हेमन्त केसी -जाजरकोट सदरमुकामबाट करीब २३ किलोमिटर दुरीमा रहेको दल्लीसम्मको सडक निर्माण भएको १३ वर्ष बित्यो ।
कच्ची कटान गर्ने जिम्मा लिएको नेपाली सेनाले यो सडक सरकारलाई हस्तान्तरण गरिसकेको छ । १३ वर्षसम्म खलङ्गादेखि दल्लीसम्मको सडक स्तरोउन्नति नहुँदा दैनिक सास्ती हुने गरेको छ । यो सडकमा गुड्ने कैयुन यात्रु पीडा पाउँछन् नै, तर राज्यको नीति निर्माण तहमा पुगेका नेता सधँै रमिते बन्दै गाडीमा रुमालले मुख छोप्दै यात्रा गदै आएका छन् ।
जाजरकोट– डोल्पा सडक खण्डभित्रपर्ने यो सडक ट्याक खुल्ला भएको दशक बितेपनि राज्यको ध्यान जान नसक्दा स्थानीयवासी पीडा भोग्न बाध्य भएका छन् । राष्ट्रिय महत्वको भेरी करिडोरभित्र पर्ने सडक भए पनि स्तरोउन्नति नहुँदा यात्रु र स्थानीयवासी दैनिक धुलोको आहारा हुँदै आएको छ । राजनीतिक नेतृत्वसँग हुने भेटघाट र जनसभामा यी सडक सुधारको मुख्य नारा भए पनि काठमाडौँ जाने वित्तिकै सपनाको स्मृतिसम्म नहुने गरेको स्थानीयवासीको भनाइ छ ।
आधा दर्जन खोला रहेको यो सडकमा सुधारका लागि कुनै पहल नगर्दा दैनिक सर्वसाधारणले पीडा मात्र भोग्दैन्न, यात्रा पनि कठिन हुँदै गएको छ । वर्षायाममा वर्षेनी अवरुद्ध हुँदै जोखिम हुने यस सडकमा यात्राभन्दा पीडा बढी हुने गरेको नलगाड नगरपालिका– ८ का नीरज केसीले बताउनुभयो ।
जाजरकोट हुँदै डोल्पा जाने मुख्य सडक भए पनि स्तरोउन्नतिको लागि प्राथमिकता नपर्दा स्थानीयवासी आक्रोषित भएका हुन् । अघिल्लो आर्थिक वर्षमा कालोपत्र गर्नका लागि बोलपत्र अह्वान भए पनि त्यसलाई रद्द गरिएको थियो ।
त्यस्तै कालीमटीमा रहेको झुर्मेखोलाको पुल र नलगाड नदीमा रहेको पुलको बेलपत्र आह्वान भए पनि अन्तिममा रद्द भएको सडक डिभिजन चौरजहारीका प्रमुख नरेन्द्र भट्टले जानकारी दिनुभयो ।
यो सडक स्तरोन्नति नहुँदा आधादर्जन सवारी दुर्घटनासमेत भइसकेको ट्राफिक कार्यालय जाजरकोटले जनाएको छ । कच्ची र ठाउँ, ठाउँमा भत्किएको सडकमा यातायातका साधन चलाउँदा दुर्घटना बढेको प्रहरीको भनाइ छ । कात्तिक ४ गते राष्ट्रियसभा सदस्य कालीबहादुर मल्ल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य नीरज आचार्य लगायतका नेता सोही बाटोमा यात्रा गर्नुभयो । धुलोले नाक छोप्दै यात्रा गर्नुभएका उहाँहरुले सडक छिटो निर्माणका लागि पहल गर्ने बताउनुभयो ।