नेपालगन्ज- सामाजिक उत्तरदायित्वको भवना बोकेर नेपालगन्ज दशहरा मेला र राप्ती नदी सिधनिया घाटमा मुर्ति विसर्जन कार्यक्रममा निशुल्क स्वच्छ जल वितरण गरिएको छ । दुबै स्थानमा गरिएको जल वितरण कार्यमा करिब २ हजार बढी आम नागरिकले स्वच्छ पानी पिएका छन ।
नेपालगन्ज सामाजिक स्वास्थ्य सुरक्षा विकास केन्द्र, सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्ज र संयुक्त एम्बुलेस चालक संघ लगायत संस्थाहरुको सहकार्यमा दुबै स्थानमा पानी वितरण गरिएको हो ।
नेपालगन्ज रामलिला मैदानमा लागेको दशहरा मेला हेर्न आएका हजारौ नागरिकले स्वच्छ पानी पिउन पाएपछि खुशी समेत व्यक्त गरेका छन । पानी पिउन आएका बाँके गनापुरका नारायण पाल, डुडुवाका भोला गुप्ता, नरैनापुरका जेष्ठ नागरिक जगदिश प्रसाद तिवारी र नेपालगन्जका विरु गुप्ताले निशुल्क रुपमा पानी पिएपछि सामाजिक कामको प्रशंसा गर्दै विभिन्न सार्वजनिक स्थलमा यस्तो कार्यका लागि सबै जना एकजुट भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।
मंगलबार दशैका दिन रामलिला मैदानमा लागेको दशहरा मेला र बुधबार राप्ती नदी सिधनिया घाटमा दुर्गा मुर्ति विसर्जनका क्रममा लागेको मेलामा पानी वितरण गरिएको थियो । नेपालको संबिधानमा मौलिक हक र कर्तव्यमा नागरिकले स्वच्छ र स्वस्थ पानी खान पाउने भन्ने कुराको व्यवस्था गरेकाले सोहीको कुराबाट उत्प्रेरित भई नागरिक कर्तव्य सम्झेर र सामाजिक उत्तरदायित्वका लागि स्वच्छ निशुल्क खानेपानीको व्यवस्था गरिएको केन्द्रका अध्यक्ष विश्वजीत तिवारीले बताउनु भयो ।
पानी वितरण संगै मेला स्थलमा हुने आकस्मिक दुर्घटनाका लागि तयारी अवस्थामा ४ वटा एम्बुलेन्सको समेत व्यवस्था गरिएको संयुक्त एम्बुलेन्स चालक संघ बाँकेका सदस्य धर्मबीर कहारले बताउनुभयो ।