पर्वमा समातिए जुवाडे

नेपालगन्ज- दशैंका बेला जुवा खेल्नेहरुलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ । जुवातास विरुद्ध निगरानी बढाएको प्रहरीले दशैं अवधीभर पाँच वटा जुवा खालमा छापा मारेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, जुवाका पाँचवटा खालमा प्रहरीले छापामारी ३९ जनालाई रु तीन लाख ९७ हजार १५३ सहित नियन्त्रणमा लिइएको छ ।

गत बिहीवार राती नेपालगन्जको गणेशपुरबाट १७ जना जुवाडे पक्राउ परेका हुन् । उनीहरुबाट नगद १ लाख ८१ हजार ९ सय रुपैयाँ पनि बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै, कोहलपुरमा पनि प्रहरीले जुवाखालमा छापामारी जुवाडे र खालमा भेटिएको रकम नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार, रु ९८ हजार २ सय सहित कोहलपुर नगरपालिका–११ न्यूरोड बस्ने उमेश शाही, सोही ठाउँका केशव क्षेत्री र वडा नं. १३ बस्ने नरबहादुर खत्रीलाई नियन्त्रणमा लिइएको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरले गत शनिबार मात्र कोहलपुरमा जुवा खेल्दै गरेका १९ जना व्यक्तिलाई विभिन्न ठाउँबाट पक्राउ गरेको थियो । कोहलपुर नगरपालिका–५ शान्तिनगरबाट ११ जनालाई रु २६ हजार र शनिबार राति नै बैजानाथ गाँउपालिका–४ तिलकपुरबाट आठ जनालाई रु ९० हजार १५३ सहित नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया