लागुऔषध नियन्त्रणका लागि प्रहरीसंग सहकार्य

नेपालगन्ज – बाँकेको खजुरा गाउँपालिका वडा नं. २ सीतापुरमा रहेको सचेत युवा मञ्च अराजकता र लागुऔषध विरुद्ध प्रहरीसंग सहकार्य गरेर अगाडि बढ्ने भएको छ । वृहत कार्ययोजना बनाएर प्रहरीसंग सहकार्य गर्दै अगाडि बढ्न खोजिरहेको मञ्चका अध्यक्ष मनप्रकाश रेग्मी बताए । यही अभियान स्वरुप आइतवार मञ्चले राधापुर प्रहरी चौकी र खजुरा गाउँपालिका वडा नं. २ कार्यालयको सहकार्यमा शान्ति सुरक्षा कायम गर्न लागि सरोकारवालसंग वृहत अन्तरक्रिया गरेको छ । सो कार्यक्रमलाई सम्बोधन गर्दै बाँके क्षेत्र नं. ३ का सांसद नन्दलाल रोकायले अराजकता बढेको भन्दै यसलाई नियन्त्रण गर्न नसके व्यवस्थामाथि खतरा हुने बताए ।

उनले समाजमा शान्ति सुरक्षा कायम गर्नका लागि शान्तिको खोजी घरबाटै हुनु पर्ने बताउँदै अभिभावकले आफ्ना छोरा छोरीलाई राम्रो संस्कार दिनु पर्नेमा जोड दिए । नेपाल प्रहरीलाई गलत प्रभावमा नपरी राम्रो काम गरे लोकप्रियता कमाइने भन्दै सांसद रोकायले सत्यतथ्यमा लागे जनता साथ दिन तयार हुने बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले प्रहरी र नागरिकवीचको सहकार्यबाट कुनै पनि अपराध नियन्त्रण गर्न सकिने बताए । उनले लागुऔषध नियन्त्रणका लागि स्थानीय स्तरबाट कसैले हस्तक्षेप नगर्ने प्रतिवद्धता आए १५ दिनभित्र खजुरा क्षेत्रबाट लागुऔषध नियन्त्रण गर्ने दावी गरे ।

खजुरा गाउँपालिका वडा नं. २ का वडाध्यक्ष देविलाल खनालले अराजकता र लागुऔषध नियन्त्रण गरी सभ्य समाज निर्माण गर्ने अठोटका साथ लागेको सचेत युवा मञ्चको साथमा वडा कार्यालय रहेको बताए । कार्यक्रममा खजुरा क्षेत्रका विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक अगुवा, शिक्षक लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया