न्यायाधीशलाई विद्यार्थीको प्रश्नै प्रश्न

सोधे, ‘श्रीमान न्यायाधीश बन्न कति योग्यता चाहिन्छ ?’

विद्यालयमै बाँके जिल्ला अदालतका ६ जना न्यायाधीश सहितको टोलीबाट अदालती काम कारवाही, न्यायिक प्रक्रिया र कानून बारे जान्न पाउदा अदालतमा कहिले खुट्टा नटेकेका धम्बोजी उच्च माबि नेपालगन्जका बिद्यार्थीहरु निकै उत्साहित र दङ्ग देखिन्थे ।

बाँके जिल्ला अदालतले कानून संकाय अन्तरगत कक्षा ११ र १२ कक्षामा अध्ययनरत बिद्यार्थीहरु माझ गरेको न्यायिक बाह्य संवाद कार्यक्रमका भविष्यमा न्यायकर्मी बन्ने अभिलाशाका साथ कानून पढ्दै गरेका बिद्यार्थीहरुले उत्साहित हुदै न्यायाधीश बन्न कति योग्यता चाहिन्छ भन्दै कानून र न्याय सम्पादनका बिभिन्न बिषयमा प्रश्न सोधेका थिए ।

बाँके जिल्ला अदालतका न्यायाधीश खडानन्द तिवारीले बिद्यार्थीहरु कानूनका नक्षत्र भएको बताउदै अदालती सेवा प्रवाह, अदालतबाट असहाय र असक्षम पक्षलाई हुने निशुल्क कानूनी सहायता, देवानी र फौजदारी कानून सम्बन्धी कानूनी ब्यवस्था, यौनजन्य हिंसा, बालबिवाह, बहुबिवाह, दाईजो लगायतका अपराध र कानूनी कारवाही बारे जानकारी गराएका थिए ।
न्यायाधीश तिवारीले कानून र न्यायिक प्रक्रियाबारे जानकारी गराएसंगै बिद्यार्थी गौरव दाहालले सरकार गठन प्रक्रिया, मौलिक हक कार्यान्वयनमा प्रदेश र स्थानीय सरकारको भूमिकाको बारेमा जिज्ञसा राखेका थिए । मौलिक हक, संवैधानिक हक र कानूनी हक गरि तीन प्रकारका हकको ब्यवस्था रहेको उल्लेख गर्दै न्यायाधिश राम प्रसाद बश्यालले मौलिक हक कार्यान्वयनका लागि सरकारले कानून बनाई कार्यान्वयनमा ल्याएको बताएका थिए ।

न्यायिक संवादका क्रममा बिद्यार्थीहरु पुजा बिसी, बुन प्रसाद जैसी, सुमित्रा अधिकारी, खुसी सापकोटा लगायतले संबिधानका राम्रा पक्षहरु, न्यायाधीश नियुक्ति प्रक्रिया, अदालतको क्षेत्राधिकार, नागरिकता सम्बन्धी कानूनी ब्यवस्था,घरायसी लेनदेनका लिखत, लैंगिक हिंसा, आमाबाबुलाई जवरजस्ती बृद्धाश्राममा राख्ने उपर हुने कानूनी कारवाही, बालबिवाह गर्ने गराउने र दाइजो माग्ने उपर हुने कानूनी कारवाही, साइबर अपराध, जग्गा मिच्ने उपर हुने सजाय लगायतका बिषयमा जिज्ञासा राखेका थिए ।

बाँके जिल्ला अदालतका न्यायाधीशहरु खडानन्द तिवारी, राजेन्द्र नेपाल, धनेश्वर पौडेल, दुर्गा बहादुर भुषाल, राम प्रसाद वश्याल र दिलिपराज पन्थ र जिल्ला सरकारी वकिल कार्यालय बाँकेका जिल्ला न्यायाधीवक्ता याम बहादुर बानियाले बिद्यार्थीहरुले राखेका कानूनी जिज्ञासा र प्रश्नहरुको उत्तर दिएका थिए ।

कार्यक्रममा उच्च अदालत न्याय क्षेत्र समन्वय समितिका सदस्य समेत रहेका अधिवक्ता वसन्त गौतमले कानूनको अनभिज्ञता क्षम्य नहुने भएकाले कानून सबैले जान्नु पर्ने बताए । अधिकार खोज्दा सबैले आफ्नो कर्तब्य बिर्सन नहुने भन्दै कानूनी शासन भएको देशमा सबैले कानून र बिधि अनुसार चल्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपालगन्ज उच्च बारका अध्यक्ष बिकाश आचार्य र बाँके जिल्ला बारका अध्यक्ष मोहम्मद अयुव सिद्धिकीले कार्यक्रमबाट अदालती हाउगुजी हटाउन र समुदाय र न्यायालय बिचको दुरी कम गर्न मद्दत पुग्ने भन्दै न्याय सम्पादनमा कानून ब्यवसायीको भूमिकाको बिषयमा प्रकाश पारेका थिए ।

बाँके जिल्ला अदालतका तहसिलदार हेमराज तिमिल्सेनाले अदालतले बिधि र प्रक्रिया अनुसार न्याय सम्पादनको कार्य गर्ने जानकारी गराउँदै अदालत प्रति आम जनतामा रहेको हाउगुजी हटाउन र अदालती काम कारवाही बारे जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको बताए ।
धम्बोजी उच्च माबिका प्राधानाध्यापक बामदेव सुवेदीको अध्यक्षता भएको कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धन बहादुर चन्दले कार्यक्रमबाट ऐन, कानून र कानूनी प्रक्रियाबारे धेरै कुराको ज्ञान भएको बताएका थिए । अध्यक्षको आसनबाट बोल्दै प्रधानाध्यापक बामदेव सुवेदीले बिद्यालयमा कार्यक्रम गरेर कानून र न्यायका बिषयमा जानकारी गराएकोमा अदालत प्रति धन्यवाद दिदै आगामी दिनमा पनि यस्ता खालका कार्यक्रम गर्न अदालतलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया