पर्यटन पूर्वाधारमा जनप्रतिनिधिको प्रतिबद्धता
नेपालगन्ज- होटल व्यवसायी संघ बाँके, नेपालगन्जले मंगलवार दशैं पर्वको शुभकामना आदानप्रदान गरेको छ । जनप्रीतनिधिहरुलाई पर्यटकीय विकासका सम्भावनामा छलफलका उद्देश्यले संघले अन्तक्र्रियात्मक कार्यक्रम गरेको हो ।
प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज, प्रदेश सभा सदस्य आइपी खरेल, बाबुराम गौतम, कृष्णा केसी लगायतको सहभागितामा होटल तथा पर्यटन व्यवसायीहरुले कार्यक्रम गरेका हुन् । ‘नेपालगन्जको पर्यटकीय सम्भावनामा संयुक्त प्रयासका लागि कार्यक्रम गरिएको हो,’ संघका प्रवक्ता डिलाराम पौडेलले दैनिक नेपालगन्जसँग भने ।
कार्यक्रमका प्रमुख अतिथि प्रीतनिधिसभा सदस्य महेश्वर गहतराजले निरास भइहाल्ने अवस्था नभएको बताए । नेपालगन्ज बिमानस्थललाई सकेसम्म अन्तर्राष्ट्रियस्तरको नसकिए क्षेत्रीय बिमानस्थलका रुपमा स्तोरन्नती गर्न सरकारलाई गम्भीररुपमा ध्यानार्कषण गराएको जानकारी गराए । बाँकेलाई पर्यापर्यटन, धार्मिक पर्यटनका रुपमा विकास गर्ने प्रशस्त आधार रहेको सांसद गहतराजको भनाइ छ ।
प्रशासनिक हिसाबले बाँके अलि कमजोर देखिएता पनि व्यापारिक हिसाबले कमजोर नरहेको भन्दै सांसद गहतराजले धार्मिक पर्यटन, कृषि पर्यटन र औद्योगिक क्षेत्रको बिकास अगाडी बढिरहेको बताए । नेपालगन्जको बागेश्वरी मन्दिर, कम्दीको कमरसा बाबा धाम, नरैनापुरको बर्फानी बाबाको धाम, बैजापुरको भुँवर भवानी मन्दिर, कोहलपुरको बिश्वबिराटेश्वर मन्दिर,बाँके राष्ट्रिय निकुञ्ज, बैजनाथको मानसरोवर स्मारक पार्क, खजुराको बाबास्थान धाम लगायतका धार्मिक स्थलहरुको ब्यवस्थापन गरि धार्मिक पर्यटनको सर्किटको रुपमा बिकास गर्न आफु लागि परेको सांसद गहतराजले जानकारी दिए ।
प्रदेश सभा सदस्य आइपी खरेलले होटल व्यवसायीहरुले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले यातयात र होटल क्षेत्रमा देखिएका बिकृतिहरु अन्त्य गर्न तर्फ लाग्न सुझाव दिंदै बसका चालक सहचालकहरुले यात्रुलाई हात समातेर तानातान गर्ने काम रोक्न आग्रह गरे । अर्का प्रदेश सभा सदस्य कृष्णा केसीले होटल तथा पर्यटन व्यवसायको विकास र विस्तारमा आफ्नो सहयोग रहने प्रतिबद्धता जनाइन् ।
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार खड्का, प्रहरी प्रमुख वीर बहादुर ओली, होटल व्यवसायी महासंघका प्रदेश अध्यक्ष भाष्कर काफ्ले लगायतले बोलेका थिए ।