नेपालगन्ज – नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व बिहीबारदेखि सुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व स्नान गरी चोखो खाएर बसिन्छ । यसदिनदेखि छठपर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ ।
मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्छन् । छठ पर्व विशेषगरी तराईमा मनाउने गरिन्छ । सरकारले छठ पर्वका दिन सार्वजनिक बिदा दिन थालेको हो । नेपालगन्जको बागेश्वरी मन्दिरमा छठ पर्वको अवसरमा विशेष पुजाआजा गरिन्छ ।
कात्तिक शुक्ल पञ्चमीका दिनमा निर्जल उपवास बस्ने गरिन्छ । यस दिन बेलुकी घरमा खिर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक खाने गरिन्छ । षष्ठीका दिन व्रतालुले ठेकुवा, फलफूल, मिठाइ र रोटी सूर्य एवं छठी मातालाई चढाउने गरिन्छ, रोटीमा सूर्यको रथका पाङ्ग्रा अङ्कित गरिन्छ । षष्ठीका दिन पक्वान्न, फलफूल र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ । साँझपख बत्ती बालेर माटाको घडाको साथ गीत गाउँदै नदी वा तलाउका किनारमा गइन्छ । डुब्न लागेका सूर्यलाई अघ्र्य दिई प्रणाम गरिन्छ । अघ्र्य दिएपछि तीनपटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यहीँ रात बिताइन्छ ।
सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान ४ बजेदेखि नै प्रतीक्षा गरिन्छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिइन्छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि रहेको उमा शर्मा बताउँछिन् ।
‘पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको हो,’ उनले भने । कात्तिक शुक्लपक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूरा भई इच्छाएको फल प्राप्त हुने उल्लेख शास्त्रमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ््ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।
सूर्यको उपासना गर्ने र शुद्धताको प्रतीक भएकाले तराईबाट शुरु भई हाल पहाड र हिमाली क्षेत्रसम्म पनि छठ मनाउन थालिएको छ ।
सूर्यपूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पति पत्नीको दीर्घायु एवं अविवाहित केटा केटीले सुयोग्य बर बधु प्राप्तिको कामना गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको संख्या पनि धेरै छ ।
सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुशी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रोपदीसहित पाण्डव अज्ञातवासमा रह“दा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । पाण्डवहरू विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन सुरु गरिएको एकथरी मत छ ।
सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुवात भएको अर्काथरीको भनाइ छ । यस वर्ष कात्तिक १६ गते बेलुकी अस्ताउँदो र कात्तिक १७ गते बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइन्छ ।