स्वास्थ्य सेवाका बारेमा छलफल

नेपालगन्ज – बाँकेको डुडुवा गाउँपालिकामा समग्र स्वास्थ्यको अवस्थाका बारेमा शनिबार बृहत छलफल भएको छ । गाउँपालिकाले प्रवाह गर्ने घर घरमा निशुल्क स्वास्थ्य सेवाको प्रभावकारिता, स्पष्ट स्वास्थ्य निति, स्वास्थ्य सेवा कार्ड, तथा अन्य स्वास्थ्य सवालका बारेमा छलफल गरि विशेष रणनिति निर्माण गरिएको छ ।


कार्यक्रममा स्वास्थ्य सेवा अभियानलाई थप प्रभावकारी बनाउन स्वास्थ्य सेवा कार्डको प्रयोजन तथा व्यवस्थापन गरिने, स्वास्थ्य समस्याको समाधानका लागि स्वास्थ्य निति निमार्ण गर्ने रणनितिका साथ अघि बढ्ने गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । अध्यक्ष चौधरीले डुडुवालाई स्वास्थ्यका क्षेत्रमा नमूना गाउँपालिका बनाउने योजनाका साथ अघि बढेकाले स्वास्थ्यलाई विशेष प्राथमिकतामा लिइएको बताएका छन् ।


गाउँपालिकाले अहिले दुई वटा निशुल्क स्वास्थ्य प्रयोगशाला स्थापना गरि निशुल्क स्वास्थ्य जाँच तथा उपचार सेवा दिदै आएको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले जानकारी दिएका छन् । कार्यक्रममा समायोजन भई आएका ३२ जना स्वास्थ्य कर्मचारीलाई स्वागत गरिएको थियो भने समायोजनमा परेर डुडुवाबाट अन्यत्र जान लागेका ११ जना कर्मचारीलाई विदाई समेत गरिएको थियो । गाउँपालिकामा करार सेवा सहित गरि हाल ६६ जना स्वास्थ्य शाखाका कर्मचारीहरु कार्यरत रहेको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्ष, तथा कार्यपालिका सदस्य र अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया