सडक सहयोगापेक्षी मुक्त बनाइँदै नेपालगन्ज
नेपालगन्ज – नेपालगन्जलाई सडक सहयोगापेक्षी (मगन्ता) मुक्त बनाइने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले आगामी कार्तिक २८ गते प्रदेश सरकारसँगको समन्वयमा सडक सहयोगापेक्षी मुक्त घोषणा गर्न लागिएको हो । ‘त्यसका लागि नील सागरले आवश्यक सहयोग गर्नेछ,’ नीलसागर सेवाश्रमका उपाध्यक्ष अमन सुवेदीले भने ।
उपाध्यक्ष सुवेदीका अनुसार, नेपालगन्ज उप महानगरपालिकाले जिल्ला प्रशासन कार्यालय संको सहकार्यमा नेपालगन्ज उप महानगरपालिका क्षेत्रलाई सडक सहयोगापेक्षी मुक्त नगरपालिका घोषणा गर्ने कार्यक्रम राखेको हो । ‘प्रदेश सरकारका सामाजिक बिकास मन्त्री सुदर्शन बरालको प्रमुख आतिथ्यमा औपचारिक घोषणा कार्यक्रम गरिनेछ,’ सुवेदीले दैनिक नेपालगन्जसँग भने । नील सागरले विभिन्न ठाउँमा जेष्ठ नागरिक तथा असाहयहरुका लागि सेवाश्रम स्थापना गरि यसखालको अभियान सञ्चालन गरिहेको हो ।
यसैबीच, बागेश्वरी मन्दिर क्षेत्रमा रहेका सडक सहयोगापेक्षीलाई बुधवार उद्दार गरिएको छ । नीलसागरले बागेश्वरी मन्दिर एवम नेपालगन्ज उप महानगरपालिकालाई सडक मठ मन्दिर सहयोगीपेक्षी मुक्त गर्ने कार्यक्रम अनुसार ११ जनालाई उद्दार गरेको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला प्रहरी कार्यालय, नेपालगन्ज उप महानगर प्रहरीले कारकादो युवा क्लब, आभास पुनःस्थापना केन्द्र, मानव धर्म समिति युवा समूह लगायतसँगको सयुक्त सहयोगमा नीलसागरका अभियन्ताले ११ जनालाई आश्रम पु¥याएका हुन् । ‘बागेश्वरी मन्दिरबाट ७ मुवा सहित ११ जना बुवामुवाहरुलाई उद्दार गरियो,’ नीलसागरका उपाध्यक्ष अमन सुवेदीले दैनिक नेपालगन्जसँग भने, ‘यो दशौं चरणको उद्दार कार्यक्रम हो ।’ नीलसागरका अध्यक्ष सरीता खनालकै नेतृत्वमा सरकारी प्रतिनिधिसहितको टोलीले उनीहरुलाई उद्दार गरेको हो ।
उद्दार गरिएकाहरु विभिन्न दबाव र प्रभावमा पुनः बागेश्वरी मन्दिर क्षेत्रमा माग्ने कामका लागि जाँदा समस्या भइरहेको सम्बद्ध अभियन्ताहरुको गुनासो छ । ‘वडाध्यक्षहरुनै मगन्ता छुटाउन सिफारिश लिएर आउने गरेका छन्,’ पुनः कतै सडक वा मन्दिरमा माग्न नजाने शर्तमा आश्रमबाट लगिएकाहरु फेरिपनि पेशागत रुपमै माग्ने गरेको जानकारी दिंदै अभियन्ता भन्छन्, ‘मगन्ताहरुसँग पनि सिण्डिकेट र सेटिङ गरेर कमाउन पल्किएकाहरु पाइएका छन् ।’
नीलसागरले सञ्चालन गरेको सेवाश्रममा नेपालगन्जमा मात्रै ४२ जना महिला आश्रित छन् । ‘बुधवार उद्दार गरिएका ७ जना मुवालाई यसै आश्रममा राखिएको छ,’ उपाध्यक्ष सुवेदीले भने, ‘४ जना बुवालाई भने कोहलपुर स्थित सेवाश्रममा लगिएको छ ।’ कोहलपुरमा २२ जना पुरुष आश्रित रहेकोमा बुधवार ४ जना थपिएका हुन् । नेपालगन्जमंैं साढे २ वर्षदेखि १४ वर्ष उमेरका १६ बालबालिकालाई नीलसागरले ‘खुशी बालग्राम’ सञ्चालन गरि आश्रय दिइरहेको सुवेदीले जानकारी दिए ।
परोपकारी मनहरुको सहयोगमा निर्भर नीलसागरलाई क्रमशः सरकारी सहयोगका आश्वासनहरु आएपनि पर्याप्त स्रोतसाधनको अभावले बेलाबेलामा समस्या पार्ने गरेको सम्बद्धहरुले पीडा व्यक्त गर्दै आएका छन् ।