हिंसाका घटनामा वेवास्ता !

नेपालगन्ज – हिंसाका घटनामा प्रहरीले मिल्न दबाब दिने गरेको महिला अधिकार मञ्चले बताएको छ । शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी मञ्चले प्रहरीले पीडितलाई धम्क्याएर जबर्जस्ती मिलापत्र गराउँदा पीडित झन् पीडित भएको बताएका हो ।


कार्यक्रममा सहभागी नेपालगन्ज–१७ परसपुरकी सायदा खातुनले आफन्तले कुटपिट गरेको घटनामा प्रहरीले जबर्जस्ती मिल्नका लागि दबाब दिएको बताइएकी थिइन् । उनले जेठाजु लगायतका आफन्तले गलत आरोप लगाउँदै कुटपिट गरेको घटनामा न्याय माग्न प्रहरी कहाँ जाँदा आफैलाई थुन्ने धम्की दिएको बताएकी थिइन् ।


मञ्चकी महासचिव रुबी खानले पीडित खातुनलाई थुन्ने धम्की दिंदै मिल्न दबाब दिएको बताइन् । उनले महिला हिंसाका घटना लिएर जिल्ला प्रहरी कार्यालय बाँके पुग्दा वेवास्ता र गैरजिम्मेवारपूर्ण जवाफ दिने गरेको आरोप समेत लगाएकी थिइन् ।


मञ्चले प्रेस विज्ञप्ति जारी गर्दै नाबालकहरुको झगडामा कुरा नबुझी दुवै पक्षलाई थुनेको, ७२ बर्षिय ज्येष्ठ नागरिक रुकैया पठानमाथि भएको अभद्र व्यवहारको जाहेरीमा प्रहरीले कारवाहीका लागि पहल नगरेको उल्लेख छ ।


पत्रकार सम्मेलनमा मो. शेर बागवानले प्रहरीले हिंसाका घटनामा तदारुखता देखाउँदै पीडितलाई न्याय दिलाउने भन्दा झन् पीडा दिने गरेको बताएका थिए । उनले हिंसाका घटनामा प्रहरीको उदासिनता विरुद्ध आन्दोलन गर्न बाध्य हुने बताएका थिए ।


मञ्चकी महासचिव खानले प्रहरीले दबाबमा परी हिंसाका घटनामा मिलापत्रका लागि पीडितलाई दबाब दिने गरेको हुनसक्ने आशंका समेत व्यक्त गरिन् ।

प्रतिक्रिया

प्रतिक्रिया