दाङमा उप निर्वाचनको रन्को , १४ दावेदारको उम्मेदवारी दर्ता

दाङ – आगामी मंसिर १४ गते दाङको निर्वाचन क्षेत्र नं. ३ (ख)मा हुने उपनिर्वाचनका लागि विहीवार १४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट विमला ओली, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका केशव आचार्यसहित १४ जनाले उम्मेदवारी दर्ताका लागि शक्ति प्रदर्शनसहित निर्वाचन आयोगको कार्यालय पुगेका थिए ।


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की विमला ओलीले पूर्वसभामुख तथा पार्टीका पाँच नम्बर प्रदेश अध्यक्ष ओनसरी घर्ती, पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल लगायतका नेता÷कार्यकर्ताहरुसहित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारी दर्ता गराएकी थिइन् । त्यस्तै नेपाली कांग्रेसका केशव आचार्यले ठुलै जनप्रदर्शन सहित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका थिए ।


निर्वाचन आयोगको कार्यालयका अनुसार, नेपाल मजदूर किसान पार्टीका सुरेश परियार, राप्रपा (संयुक्त)का छोटीलाल थारु, राष्ट्रिय जनमुक्ति पार्टीका धनराज सुनार, नेकपा (माले)का हरिप्रसाद डाँगी, नेकपाकी विमलाकुमारी खत्री वली, समाजवादी पार्टीका डिल्लीबहादुर डाँगी, राप्रपाका भूपाल रावत, मंगोलन नेशनल पार्टीका घनश्याम चौधरी, गोविन्द केसी (स्वतन्त्र), नेपाल लोकतान्त्रिक पार्टीका टीकाराम आचार्य, साझा पार्टीका झरेन्द्रबहादुर खत्री र नेपाली कांग्रेस (वीपी)का शिवकुमार चौधरीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।


दाङ क्षेत्र नं. ३ (ख)मा अघिल्लो चुनावमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उत्तरकुमार ओली विजयी भएका थिए । उनको सडक दुर्घटनामा परी मृत्यु भएकाले यहाँ उपनिर्वाचन हुन थालेको हो । विमला वली उत्तरकुमार ओलीकी धर्मपत्नी हुन् । अघिल्लो निर्वाचन परिणाम अनुसार, ओलीले २३ हजार ९७० मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका बुद्धिराम भण्डारीले १७ हजार ५३५ मत ल्याएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया