नेपालगन्ज – ग्रामीण क्षेत्रमा अझैपनि लैङ्गिगकताका आधारमा बिभेद कायम रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । छोरा–छोरी महिला पुरुष,शक्तिशाली र कमजोरको आधारमा हिंसा र बिभेद हुने गरेको बताउँदै सो न्युनीकरणको लागि सम्बन्धित पक्ष समयमै सचेत हुनुपर्ने कार्यक्रममा बताइएको छ ।
डिएफआईडीको आर्थिक सहयोगमा भिएसओ र इन्टरनेशनल अलर्टको साझेदारीमा माहुरी होम कपिलबस्तुले बाँकेको हिरमिनियामा सञ्चालन गरेको कार्यक्रममा सो कुरा बताइएको हो । कार्यक्रममा बोल्ने सहभागीहरुले गाउँघरमा अझैपनि छोराछोरी बीच भेदभाव कायम रहेको जिकिर गरेका थिए । समाजमा अधिकांस परिवारमा छोरा र छोरी को शिक्षा, खानपान, पहिरन लगायतमा असमानता रहेको छलफलमा सहभागी हरुले बताएका थिए । कार्यक्रममा बोल्दै स्थानीय एक किशोरीले महिला भएकै कारण उच्च शिक्षा बाट बञ्चित हुनुपर्ने अवस्था बिद्यमान रहेको बताएकी थिइन् ।
कार्यक्रममा बोल्दै उनले समुदायमा दाइजो प्रथा बिद्यमान रहेकोेले महिलाहरुले घरेलु हिंसा खेप्न बाध्य रहेको गुनासो गरिन् । अभिभावकहरुमा शिक्षा र चेतनाको अभावका कारण महिलाहरु बिभेद र घरेलु हिंसा सहन बाध्य हुने गरेकोले माहुरी होमको सहज परियोजनाबाट घरेलु हिँसा न्युनीकरणमा महत्वपूर्ण सफलता प्राप्त हुन सक्नेमा आफुहरु बिश्वस्त रहेको सहभागी हरुले बताएका थिए ।
सहज परियोजना अन्र्तगत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २३ हिरमिनियामा सञ्चालित न्याय र शुरक्षा सम्बन्धी समुदाय र सेवा प्रदायक बीच नागरिक सम्बाद कार्यक्रममा स्थानिय सहभागीहरुले समुदायमा हुने गरेका बिभिन्न किसिमका हिंसा, बिभेद बारे जिज्ञासा राखेका थिए ।
कार्यक्रम लैङ्गिगकताका आधारमा गरिने हिंसा, योैनजन्य हिंसा के हो, त्यस बारेका कानुनी ब्यवस्था र सजाय के कस्तो छ ,समुदायले के कस्ता बिवाद प्रहरी कार्यालयमा लैजाने, अपराध अनुसन्धान भित्र कस्ता बिवाद पर्ने, न्यायिक समितिले कस्ता खाले बिवाद वा मुद्दा हेर्ने, मेलमिलापको माध्यमबाट कस्ता बिवाद समाधान गर्न पाउने,न्यायिक समिति र प्रहरी प्रशासनको भुमिका, बिवाद कम गर्न अपनाउन सकिने उपाय लगायतका बिषयमा अधिवक्ता बसन्त गौतम र पत्रकार माधव अधिकारीले सहजीकरण गरेका थिए ।
कार्यक्रममा गाउँघरमा हुने गरेका पारिवारिक विवाद, छाडा चौपाया, जग्गा खिँचौला , लेनदेन तथा घरेलु हिँसा घरायसी वा पारिवारिक द्वन्द्वको अवस्था, कारण, संबेदनशिलता, सामाजिक मान्यता, उत्पन्न विवाद तथा समाधानका पहलका विषयमा समेत छलफल गरिएको थियो ।
यस्तैगरि सहभागीहरुले गाउँघरमा हुने गरेका पारिवारिक विवाद, छाडा चौपाया, जग्गा खिँचौला , लेनदेन तथा घरेलु हिँसा लगायत बारे जिज्ञासा राखेका थिए । कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, गाउँ न्यायिक समितिका प्रतिनिधि, मेलमिलापकर्ता, प्रहरी, अधिकारकर्मी, नागरिक अगुवा तथा सञ्चारीकर्मी गरि १०० जनाको सहभागिता रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेको महिला सेलकी स्याम कुमारी पाइजाले सञ्चालन गरेको कार्यक्रममा इन्टरनेशनल अलर्टका वरिष्ठ कार्यक्रम अधिकृत बिष्ण नेपालीले स्वागत मन्तब्य गरका थिए । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाकी महिला बिकास अधिकृत शोभा शाह, सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेका उपाध्यक्ष दिपेन्द्र जोसी, रुद्र रावल, न्यायिक समितिका देउमल सुनार,पुष्पा भटराई, पत्रकार राकेश मिश्र, माधव अधिकार, जिएम यादव तथा ईलाका प्रहरी कार्यालय हिरमिनियाका इञ्चार्ज लगायत बिभिन्न राजनैतिक दलका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।