ट्राफिक प्रहरीले मेटिएका नम्बर प्लेट सडकमै पुनर्लेखन गर्न लगाउने गरेको छ ।
नेपालगन्ज – पछिल्लो समय बिभिन्न सवारी दुर्घटना तथा चोरीका घटनाहरु बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय बाँके र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले ट्राफिक व्यवस्थापनका बिभिन्न अभियान सञ्चालन गर्दै आएका छन् । पछिल्लो समय ट्राफिक ब्यवस्थापनका लागि बिभिन्न अभियान सञ्चालन गर्दै आएकोमा सवारी साधनको नम्बर प्लेटमा समेत कडाइ गरिदै आएको छ ।
दशै तथा तिहारको अवसरमा बिभिन्न ब्यक्तिहरुले नयाँ सवारी साधन किनेर नं. प्लेटमा नं. नै नलेखाइ चलाउने र पुराना सवारी साधनको समेत नं. प्लेट खुइलेको, स्पस्ट नदेखिने र नं. मेटिएको हुनाले सवारी दुर्घटनापछि पहिचानमा कठिनाइ हुन थालेको भन्दै सो अभियानको थालनी गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख वविन्द्र वमले बताए ।
चाड बाडको समयमा सवारी साधनको खरिद, बिक्री पनि बढी हुने, सवारी दुर्घटना तथा चोरीका घटनाहरु पनि बढी हुने र दोसी सवारी साधनको पहिचानमा समस्या हुने गरेकाले दुघटनामा संलग्न सवारी साधनको पहिचानमा सहजताका लागि ट्राफिकले सवारी साधनको नं. प्लेटको जाँच गरी सडकमै नम्बर लेख्ने कार्य गर्दै आएको छ ।
दशै तथा तिहारलाई मध्येनजर गर्दै गत असोज २३ गतेदेखि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको संयुक्त पहलमा थालिएको सो अभियान अन्तर्गत नं. नलेखिएका तथा स्पस्ट नं. नभएका मोटरसाइकलहरुको सडकमै नम्बर लेख्न थालेको हो । दुर्घटनाका बिभिन्न घटनाहरु घटेपछि बिभिन्न ठाउँबाट सवारी साधन सहित चालकहरु भाग्ने क्रम बढेपछि बाँकेमा यस्तो समस्या आउन नदिनका लागि सचेतना अपनाइएको ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
अभियान थालेपछि मात्रै हाल सम्म बाँके जिल्ला भरिका १ हजार २ सय ७४ वटा सवारी साधनको नम्बर प्लेटमा नम्बर लेखि सकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख पविन्द्र वमले दैनिक नेपालगन्जलाई जानकारी दिए । जसमध्ये १ हजार २० वटा सवारी साधनको सडकमै नं. लेखिएको र २ सय ५४ वटाको कागज पत्र नियन्त्ररणमा लिएपछि आफैले नं. लेखाएर ल्याएको उनले बताए । नम्बर लेखाएर ल्याएपछि कुनै कारवाही तथा जरिवाना विना नै ट्राफिकले कागज पत्र फिर्ता गरिदिने गरेको छ । अभियानलाई निरन्तरता दिने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला भरिनै यो अभियान जारी रहेको बताउदै मंगलवार मात्रै १ सय ५६ वटा सवारी साधनको नम्बर प्लेटमा नम्बर लेखाउने काम भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा तथ्यांक छ । त्यसै गरि मंगलवार नै ३९ वटा नम्बर प्लेट नभएका सवारी साधनहरुको कागज पत्र नियन्त्रण लिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कागजपत्र नियन्त्ररणमा लिएका सवारी साधनका चालकहरुले नम्बर प्लेट लेखेर ल्याउने गरि कागज पत्र छोडेर गएको र नम्बर लेखाएर आएपछि जाँच गरि कागजपत्र दिएर फिर्ता पठाउने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वमले बताए ।