सडक सहयोगापेक्षी मानवमुक्त प्रदेश नं. ५ निर्माण गर्ने अभियानले लियो तिब्रता

प्रदेशलाई सहयोगापेक्षी मानवमुक्त अभियान
जनप्रतिनिधिद्वारा सघाउने प्रतिबद्धता

नेपालगन्ज – सडक सहयोगापेक्षी मानवमुक्त प्रदेश नं. ५ निर्माण गर्ने अभियानले तिब्रता लिएको छ । नील सागर आश्रम नेपालगन्जको पहलमा थालिएको अभियान अन्तर्गत पहिलो चरणमा बाँकेका नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका र कोहलपुर नगरपालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त पालिका घोषणा अभियान थालिएको छ ।


अभियान अन्तर्गत शुक्रवार खुल्ला अकाशमूनि रात विताउन विवश सडक सहयोगापेक्षी मानवहरुको ब्यवस्थापनका लागि सरोकारवालाहरुसंग अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ । अभियानको वारेमा स्थानीय सरकारलाई अपनत्व बोध गर्ने उद्देश्यले नील सागर आश्रम नेपालगन्जले कार्यक्रमको आयोजना गरेको हो । सहयोगापेक्षी सडक मानवमुक्त स्थानीय तह घोषणा गर्ने अभियान अन्र्तगत नील सागर आश्रमले एक हप्तादेखि बिभिन्न पालिकाहरुमा सहयोगापेक्षी मानवहरुको ब्यवस्थापनका लागि अभियान संचालन गर्दै आएको नील सागर आश्रमकी संस्थापक अध्यक्ष सरिता खनाल निलसागरले बताइन् ।


अभियान अन्र्तगत वजारको अवस्था, समस्या र स्थानीय सरकारले गर्नुपर्ने जिम्मेवारीको वारेमा सरोकारवालालाई जानकारी गराउन आयोजना गरिएको अन्र्तक्रिया कार्यक्रममा खनालले अभियानको वारेमा जानकारी गराएकी थिइन् । यो अवधिमा नेपालगन्ज र कोहलपुरबाट मात्रै ३५ जना सडक सहयोगापेक्षी (मगन्ता) ब्यक्तिहरुको उद्दार गरि ब्यवस्थापन गरिएको खनालले बताइन् । रातको १२ बजे बजारको सडमा जाँदा महिला, बृद्धबृद्धा तथा बालबालिकाहरुलाइ बेवारिसे अवस्थामा देख्दा मुटु भक्कानिएर आउने गरेको उनले भनिन् । ‘त्यो उमेर र अवस्था हामी सबैको आउने भन्दै मानवले मानवलाई मानवीय माया, ममता र सेवा गर्न सिक्नुपर्छ,’ उनले भनिन् । त्यही मुल्य र मान्यताका साथ आफुहरु लागिपरेको बताउदै सडकमा असहाय, अशक्त र बेसाहारा ब्यक्तिहरु नै नदेखिने गरि काम गर्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने खनालको बनाइ थियो ।


कार्यक्रममा सहभागी स्थानीय तहका प्रतिनिधिहरुले अभियानको अपनत्व आफुले लिने प्रतिबद्धता ब्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले मानवीय कार्यमा कृयाशिल नीलसागरले गरेको कामको प्रशंशा गर्दै अब सवै जिम्मेवारी उप महानगरपालिकाले लिएर सडक सहयोगापेक्षी मानवमुत्त पालिका घोषणा गर्ने बताइन् । स्थानीय सरकारले यो अभियानको थालनी गर्नुपर्नेमा नीलसागर आश्रमले मानविय कार्यको थालनी गरेर स्थानीय सरकारलाई पाठ सिकाएको उपप्रमुख थापाको भनाइ थियो । नीलसागर आश्रमले सुरुवात गरेको अभियानले आफुमा उर्जा थपिएको बताउँदै छिट्टै सडक सहयोगापेक्षी मानवमुक्त उपमहानगरपालिका घोषणा भएको हेर्न सकिने गरि काम गर्न लागिपरेको उनको भनाइ थियो ।


कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर राउतले नीलसागरले कोहलपुर नगरपालिकालाई सडक सहयोगापेक्षी मानवमुक्त घोषण गर्नका लागि महत्वपूर्ण भुमिका खेलेको बताए । निलसागरले अभियान थालेपछि अहिले कोहलपुर क्षेत्रमा पुरै सडक सहयोगापेक्षी मानव मुक्त भै सकेको भन्दै अब अभियानलाई नगरपालिकाले आफुनो अभियान बनाउने रावतले प्रतिबद्धता ब्यक्त गरेका थिए । कार्यक्रममा संविधान सभा सदस्य देभराज भारले मान्छेहरु सडकमा आएपछि नै नीलसागरहरु जस्ता आश्रमहरु खोलिएका बताए । स्थानीय सरकारले सञ्चालन गर्नुपर्ने अभियान निलसागरले गरेको बताउँदै यसको सम्पुर्ण जिम्मा अव स्थानीय सरकारले लिनु पर्ने भारको भनाइ थियो । ‘अबको दुई बषभित्र सडकमा कोहि नदेखने गरि स्थानीय सरकाले काम गर्नुपर्छ,’ भारले भने । नेपालगन्ज यपमहानगरपालिकाकी महिला विकास अधिकृत शोभा शाहले बजारका कालोपत्रे सडकमा असहाय, अशक्त र बेसाहार ब्यक्तिहरु सुतेको अवस्थामा भेटिनु लाज मर्दो भएको बताइन् । यो मानविय कार्यमा सबैले सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।


सडक सहयोगापेक्षी मानवमुक्त प्रदेश नं. ५ निर्माण गर्ने अभियान अन्र्तगत बाँकेका बिभिन्न पालिकाहरुलाई सडक सहयोगापेक्षी मानवमुक्त पालिका घोषणा गरिदै छ । जस अन्र्तगत कार्तिक २० गते खजुरा गाउँपालिका, २५ गते कोहलपुर नगरपालिका र २८ गते नेपालगन्ज उपमहानगरपालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गर्ने कार्यक्रम तय गरिएको निलसागर सेवाश्रमकी संस्थापक अध्यक्ष सरिता खनाल नीलसागरले जानकारी गराएकी छन् । ‘प्रदेश सरकारसँगको समन्वयमा सडक सहयोगापेक्षी मुक्त घोषणा गर्न लागिएको हो बताउँदै नील सागरले आवश्यक सहयोग गर्नेछ’, नीलसागर सेवाश्रमका उपाध्यक्ष अमन सुवेदीले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया