निःशुल्क स्वास्थ्य शिविर

नेपालगन्ज – नेपालगन्जको वीच भागमै रहेको वडा तथा वस्तीमा पनि फोहोर पानी प्रयोग भएकै कारण बालबालिकाहरुमा कान दुख्ने, पाक्ने, पानी बग्ने जस्ता समस्याहरु देखिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ सल्यानीबागमा शनिवार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा उक्त समस्या देखिएको हो ।


नेपालगन्ज मेडिकल कलेज बालरोग विशेषज्ञ तथा स्थानीय कान्ति आरोग्य बाल रोग क्लिनिकका सञ्चालक डा. रोमा बोराका अनुसार शिविरमा आएका अधिकाँश बालबालिकाहरुमा कुपोषण, भाइरल ज्वरो, फोहोर पानी प्रयोग गरेको कारण कानबाट पानी बग्ने, पाक्ने र कान दुख्ने समस्या बढी देखिएको छ । यस्ता किसिमका समस्या र संक्रमणबाट बच्नका लागि अभिभावक र विद्यालयका शिक्षक शिक्षिकाहरुले बालबालिकाको स्वास्थ्य सचेतनामा जोड दिनु पर्ने सुझाव डा. रोमा बोराले दिइन् ।


नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ सल्यानीबागमा आयोजित शिविरबाट २ सय ७९ जना सर्वसाधारण लाभान्वित भएका छन् । पहिले प्राथमिक स्कुल र गत वर्षदेखि आधारभूत छात्रा विद्यालयको रुपमा सञ्चालन गरिएको विद्यालयमा ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्र बाँकेको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर गरिएको हो ।


ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्र बाँकेकी अध्यक्ष श्रीमती लता शर्माले दिएको जानकारी अनुसार, शिविरमा २१६ जना महिला र ६३ जना पुरुष समेत २ सय ७९ जना सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि निःशुल्क वितरण गरिएको थियो ।
शिविरमा स्वास्थ्य परीक्षणमा नेपालगन्ज मेडिकल कलेजका बाल रोग विशेषज्ञ डा. रोमा बोरा, भेरी अञ्चल अस्पतालकी मेडिकल अफिसर डा. अस्मिता गौतम र नेपालगन्ज मेडिकल कलेजका अफिसर डा. मोहम्मद आजामले स्वास्थ्य परीक्षण गरेका थिए ।


मेडिकल अफिसर डा. अस्मिता गौतमका अनुसार शिविरमा आएका महिला र छात्राहरुमा महिनावारी अनियमितता, पाठेघरको समस्या, सेतो पानी बग्ने जस्ता समस्या देखिएको थियो । डा. मोहम्मद आजामले स्वास्थ्य परीक्षण गर्दा धेरैजसो सेवाग्राहीहरुमा रुघा खोकी, ज्वरो, उच्च रक्तचाप, टाउको, जिउ, ढाड कान दुख्ने, आँखाका समस्याहरु बढी देखिएको थियो ।


शिविरमा विद्यालयका प्रधानाध्यापक वुधेश जायसवाल, शिक्षिकाहरु पुष्पा सापकोटा, तिला पछाईं, लिला खड्का, केशरी शर्मा, सिर्जना बुढाथोकी, सुशन सिजापति, सिर्जना सिंह लगायतको सक्रिय सहयोग रहेको थियो । यसैगरि शिविरमा स्वास्थ्यकर्मीहरु राजेन्द्र वर्मा, सुश्री स्मारिका श्रेष्ठ र सिमरन श्रेष्ठ लगायत आयोजक संस्थाका उपाध्यक्ष तारा केसी, कोषाध्यक्ष ममता आचार्य, सदस्य नितेश गिरी, रमण कुमार आचार्य, निखिल जायसवाल लगायतले सहयोग गरेका थिए ।


शिविरको लागि कान्ति आरोग्य बाल रोग क्लिनिकको तर्फबाट पनि बालबालिकाका लागि केही औषधी उपलब्ध गराएको आयोजक संस्थाकी अध्यक्ष शर्माले बताइन् । विद्यालयका बालिकाहरुका लागि आपतकालीन अवस्थामा आवश्यक पर्ने प्राथमिक स्वास्थ्य समस्याका लागि विद्यालयले माग गरे अनुसार आयोजक संस्थाकी अध्यक्ष लता शर्माले विद्यालयका प्रधानाध्यापक वुधेश जायसवाललाई केही औषधीहरु प्रदान गरेका थिइन् ।

प्रतिक्रिया

प्रतिक्रिया