नेपालगन्ज – बालन्याय प्रणालीको सुढृढीकरणका लागि न्याय क्षेत्र सम्बद्ध निकायका प्रमुख तथा प्रतिनिधिहरुले सामुहिक प्रतिवद्धता जनाएका छन् । एडभोकेसी फोरम नेपाल र नेपालगन्ज उच्च बारको आयोजनामा बालन्याय प्रणालीको सुदृढीकरणका लागि सरोकारवालाहरुको भूमिका बिषयक परामर्श बैठकका सहभागीहरुले कानूनमा भएका प्रावधान कार्यान्वयमा प्रतिवद्ध रहेको बताएका थिए ।
उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजालासका न्यायाधीश गोकर्ण डाँगीले बालन्यायमा भएका ब्यवस्था सबैले पालना गर्नु पर्नेमा जोड दिए । कानूनको विवादमा परेका बालक लगायत अन्य थुनुवासँग कानून ब्यवसायीको पहुँच पु¥याउनु पर्ने भन्दै न्यायाधीश डाँगीले कानूनले निर्धारण गरेको दायित्व सबैले पालना गर्नु पर्नेमा जोड दिए ।
नेपालगन्ज उच्च बारका अध्यक्ष बिकास आचार्यको अध्यक्षमा भएको कार्यक्रममा बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश खडानन्द तिवारीले कार्यपत्र प्रस्तुत गर्दै बालन्याय सम्बन्धी कानूनी ब्यवस्था र कार्यान्वयनका चुनौतीका बारेमा प्रकाश पारेका थिए । बालन्याय पूर्ण परिपालनामा केही समस्या भए पनि अदालत बालन्यायको सदृढीकरणका लागी लागी परेको बताए ।
बाँके जिल्ला अदालत बालबालिकाको मुद्दामा संवेदनशील रहने गरेको जानकारी दिदै न्यायाधीश तिवारीले बालन्याय कार्यविधि अनुसार अदालतले बालबिज्याईमा परेको बालकलाई अभिभावकको जिम्मामा छाडेर अपराधको अनुसन्धान गर्ने, सजायको स्थगन गर्ने, बालसुधार गृहमा पठाउने लगायतका कार्य गरि न्याय सम्पादन गरिरहेको जानकारी दिए ।
एडभोकेसी फोरमका कार्यक्रम संयोजक अधिवक्ता बसन्त गौतमले अपराधिक मनोबृत्तिमा लागेका वालवालिकाको मनस्थितिमा सुधार ल्याई उनीहरुलाई असल नागरिक बनाउने ध्येय वालन्यायले लिए पनि यसको उचित कार्यान्वयन हुन नसक्दा आरोपी वालकले सजायमा छुट पाउनु सिवाय अरु उल्लेख्य प्रगती हुन नसकेको बताए ।
बाँके जिल्लामा बालन्यायको कार्यान्वयनको सवालमा धेरै प्रयासहरु भए पनि अझै धेरै गर्न बाँकी रहेको गौतमले भने । एडभोकेसी फोरमलेले गरेको हिरासत भ्रमणबाट प्राय सबै बालकलाई ठुला अभियुक्तसंगै हिरासतमा राखिएको, पक्राउ गर्दा बालन्याय कार्यबिधि अनुसार सादा पोषाकमा, अभिभावकलाई जानकारी दिई पक्राउ गर्नु पर्ने प्रावधानको पालना भएको नपाइएको, कतिपय अवस्थामा अदालतमा म्याद थप गराउन ल्याउदा ठुला अभियुक्तसंगै हत्कडी लगाएर ल्याउने गरिएको, केहीलाई डरधाक दिई निजको इच्छा विपरित साबिति बयान गराउने गरेको कुरा भेटिएको गौतमले जानकारी दिए ।
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बालबालिका लागु औषध र अपराधिक क्रियाकलाप लाग्ने क्रम बढ्दै गएकाले बालबालिकालाई सद्मार्गमा लाग्न सबै लाग्नु पर्नेमा जोड दिए । बालन्यायमा भएका प्रावधान कार्यान्वयमा आफु प्रतिवद्ध रहेको प्रजिअ खड्काले बताए ।
जिल्ला सरकारी वकिल कार्यालय बाँकेका जिल्ला न्यायाधीश याम बहादुर बानियाले बालमैत्री न्याय प्रणालीको बिकासमा सरकारी वकिल कार्यालय प्रतिवद्ध रहेको भन्दै कानूनको बिवादमा परेका बालकका अभिभावक समयमै उमेर खुल्ने प्रमाण लिई उपस्थित नहुँदा उमेर निर्धारणमा समस्या हुने गरेको बानियाले बताए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख बीर बहादुर वलीले अपराधमा बालबालिकाको प्रयोग र अपराधमा संलग्न बालकको अभिभावको ब्यवहार, भौतिक संरचना लगायतका कारण बालन्यायको पूर्ण कार्यान्वयनमा समस्या भए पनि कानूनमा भएको ब्यवस्था पालनामा प्रहरी प्रतिवद्ध रहेको बताए । राष्ट्रिय मानव अधिकार आयोगकी संरक्षण अधिकृत द्वारिका अधिकारीले बालबालिकाको सर्वोत्तम हितलाई ध्यान दिई न्याय सम्पादन गर्नु पर्ने बताइन् ।
उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका न्यायाधीश गोकर्ण डाँगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपालगंज उच्च बारका सचिव चित्र बहादुर शाही, बाँके जिल्ला बार अध्यक्ष मोहम्मद अयुव सिद्धिकी, अधिवक्ता कुसुमा सुवेदी, पूर्ण ढकाल, कारागार कार्यालय बाँकेका प्रमुख भरतराज पाण्डे, बालसुधार गृहकी प्रमुख बिमला काउचा मगर लगायतका वक्ताले बालबालिकाको मुद्दामा सबै संबेदनसिल हुनु पर्ने र बालन्याय कार्यबिधि अनुसार न्याय सम्पादन हुनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका वक्ताहरुले कानूनको सम्पर्कमा आएका बालबालिकालाई अपराधिको रुपमा नहेरी वालमैत्री वातावरणमा अपराधको अनुसन्धान गरि उनीहरुको आचरणमा सुधार ल्याई असल नागरिक बनाउने तर्फ सबै सरोकारवालाको ध्यान जानु पर्नेमा जोड दिएका थिए । बाल न्यायले लिएको लक्ष्य पुरा गर्नका लागी बालन्याय प्रशासनसंग सम्बन्धित घर परिवार, विद्यालय नागरिक समाज, बालकल्याण गृह एवं बाल सुधार गृहका अधिकारवाला, सञ्चार जगत, प्रहरी, सरकारी वकील कार्यालय कानून व्यवसायी, अदालत लगायतका सरोकारवालाहरु संवेदनशील हुन पर्नेमा उपस्थित सरोकारवालाले जोड दिएका थिए ।