पूर्व प्रधानमन्त्री स्व. सुशिल कोइरालाको आइतबार सम्झँना गरिएको छ । संघीय गणतन्त्र नेपालको संविधान निर्माणको नेतृत्व गरेका पूर्व प्रधानमन्त्री स्व. कोइरालाको नेपाली काँग्रेस बाँकेले औपचारिक कार्यक्रम गरी सम्झना गरेको हो ।
काँग्रेस बाँकेका सभापति किरण कोइरालाको अध्यक्षतामा भएको पाँचौं स्मृति दिवसमा काँग्रेसका तत्कालीन केन्द्रीय सभापति सुशिल कोइरालाको अभाव संगठनले महसुस गरेको धारणा वक्ताहरुले गरेका थिए । ‘श्रद्धेय सुशिल दा’ले संगठनको यो अवस्था होला भनेर कल्पनासम्म गर्नुभएको थिएन’, संविधानसभाका तत्कालीन सदस्य समेत रहेका काँग्रेस नेता मैकुलाल वाल्मिकीले भने, ‘संगठनको सुधार नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।’ नेता वाल्मिकीले बाँके काँग्रेस समेत संगठनविहीन अवस्थामा रहेको टिप्पणी गर्दै नेतृत्व गम्भीर हुनुपर्ने धारणा राखे ।
अर्का नेता तत्कालीन संविधानसभाका सदस्य अब्दुल हमिद सिद्दिकीले पनि संगठनप्रति चिन्ता गर्दै संविधानको मर्म र धर्म अनुसार सरकार चल्न नसकेको भन्दै आलोचना गरे । कार्यक्रममा महासमिति सदस्य हुर्मत न्यौपाने, पार्टी सचिव कपिल शर्मा लगायतले धारणा राखेका थिए ।
आइतबार नै काँग्रेसले अख्तियारको निर्णयले पार्टी नेता विजय कुमार गच्छदार भ्रष्टाचारमा संलग्न भएको भन्दै आरोपको विरोध गर्दै प्रदर्शन पनि गरेको काँग्रेस बाँकेका युवा नेता सुधांशु कोइरालाले जानकारी दिए ।