रुपमा रहेको प्रहरीको ठम्याई रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया