दाङबाट विप्लव समूहका २१ नेता पक्राउ

दाङ – प्रहरीले दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २१ नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । नेपाल–भारत सीमानाका अन्तर्गत दाङको राजपुर गाउँपालिका–४ मुग्रेटाखोलास्थित जङ्गलबाट विप्लव नेतृत्वका नेकपाका नेताहरुलाई ५ नं. प्रदेश प्रहरी कार्यालय, तुल्सीपुर र जिल्ला प्रहरी कार्यालय, दाङको टोलीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय दाङले विप्लव समूहको बैठक भइरहेको प्राप्त गोप्य सूचनाका आधारमा बुधबार राती घेरा हाली नेताहरुलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

पक्राउ पर्नेमा विप्लव समूहका मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजङ्ग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज सुवास बाठा, युवा सङ्गठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका नेता तथा कार्यकर्ता रहेका छन् । चन्द ‘विप्लव’ का दाजु हुन् ।

जिल्ला प्रहरी कार्यालय, दाङका डीएसपी विनोद विक्रम शाहले राजपुरबाट गढवा चौकी हुँदै ती नेताहरुलाई जिल्ला प्रहरी कार्यालय, घोराहीमा ल्याएर हिरासतमा राखिने जानकारी दिएका छन् ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार राजपुर गाउँपालिका–४, मा विप्लव समूहका नेता तीन दिनदेखि बसिरहेका थिए । पक्राउ परेकाको साथबाट महत्वपूर्ण दस्तावेज, चन्दा मागिएका विवरण, ३२ थान मोबाइल, विष्फोटक पदार्थलगायतका सामग्री बरामद भएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया