नेपालगन्ज – तिहार पर्वका बेला नेपालगन्जका तीन ठाउँमा आगलागीका घटना भएका छन् । पाँच दिनभित्र भएका तीन आगलागीका घटनाबाट ठूलो धनमालको क्षति हुन पुगेको छ ।
सेतु विकचोक नजिकै रहेको इलेक्ट्रोनिक्स र व्यूटीपार्लर पसलमा आगलागी भएको छ । जसमा लाखौंको सामानमा क्षति पुग्यो । बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक वीर बहादुर ओलीले मिठ्ठीलाल बैश्यको दुईतले घरको तल्लो तलामा रहेको इलेक्ट्रोनिक्स पसलबाट सुरु भएको आगो छेउमा रहेको व्यूटीपार्लर पसलमा समेत सल्किएको थियो । पसल सञ्चालक तिहार मनाउन घर गएका बेला पसलमा आगलागी भएको थियो ।
गत आइतबार राती नेपालगन्जको धम्बोझी राष्ट्रिय वाणिज्य बैंकको सामुन्ने रहेको गणेश ढकालको भाँडा पसलमा आगलागी भएको थियो । जसमा पनि लाखौंको क्षति पुगेको अनुमान छ । गत साता बिहीबार नेपालगन्जकै बिपीचोक नजिक रहेको सिरक र फर्निचर पसलमा आगलागी हुँदा एक करोड बराबरको क्षति पुगेको थियो । पछिल्लो तीन महीनामा नेपालगन्जमा सात ठूला आगलागी भइसकको छ । आगलागीका घटना नियन्त्रणका लागि दमकल सहित नेपाल प्रहरी तथा स्थानीयको सक्रियतामा खट्ने गरेका छन् ।