स्वास्थ्य शाखाको बार्षिक समीक्षा : व्यवस्थित छैन स्वास्थ्य क्षेत्र !

नेपालगन्ज – मंगलबार नेपालगन्जमा जिल्ला स्तारीय स्वास्थ्य बार्षिक समिक्षा गरिएको छ । बाँकेका ८ वटै स्थानीय तहका स्वास्थ्य शाखाको गत आर्थिक बर्ष २०७५÷७६ मा सम्पन्न गरेका कार्यक्रम तथा सेवा प्रवाहको समिक्षा गरिएको छ ।

स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा भएको बार्षिक समिक्षा गोष्ठीमा आमा सुरक्षा कार्यक्रमको यातायाता सुविधा अनलाइनमा इन्ट्री नभएको, स्थानीय तहहरुले औषधी समयमा खरिद नगरेको साथै स्वास्थ्य संस्थामा समयमा औषधी नपाठाएको, परिवार नियोजनका साधनको अभाव भएको जस्ता समस्या समिक्षा गोष्ठीमा सार्वजनिक भएको स्वास्थ्य कार्यालय बाँकेका तथ्यांक फोकल पर्सन दुर्गा गौतमले बताए ।

फोकल पर्सन गौतमका अनुसार, सबै निजी स्वास्थ्य संस्थाहरुले स्वास्थ्य रिपोर्ट स्थानीय तहको स्वास्थ्य शाखामा नपठाएको जनाएका छन् । बाँकेको नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा मात्रै निजी स्वास्थ्य संस्थाहरु छन् । जसमध्ये नेपालगन्जमा ९४ प्रतिशत र कोहलपुरमा ८० प्रतिशत स्वास्थ्य संस्थाले मात्रै स्वास्थ्य रिपोर्ट स्वास्थ्य शाखामा पठाएका छन् ।

बाँकेका आठवटै स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुखलाई प्रदेश स्वास्थ्य निर्देशनालय प्रदेश ५ का तथ्यांक अधिकृत मान बहादुर ओली र स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिर जंग शाहले स्वास्थ्य नीति बनाएर निजी स्वास्थ्य संस्थालाई कानुनी दयारामा ल्याउन र जवाफदेही बनाउनका लागि सुझाव दिएका छन् भने स्थानीय तहबाट प्रवाह हुने स्वास्थ्य सेवा प्रभावकारी बनाउनका लागि निर्देशन समेत दिएका छन् ।
बाँकेको आठ वटा स्थानीय तह मध्ये कोहलपुर नगरपालिकाले मात्रै स्थानीय स्वास्थ्य नीति पास गरेको छ । बाँकी अरु स्थानीय तहले स्थानीय स्वास्थ्य नीति बनाउने तयारीमा रहेको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत अंगद बहादुर शाहीले बताए ।

स्वास्थ्य समिक्षा गोष्ठीमा नरैनापुर गाउँपालिकाले मात्रै एक करोड बजेट बिनियोजन गरेर खर्च गरेको सार्वजनिक गरेको छ भने बाँकी अन्य ७ वटा स्थानीय तहले गत आर्थिक बर्षको स्वास्थ्य बजेट गोष्ठीमा सार्वजनिक गरेका छैनन् । यस्तै बाँकेको ८ वटा स्थानीय तहमध्ये ५ वटा स्थानीय तह नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तिसोनारी, खजुरा र जानकी गाउँपालिकाले मात्रै पूर्ण खोप स्थानीय तह घोषणा भएको जनाइएको छ । बाँकी स्थानीय तह पूर्ण खोप घोषणा हुने प्रक्रियामा छन् ।

कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालय प्रदेश ५ का तथ्यांक अधिकृत मान बहादुर ओली, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिर जंग शाह, जनस्वास्थ्य अधिकृत अंगद बहादुर शाही, तथ्यांक फोकल पर्सन दुर्गा गौतम, भेरी अस्पतालका मेडिकल रेकर्डर सुपरभाइजर अरुण देव खनाल, जिल्ला समन्वय समितिका सदस्य चेत बहादुर घर्ति, बाँकेका आठ वटै स्थानीय तहका स्वास्थ्य प्रमुख तथा स्वास्थ्यकर्मीहरुको सहभागिता थियो ।

प्रतिक्रिया

प्रतिक्रिया