सकियो तिहार , बजारको चहलपहल सुरु

नेपालगन्ज – नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार सकिएको छ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई भाइटीका मनाइएको छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने विश्वास छ ।


तिहारका बेला देउसी, भैलो समेत खेलिएको छ । बुधबार पनि देउसी भैलो खेलियो । तिहारको टिका यस बर्ष मंगलबार परेको थियो ।
नेवार समुदायले यसबर्ष मंगलबार र बुधबार भाइटिका पर्व मनाए । नेवार समुदायमा कसैले मंगलबार र कसैले बुधबार भाइटिका लगाएका हुन् । सरकारले दुवै दिन सार्वजनिक बिदा दिएको थियो । तिहार सकिए संगै बजारको चहलपहल सुरु समेत भएको छ ।


यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन भाइटीका पर्व मनाइने भए पनि यस वर्ष तिथिको घटबढ भएकाले कार्तिक शुक्ल द्वितीयाको दोस्रो दिन पनि नेवार समुदायले भाइटिका लगाएका हुन् । यद्यपि, नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा मङ्गलबार नै भाइटीका लगाउनुपर्ने उल्लेख छ ।


त्यसअनुसार नेवार समुदायका कतिपय मानिसले मङ्गलबार नै भाइटीका लगाएका थिए । समितिमा सदस्य रहनुभएका कीर्तिमदन जोशी शास्त्रसम्मत् रुपमा मङ्गलबार नै भाइटीका ग्रहण गर्नुपर्नेमा राजनीतिक उद्देश्य बोकेका संस्थाको आह्वानमा नेवार समुदायलाई विभाजित गरिएको आरोप लगाएका छन् ।




प्रतिक्रिया

प्रतिक्रिया